खुला बजारलाई ट्रम्पको धक्का


काठमाडौं, १३ माघ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्रा्ष्ट्रिय व्यापारसम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठूलो धक्का दिएको छ । धेरैले अनुमान गरेविपरीत निर्वा्चित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरूप नै ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी) नाम गरिएको व्यापार सम्झौताबाट अमेरिका हट्ने निर्णय लिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

त्यति मात्र होइन, अब उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र, चीन, जापान र मेक्सिकोसँगको व्यापारमा उनको विशेष चासो देखिन्छ । उनको चासोले सन् १९४८ देखि थालिएको स्वतन्त्र र खुला व्यापार प्रणालीमा ठूलै उथलपुथल ल्याउने संकेत मिलेको छ । ‘व्यापार, कर, आप्रवास र वैदेशिक नीतिसम्बन्धी सबै निर्णय अमेरिकी कामदार र उद्योगलाई हेरेर गरिनेछ,’ ट्रम्पले शपथ समारोहमै भनेका थिए । स्वतन्त्र व्यापारका नाममा अमेरिकी रोजगारी गुमिरहेकोमा ट्रम्पको विशेष चिन्ता देखिन्छ । 

उनका अनुसार टीपीपीमा समावेश भएका अन्य ११ देशका कारण २० लाख अमेरिकीले रोजगारी गुमाएका छन् । उनको दाबीअनुसार सबैभन्दा बढी ७ लाख ४० हजार मोटर उद्योगमा काम गर्नेहरूको गुमेको छ । उनले जापान र मेक्सिकोका कारण यो क्षति भएको घुमाउरो पारामा आफ्नो वेबसाइटमा उल्लेख गरेका छन् । त्यही भएर उनले मेक्सिकोमा बनाउन लागेको टोयोटाको कारखानालाई लक्षित गर्दै त्यहाँको उत्पादन नलिने भनिसकेका छन् । ६ वर्षपछि व्यापार नाफामा गएको जापानका लागि यो ठूलो धक्का हो । 

टीपीपीमा जापानसँगै प्रशान्त महासागरको एसियातर्फका भियतनाम, मलेसिया, ब्रुनाई, सिंगापुर, अस्ट्रेलिया र न्युजिल्यान्ड छन् । यसैगरी दक्षिण अमेरिकातर्फका चिली र पेरुलाई पनि समेटिएको छ । उत्तर अमेरिकी स्वतन्त्र व्यापार क्षेत्र (नाफ्टा) का तीन सदस्य राष्ट्र क्यानडा, अमेरिका र मेक्सिको पनि निवर्तमान राष्ट्रपति बाराक ओबामाले परिकल्पना गरेको टीपीपीमा छन् । अब अमेरिका त्यसबाट बाहिरिएको छ । अस्ट्रेलियाले अमेरिकाबाहेक पनि टीपीपीलाई अघि बढाउन सकिएला कि भनेर प्रयास गर्दैछ । टीपीपीमा नरहेको चीन अब यी मुलुकमा अवसर खोज्न सक्ने अनुमान विज्ञहरूको छ । तर अन्य सदस्य मुलुकका लागि चीनमा बजार खोज्नु त्यति सहज हुने छैन । 

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले प्रायस् सबै थोक बनाउँछ । त्यो पनि सस्तोमा । त्यसले त्यहाँ बजार लिनु अरूका लागि फलामको च्युरा चपाउनुसरह नै हुनेछ । अमेरिकालाई पनि चीनमा प्रवेश सहज नभएकाले ट्रम्पले चीनप्रति पनि अनुदार हुने संकेत दिइसकेका छन् । 

उनको वेबसाइटमा चीनले अमेरिकाको नक्कल गरी उत्पादन गरेका कारण अमेरिकामा रोजगारी गुमिरहेको उल्लेख छ । चिनियाँ सामानमा ४५ प्रतिशतसम्म भन्सार महसुल बढाउने सम्भावना रहेको समाचार अमेरिकी सञ्चार माध्यममा आएका छन् । ‘कमिसन अफ द थेफ्ट अफ द अमेरिकन इन्टिलेक्चुअल प्रोपर्टी’ भन्ने संस्थाको हवाला दिँदै चिनियाँको बौद्धिक चोरी रोक्न सके अमेरिकामै २० लाख रोजगारी सिर्जना गर्न सकिने उल्लेख छ । 

Related News