त्रिशूलीमा बस खस्दा २२ को मृत्यु (अपडेट)

​चितवन, १० भदौ । त्रिशूलीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । 

..........
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चन्डिभञ्ज्याङ गाविसको कालिखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । 

सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नम्बरको सो बसमा गौरबाट ३० र चन्द्रनिगाहपुरबाट सात यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए । अन्य दुई जना नदीमा हराइरहेको आशंका गरिएको छ । उनीहरुको खोजी कार्य जारी छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । 
मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताए । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताए । बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिए । 
बिहान ४ः४५ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ । 
केही घाइतेलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ भने केहीलाई ल्याइँदै छ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एक सय मिटर तल बस त्रिशूली नदीमा खसेको हो । रासस 
...........
चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस शुक्रबार बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा १९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ भने ६ जनाको उद्धार हुने क्रम जारी छ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो । रासस

Photo source : setopati

Related News