​पाइलट बन्न छाडेर फेसन डिजाइनर बनेकी हुँ : तृष्णा

दृष्टि न्यूज

आमा–बाबुको कुरा सुनेको भए तृष्णा गुरुङ यतिखेर आकाशमा चिलजस्तै उडिरहेकी हुन्थिन् अर्थात् कुनै विमानको क्याप्टेन हुन्थिन् । तर, आफ्नै रहरले गर्दा उनी अहिले नेपाली फेसन दुनियाँमा चम्किएकी छन् । ‘परिवारले मलाई पाइलट बनाउन खोजेका थिए’ तृष्णाले भनिन्, ‘तर मेरो रुचि फेसन डिजाइनिङमा थियो । त्यसैले आज यहाँ छ । नौ वर्षयता काठमाडौंको लाजिम्पाटमा ‘मृगतृष्णा फेसन हाउस’ सञ्चालन गर्दै आएकी तृष्णा पछिल्लो समय आमनेपालीलाई ‘फेसन कन्सस’ देख्छिन् । र, भन्छिन्, ‘केही वर्षयता नेपालमा फेसन बजार मौलाउँदै गएको छ ।’ आफूसमेत ‘फेसन कन्सस’ भएको बताउँने फेसन डिजाइनर तृष्णा गुरुङसँग एमपी सुब्बाले गरेको कुराकानी ।

***
तपाइँको फेसनको व्यापार कस्तो चल्दैछ ?
– एकदमै राम्रो छ । सुरुमा चाहिँ खाशै राम्रो थिएन । तर, पछिल्लो वर्षहरुमा सोचेभन्दा राम्रो हुँदै गएको छ ।
त्यसोभए नेपालीहरु फेसनेवल बन्दै गए होइन त ?
– हो हजुर, जतिखेर मैले बुटिकको सुरुवात गरेकी थिएँ, त्यो बेला नेपालीहरु खाशै फेसन कन्सस थिएन । तर, बढ्दो आमसञ्चारले गर्दा पनि दिनदिनै नयाँ–नयाँ फेसनबारे बुझ्ने र भित्रिने क्रम बढ्दो छ । जसले हामीजस्ता फेसन डिजाइनरहरुलाई फाइदा भएको छ ।
यो क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ?
– फेसनकै क्षेत्रमै लागेको त एक दशकभन्दा बढी भयो होला । नौ वर्षदेखि त बुटिक नै चलाउँदै आएकी छु ।
कसरी फेसनको दुनियाँमा होमिनुभयो नि ?
– स्कुल पढ्दैदेखि मलाई फेसन डिजाइनर बन्ने रहर जागेको थियो । बाबु–आमाले त मलाई पाइलट बनाउन खोजेका थिए । तर, पाइलटभन्दा मलाई डिजाइनर बन्नु नै ठीक लाग्यो । त्यसैले आइसिईमा फेसन डिजाइनिङ कोर्ष गरेर यस क्षेत्रमा लागेकी हुँ ।  
पाइलट बन्न नपाएकामा अहिले पछुतो लागेको छ कि छैन ?
– अँह, छैन । मेरो रुचिको विषय फेसन डिजाइनिङ क्षेत्र हो । मैले यसै क्षेत्रबाट नाम, दाम र खुसी पाएकी छु ।
फेसन डिजाइनरले आफ्नो क्रियशन बेच्छ । तपाइँको ‘मृगतृष्णा फेसन हाउस’ विशेष क्रियशन के हो ?
– त्यस्तो विशेषभन्दा पनि सेलिब्रेटीका म लागि पहिरन तयार गर्छु । सारी, लेहेँगा त भयो नै, त्यसबाहेक फेसन शोका लागि गाउन, इभिनिङ वेयरलगायत क्याुजअल पनि तयार गर्छु । 
बुटिकहरुको आफ्ना ग्राहक लक्षित वर्ग हुन्छ भनिन्छ नि ?
– सिमित रुपमा लक्षित वर्ग भएपनि फेसन आममानिसका लागि हो । मेरो पनि ग्राहक नेपालमा भन्दा विदेशमै बढी छन् । जो नेपाली नै हुन् । तर, म सबैका लागि फेसन क्रियशन गर्छु ।
तपाइँले आफ्ना क्रियटिभ पहिरनमा कति वटा फेसन शो गर्नुभयो त ?
– साना ठूला गरी अहिलेसम्म दुई दर्जनभन्दा फेसन शोहरु गरिसकेकी छु । जति पनि मैले शोहरु गरेँ, सबैले रुचाएका छन् । 
तपाइँको बुझाइमा के हो फेसन ?
– फेसन भनेको पहिरन मात्र नभएर ‘गु्रप फलो’ पनि हो अर्थात टे«ण्ड । जहाँ जुन बढी परिहन लगाइन्छ, त्यही नै फेसन हो । तर, त्यो सबैको आँखामा पर्नुपर्छ ।
तपाइँ आफूलाई कतिको फेसन कन्सस ठान्नुहुन्छ ?
– यो कुरा त आफैँले भन्दा अरुले भन्ने कुरा हो । तैपनि आफूले भन्नुपर्दा म फेसन कन्सस नै छु ।
उमेरमै धेरै प्रगति गर्नु भएछ । अब घरजम पनि गर्ने होला नि ?
– खै, त्यतातिर त सोचेकै पो छैन । काममा बढी व्यस्त भएर पनि होला । अब विस्तारै सोच्नुपर्ला नि ।
फेसनलाई फलो गर्ने व्यक्ति हुनुहुन्छ, पक्कै अफेयर्स पनि त होला ?
– छैन । अहिलेसम्म सिंगल छु । अफेयर्स गरियो भने समय दिनै भ्याइँदैन । समय नभएपछि यस्तै हुँदोरहेछ ।**



  

Related News