तराई–मधेस केन्द्रित हुँदै एमाले

झापाको दमकमा निर्मित आकाशे पुलको उद्घाटन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौं, २७ पुस । प्रमुख प्रतिपक्षी एमालेले संविधान कार्यान्वयनका लागि दबाब र चुनावी तयारीलाई ध्यान दिँदै छुट्टै ‘तराई–मधेस विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । अध्यक्ष केपी ओलीले २२ गते राजधानीको सभामा गरेको घोषणाअनुसार पार्टीको सचिवालयले अभियानसम्बन्धी कार्यक्रम तयार गर्न थालेको हो । फागुनमा सुरु हुने अभियानको विस्तृत कार्यक्रम माघ पहिलो साता तयार गरिसक्ने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीले गत कात्तिकदेखि माघसम्म देशव्यापी अभियान चलाइरहेको छ । त्यो सकिनेबित्तिकै तराई–मधेससम्बन्धी छुट्टै विशेष अभियान चलाउन लागिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

तराई केन्द्रित पार्टीका नेताहरूले ‘एमालेलाई मधेसबाट ब्यान्डबाजा बजाएर लखेटछौं’ भन्ने अभिव्यक्ति केही दिनअघि दिएपछि एमाले उनीहरूसँग चिढिएको छ । उनीहरूभन्दा अझै पनि आफैं बलियो छु भन्ने देखाउने र चुनावमा त्यसअनुसारको परिणामसमेत ल्याउने गरी एमालेले तयारी थालेको छ । एमाले नेताहरू अहिले पनि विशेषगरी तराई केन्द्रित जिल्लामा धेरै कार्यक्रम गरिरहेका छन् । केन्द्रीय नेताहरू नै ती कार्यक्रममा जाने गरेका छन् । सोमबार मात्र प्रदेश नम्बर १ सुनसरीको मधेसी बहुल क्षेत्र हरिनगरमा नेता माधवकुमार नेपालसहितको उपस्थितिमा एमालेले आमसभा गर्‍यो । मोरङको विराटनगरमा जिल्ला अधिवेशनको अवसरमा अध्यक्ष केपी ओलीको उपस्थितिमा सोमबार नै एमालेले सभा गरेको थियो ।

बुधबार प्रदेश नम्बर ५ का तराई केन्द्रित र पहाडी जिल्लाहरूमा समेत विशेष सभा एमालेले गर्दैछ । त्यसमा केन्द्रीय नेताहरू सम्बोधन गर्न जाँदै छन् । नवलपरासी, बुटवल, कपिलवस्तु, बाँके, बर्दिया, दाङलगायत सबै जिल्लामा एकसाथ सभा हुने एमालेले जनाएको छ । प्रदेश नम्बर ५ लाई विभाजन गर्ने गरी संविधान संशोधन विधेयक आएकाले त्यसमाथि केन्द्रित गरेर बुधबारका सभा हुन लागेका हुन् । 

प्रदेश नम्बर २ मा भने एमालेका पदाधिकारी, पोलिटब्युरो, केन्द्रीय कमिटीका सबै सदस्य, भ्रातृ संगठन लगायतले निरन्तर सार्वजनिक र गोप्य रूपमा भेला गरिरहेका छन् । पुस पहिलो साता प्रदेश २ को अगुवा कार्यकर्ताहरूको सिरहाको लहानमा एमालेले विशेष भेला गरेको थियो । नेताहरू झलनाथ खनाल, माधव नेपाल त्यस भेलामा पुगेका थिए । भेलाले संगठनका कार्यक्रमहरूलाई तीव्रता दिन निर्देशन दिएको थियो । निर्देशनअनुसार प्रदेश, जिल्ला कमिटीले आन्तरिक भेला गरिरहेको छ । भ्रातृ संगठन युवासंघले पनि ती क्षेत्रमा छुट्टै कार्यक्रम गरिरहेको छ ।

Related News