तीनमहिने डिनका भरमा त्रिवि

काठमाडौं, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयको नीति निर्माणको तहमा मुख्य भूमिका निर्वाह गर्ने डिन पद निमित्तका भरमा सञ्चालन भइरहेको छ । विश्वविद्यालयमा डिन नियुक्तिमा समझदारी जुट्न नसक्दा प्रायः सबैजसो संकाय तथा अध्ययन संस्थानमा यतिखेर निमित्तले डिनको जिम्मेवारी पाएका छन् । संक्रमणकालीन अवस्थामा तीन महिनाका लागि उपकुलपतिले निमित्त डिनको जिम्मेवारी दिन सक्ने भए पनि हालसमेत सो व्यवस्थाले प्रश्रय पाइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 
त्रिविको वन विज्ञान अध्ययन संस्थानमा प्रा. डा. देविराज अधिकारीलाई तीनमहिने डिनको जिम्मेवारी दिइएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत प्रा. डा. रामप्रसाद खतिवडाको तीनमहिने डिनको कार्यकाल सकिएको छ तर नयाँ निर्णय गरिएको छैन । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा प्रा. डा. श्यामशङ्कर झालाई विश्वविद्यालयले तीन महिनाको जिम्मेवारी दिएको थियो तर हाल उनको उक्त जिम्मेवारी सकिएको छ । मंसिर १ गतेदेखि फेरि झालाई निमित्तको जिम्मेवारी दिइएको छ ।
 
अध्ययन संस्थानमध्ये चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा. डा. केपी सिंह डिनको जिम्मेवारीमा छन् । डिनको कार्यकाल चार वर्षको हुनुपर्ने भए पनि सिंहको नियुक्तिमा कार्यकाल तोकिएको छैन । सिंह छिट्टै नै विश्वविद्यालयको सेवाबाट अवकाश पाउनुहुने भएकाले कार्यकाल नतोकिएको जानकारी विश्वविद्यालयले दिएको छ । 

Related News