​प्रदेश हाँक्दै एमालेका केन्द्रीय नेता

काठमाडौंं, १ फागुन । संघीय गणतन्त्र नेपालको इतिहासमा पहिलो मुख्यमन्त्रीको रुपमा एमालेभित्र स्थानीय विकास सम्बन्धमा राम्रो ज्ञान भएका नेता डोरमणि पौडेल प्रदेश नं ३ को मुख्यमन्त्री बनेका छन् । प्रदेश नं ३ को राजधानी हेटौडामा रहेर उनले मुख्यमन्त्रीको भूमिका निर्वाह गर्ने भएका छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर भएर हेटौंडामा विकासको सुरुवात गरेका पौडेलबाट अब प्रदेश नं. ३ हाँक्ने जिम्मेवारी थपिएको छ ।
त्यसो त पौडेल एमालेका सबैभन्दा न्यून प्रोफाइलका मुख्यमन्त्री हुन् । सोमबार नै प्रदेश नं ४ बाट मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङ केन्द्रीय सविच तथा संगठन विभाग प्रमुख हुन् । गुरुङ केन्द्रीय नेता भएर पनि प्रदेश नं ४ को जिम्मेवारी सम्हाल्ने भएका छन् । सोमबार नै प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङ राजधानी पोखरामा बसेर गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाको मुख्यमन्त्रीको रुपमा काम गर्नेछन् ।
त्यस्तै प्रदेश नं १ बाट मुख्यमन्त्री बन्ने पक्कापक्की भएका शेरधन राई एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य हुन् । त्यति मात्रै नभई प्रदेश नं ५ बाट मुख्यमन्त्री बन्ने निश्चित भएका शंकर पोखरेल एमालेका बौद्धिक नेता हुन् । एमाले स्थायी समिति सदस्य पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । पोखरेलले प्रदेश नं. ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्ने सोच बनाएका छन् ।
केन्द्रीय नेताहरु नै प्रदेशको जिम्मेवारी सम्हाल्न अग्रसर भएपछि प्रदेशमा समेत राजनीतिक सरगर्मी बढ्ने विश्वास गरिएको छ । 
वाम गठबन्धन अन्तर्गत कूल ७ प्रदेश मध्येमा छ वटा प्रदेशमा एमाले–माओवादीबीच आपसी समझदारीमा चार र दुई वटा प्रदेशको नेतृत्व गर्न लागिएको हो । प्रदेश नं ६ र ७ भने माओवादीबाट मुख्यमन्त्री चयन हुनेछन् । प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति सम्मानजनक मात्रै भएकोले वाम गठबन्धन प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने भएको छ । 

Related News