​ट्रम्प र किम पछ्याउँदै सिंगापुरमा विश्वका सयौं पत्रकार

किमद्वारा सिंगापुरको प्रशंसा

दृष्टि न्यूज

सिंगापुर, २८ जेठ (एजेन्सी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित शिखर वार्ता मंगलबार हुँदैछ । त्यसका लागि उनीहरु दुवै जना आइतबार नै सिंगापुर पुगिसकेका छन् । 
ट्रम्प र किमको वार्तालाई विश्वले चासो दिइरहेको छ । केही दिनयता उनीहरु विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बन्दै आएका छन् । जब वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुरतर्फ लागे, त्यसपछि विश्वका मिडियाले उनको समाचारलाई बडो प्राथमिकता दिएका थिए । 
यतिखेर सिंगापुरमा विश्वका कैयौँ सञ्चारमाध्यम पुगेका छन् । ती सञ्चारले उनी कहाँ बसेका छन् भन्नेदेखि सिंगापुरका राष्ट्रपतिसँग भेटवार्तासम्मलाई आफ्ना क्यामेरामा कैँद गर्न व्यस्त छन् ।
वार्ताका अर्का प्रमुख पात्रका रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि पत्रकारहरुले फलो गरिहेका छन् । उनी पनि आइतबार नै सिंगापुर पुगेका हुन् । ट्रम्प र किमबीच भेटमा उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय बढी केन्द्रित हुने सहजै अनुमान लगाउन सकिन्छ, यद्यपि दुवै तर्फबाट वार्ताको एजेण्डा भने आएको छैन । 
अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकको प्रयास’ भनेका छन् । पहिलो प्रयासले धेरै कुरा देखाउने उनको पहिल्यै देखिको भनाइ रहँदै आएको छ । 
कोरियाली प्रायद्वीपमा हाल युद्धविराम छ । लामो समयदेखि घोषणा गरिएको यो युद्धविरामलाई दिगो रुपमै शान्तिमा परिणत गर्ने प्रयत्न अमेरिकाको हुने पनि उनको भनाइ छ । 
कोरियाली नेता किम एअर चाइनाको उडानमार्फत सिंगापुर उत्रिएको थिए । सिंगापुर सहरभरिको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । तर, फोटो पत्रकारहरुले भने उनका हरेक क्रियाकलापलाई पछ्याएका थिए । उनले त्यहाँ पुगेपछि सिंगापुरको प्रसंशा गरे । यदि सम्मेलन सफल भयो भने दुई नेतालाई भेट गराउने सिंगापुरको प्रयास ठूलो र ऐतिहासिक बन्नेछ किमले भनाइ छ । 
अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी औद्योगिक राष्ट्रहरूको समूह जी–७ को बैठकमा सहभागी भएर उत्तैबाट सिंगपुर आएका हुन् । उनलाई स्वागत गर्न सिंगपुर वरिष्ठ अधिकारीहरु विमानस्थल पुगेका थिए । सिंगापुर अवतरणपछि संक्षिप्त कुराकानीमा ट्रम्पले सम्मेलनले कोरियाली प्रायद्धीप र सिंगो संसारलाई नै सकारात्मक सन्देश दिएको बताए । 
दुई नेतालाई फरक–फरक होटलमा राखिएको छ भने उनीहरुको बसाई वरिपरिको सुरक्षा नगरको अरु क्षेत्रको भन्दा थप कडा पारिएको बताइएको छ । 


Related News