बुद्धका विपत्ति

अभय श्रेष्ठ । बुद्धको जीवनमा कैयन् यस्ता विपत्ति र विडम्बना थिए जुन सुन्दा मात्र पनि कहालीलाग्दो भिरको छेउमा उभिएझैँ लाग्छ । हरेक घटनाप्रतिको दृष्टि चित्तले निर्धारण गर्छ । उनी सानैदेखि उदात्त चित्तका थिए र उनले कहिल्यै यी दु:खहरूलाई दु:ख मानेनन् । शान्ति र सद्भावको पक्षमा बोल्दा २९ वर्षको उमेरमा उनले देश छाड्नुपरेको थियो । भारतीय दलित विद्वान् तथा संविधान निर्माता बीआर अम्बेडकरको किताब ‘बुद्ध एन्ड हिज धम्म’ ले यससम्बन्धी उद्घाटन गरेको नयाँ तथ्य स्तब्ध पार्ने खालको छ । रोहिणी नदीको विवादमा अल्पमतमा परेपछि आत्मदण्डस्वरूप उनले देश छाडेका थिए । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? आचार्य धर्मानन्द कौसम्बीले पहिलोपल्ट यस्तो प्रश्न उठाएका थिए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकर पनि सोही निष्कर्षमा पुगे । पछि अन्य राजनीतिक इतिहासकारहरूले पनि यसलाई पुष्टि गरे । छिमेकी कोलिय राज्यसँग रोहिणी नदीको पानी प्रयोग गर्ने मामलामा विवाद भएपछि शाक्य संघले लडाइँको घोषणा गरे । सिद्धार्थले यसको विरोध गरे । उनको शान्तिवार्ता प्रस्ताव बहुमतद्वारा अस्वीकृत भयो । बीस वर्ष पुगेका सबै युवाले युद्धमा भाग लिनुपर्ने भयो । सिद्धार्थले आफू युद्धमा सामेल नहुने घोषणा गरे । बहुमतको निर्णय नमान्दा संघले उनको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्थ्यो वा परिवारको जमिन जफत गर्न सक्थ्यो । अथवा उनलाई मृत्युदण्ड दिन वा देशनिकाला गर्नसक्थ्यो । सिद्धार्थले आग्रह गरे, ‘कृपया, मेरो गल्तीको सजाय परिवारलाई नदिनुस् । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, म खुसीसाथ स्विकार्छु ।’ त्यतिखेर भर्खर उनको छोरा राहुलको जन्म भएको थियो । मातापिता वृद्ध भइसकेका थिए । यस्तो स्थितिमा पनि परिवार र पूरै देशवासीलाई शोकमग्न बनाएर उनी देश छाड्न तयार भए । केबल शान्ति र सद्भावका लागि । एउटा राजकुमारका लागि यो कम्ती दु:खको कुरा थिएन । तर, उनको आफ्नै रोजाइ अर्थात् सत्याग्रह थियो । अन्तत: उनकै चाहनाअनुसार दुई देशबीच समझदारी भई शान्ति कायम भयो । उनी नौ वर्षका राजकुमार हुँदा एक दिन बगैँचामा एउटा चरा खस्यो । त्यसलाई वाण लागेको थियो । उनले त्यसको घाउमा औषधि लगाइदिए । उनकै काकाको छोरा देवदत्त झम्टन आइपुग्यो । त्यसलाई वाण हान्ने उही थियो । उनीहरुबीचको विवाद दरबारसम्मै पुग्यो । दुवैले मन्त्रीगणसँग आ–आफ्ना तर्क राखे । ठूलै विचार–विमर्श भयो । बहुमत देवदत्तको पक्षमा ढल्किरहेको थियो । सिद्धार्थका पिताजी राजा शुद्धोदनले खोकेर केही संकेत गरे । बल्ल मन्त्रीहरूले उनको पक्षमा निर्णय गरे । चरा उनलाई दिइयो । तर, उनी खुसी हुन सकेनन् किनभने त्यो सम्मानजनक जित थिएन । मन्त्रीगणले राजालाई खुसी पार्नमात्र सिद्धार्थलाई जिताइदिएका थिए । त्यसमा उनले चराको भाग्य सम्झेर अपमानजनक स्थितिमा पनि खुसी हुन सिके । नत्र देवदत्तले त्यसलाई पकाएर खाइसकेको हुने थियो । सम्बोधी प्राप्त गरेर देश देशावरमा प्रसिद्ध भइसकेपछि उनीमाथि एउटा गम्भीर आरोप लाग्यो । चिञ्चा नामकी एक ब्राह्मण युवतीले आफूलाई बुद्धले गर्भवती बनाइदिएको आरोप लगाई । ऊ प्रत्येक दिन सुन्दर सारी लगाएर, पुष्पगुच्छा लिएर जेतवन जान्थी । ऊ प्रवचनका क्रममा आउँदिनथी । तर, धर्मकक्षको बाहिर उभिइरहेकी हुन्थी जब श्रोता बाहिर निस्किरहेका हुन्थे । अरुले सोध्दा जबाफ नदिई ऊ केबल मुस्कुराउँथी । केही दिन अस्पष्ट जबाफ दिएपछि एक दिन उसले भनी, ‘म भिक्षु बुद्धकहाँ जान्छु ।’ अर्को दिन उसले भनी, ‘जेतवनमा सुत्नु बडा आनन्ददायक छ ।’ एक दिन देशना गरिरहेका बुद्धलाई उसले एक्कासि बीचमै रोकेर भनी, ‘तपाईँ सद्धर्मको लम्बेतान व्याख्या गर्न खप्पीस हुनुहुन्छ । तपाईँको सम्मान पनि खुबै भइरहेको छ । परन्तु, यस अवलाको कुनै ख्याल गर्नु हुँदैन जसलाई यहाँले नै गर्भवती बनाउनुभएको छ । मेरो गर्भमा तपाईँको बच्चा हुर्किरहेको छ । तपाईँ यसको उत्तरदायित्व किन लिनु हुँदैन ?’ पूरै संघ स्तब्ध भयो । सबै जना बुद्धको मुख ताक्न थाले । बुद्धले शान्त भावको मुस्कानसहित भने, ‘कुमारी चिञ्चा, तपाईँले बोलेको कुरा कति सत्य हो भन्ने तपाईँ र मलाई मात्र थाहा छ ।’ बुद्धको शान्त मुस्कान देखेर युवतीको मनोबल डगमगायो । भिक्षुहरु आश्चर्यचकित भएर उसलाई हेर्न थाले । कतिपय क्रुद्ध भएर उभिए । चिञ्चा भयभीत हुँदै बाहिर निस्कँदा एउटा खम्बामा ठोकिई । पेटमा बाँधिएको काठको गोलाकार खसेर खुट्टामा लाग्यो । घाइते औँला थिचेर ऊ रुन थाली । उसको पेट अब एकदमै सपाट थियो । सबै जना उसलाई हेरेर हाँस्न थाले । केही ब्राह्मणको आग्रहमा ब्राह्मण धर्म रक्षाका लागि उसले यो खेल खेलेकी थिई । बुद्धका ठाउँमा कोही सर्वसाधारण भइदिएको भए उसको के हालत हुन्थ्यो होला ? एकपल्ट गोशिरा बिहारमा सूत्राचार्य र शीलाचार्यबीच ठूलो विवाद भयो । बुद्धको देशना कण्ठस्थ पार्ने भिक्षुको समुदायलाई सूत्राचार्य भनिन्थ्यो भने श्रामणेर तथा भिक्षुका लागि निर्धारित पञ्चशील तथा दसशीलका विशेषज्ञलाई शीलाचार्य भनिन्थ्यो । सानो घटनाबाट उत्पन्न यस विवादले संघभित्र तीव्र मतभेदको स्थिति निम्तियो । एक सूत्राचार्यले कर–प्रक्षालन पात्र सफा गर्न बिर्सिए जसमाथि एक शीलाचार्यले आपत्ति प्रकट गरे । सूत्राचार्य आफूले जानीबुझी यस्तो नगरेकोले कुनै दोष स्विकार्न तयार थिएनन् । प्रत्येक भिक्षुले आ–आफ्ना अध्यापकको पक्ष लिन थाले । एउटा पक्ष अर्कोलाई आफूमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाउँथे भने अर्को पक्ष आफ्ना विरोधीलाई मूर्खतापूर्ण आचरण गरेको भनी उपहास गर्थे । दुवै पक्ष एक अर्काको गर्नुसम्म निन्दा गर्थे । विवादको खबर अन्य धार्मिक समुदायसम्मै पुग्यो । यसले घटनाले संघमा विभाजन आउन सक्थ्यो । बुद्धले दुवै पक्षलाई भेटे । दुवै आ–आफ्ना जिद्दीमा अडिग थिए । निष्पक्ष भिक्षु, उपासक र शुभेच्छुकको आग्रहमा बुद्धले दुवै पक्षको एउटा भेला बोलाए र विवाद अन्त्य गर्न आग्रह गरे । यस्तैमा एउटा भिक्षुले आवेशमा भन्यो, ‘गुरुदेव, कृपया तपाईँ हाम्रो विवादको बीचमा नआउनुस् । यो विवाद मिलाउन हामी आफैँ सक्षम छौँ ।’ भिक्षुको यो भनाइ अपमानजनक थियो । बुद्धले यसलाई अपमानजनक ठानेनन् । उनी भिक्षाटनका लागि कौशाम्बीतिर लागे । 

Related News