​आतंकवादीसँग मिलेमतो आरोपमा टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

दृष्टि न्यूज

टर्की, (एएफपी) । टर्कीको सरकारले एकैसाथ करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको छ । समाचारमा जनाइएअनुसार सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो । 
बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ । जसमा प्रहरीमा अधिकृतिस्तरका कर्मचारी धेरै रहेका छन् । आतंककारी समूह या संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो । 
बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि रहेका छन् । ती सैनिकमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
यसरी बर्खास्त गरिएकामा १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत छन् । विश्वविद्यालय र विद्यालयका दुईसय जना प्राध्यापक र शिक्षक पनि सो सरकारी आदेश अनुसार बर्खास्त हुनेमा परेका बताइएको छ । सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दाेगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो । 
त्यसपछि राष्ट्रपति एर्दाेगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खाःत गर्ने तथा अरु विविध खालको कारबाही गरेका थिए । त्यस समयदेखि आजसम्म अर्थात २ वर्षसम्म यहाँ संकटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ । 
राष्ट्रपति एर्दाेगानले आफ्नाविरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरुलाई सक्ने अभियान नै चलाएको भन्दै उनको कदमको व्यापक मात्रामा विरोध भएको छ ।

Related News