​एमालेविरुद्ध ‘ग्राइन्ड डिजाइन’

राजनीतिक विकृतिविरुद्ध नयाँ ढंगले सोच्छुपर्छ

रवीन्द्र श्रेष्ठ । अहिले चुनाव आइरहेको वेला यो नयाँ राजनैतिक क्रान्तिको विषय कहाँबाट आयो भन्ने प्रश्न उठ्न सक्छ । तर अब हुन गइरहेका चुनावहरुबाट मात्र नेपाल र नेपालीका समस्याहरुको वास्तविक समाधान नहुने पक्का भइसकेको देखिन्छ । चुनावपछि आउने केन्द्रीय संसदमा कुनै पनि दलको बहुमत नभएको  त्रिशंकु संसद हुने निश्चित देखिन्छ । त्रिशंकु संसद हुनु भनेको चरम अस्थिर सरकार बन्ने हुनु हो र ०५२ पछिको त्रिशंकु संसद् र अस्थिर सरकारहरु तथा अहिलेका अस्थिर सरकारहरुको पुनरावृत्ति हुनु हो । यसको अर्थ देश पुनः विकृत राजनीतिको शिकार बन्नु हो र आर्थिक क्रान्तिको सपना तुहिनु हो । यस कारणले गर्दा पनि जनपक्षीय दलहरुले वर्तमान राजनीतिमा रहेका विकृतिहरु र विकृत राजनैतिक प्रणालीको विकल्पमा स्थिर, जनपक्षीय र देशभक्त तथा आर्थिक क्रान्तिको नेतृत्व गर्ने सरकार बन्ने खालको नयाँ राजनैतिक प्रणालीको मार्गचित्र दिएर त्यसलाई पनि चुनावी एजेण्डा र शान्तिपूर्ण जनआन्दोलनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने बेला आइसकेको छ । 
आगामी चुनावमा नेकपा एमाले संसदको ठूलो दलको रुपमा विजयी भए पनि कांगे्रस, माओवादी केन्द्र र मधेश केन्द्रित दलहरु  मिलेर सरकार बनाउने र एमालेलाई पाँच वर्षको लागि स्थायी प्रतिपक्षी बनाउने ग्रयान्डडिजाइन बनिरहेको स्थितिमा नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम झनै आवश्यक बन्न गएको देखिन्छ । यस्तो कार्यक्रम भनेको वैद्य र विप्लव नेतृत्वका दलहरुको भन्दा भिन्न अर्थात् चुनाव र शान्तिपूर्ण जनआन्दोलनको माध्यमबाट वर्तमान राजनैतिक व्यवस्थामा ल्याउन पर्ने र ल्याउन सकिने क्रान्तिको कार्यक्रम हो । क्रान्तिको कार्यक्रम भन्नाले केवल शसस्त्र संघर्षवाट प्राप्त गरिने कार्यक्रमहरु मात्र भनेर वुझ्नु गलत हो । क्रान्ति भनेको हिंसा मात्र हो भनेर वुझ्नु गलत हो । क्रान्ति भनेको ठुला परिवर्तनहरुको संगालो हो र समस्याहरुको गहन समाधान हो । नेपालको अहिलेको विशिष्ठ स्थितिमा केही महत्वपूर्ण राजनैतिक परिवर्तनहरु शान्तिपूर्ण रुपले चुनावी आन्दोलन र जनआन्दोलनहरुको समायोजनवाट पनि प्राप्त गर्न सकिने स्थिति रहेको छ । 
 वामपन्थी देखि दक्षिणपन्थी सम्म सबैजसो राजनैतिक दलहरुका नेताहरु तथा सिद्धान्तकारहरुमा अहिले एउटा फेसन चलेको छ । त्यो हो जनवादी(लोकतान्त्रिक) चरणको राजनैतिक क्रान्तिको कार्यभार पूरा भैसकेकोछ, अब आर्थिक क्रान्ति गर्दै पूँजीवादको विकास गर्दै जाने र  लामो समय पछि समाजवादी क्रान्ति गर्ने भन्ने फेसन । अर्थात अब लामो समय नेपालमा राजनैतिक क्रान्ति आवश्यक छैन भन्ने फेसन निकै चलेको छ । तर नेपाली राजनीतिको यथार्थता भने वेग्लै छ । नेपाल र नेपालीहरुको वर्तमान दुखद परिस्थितिको मूख्य कारण नेपालको गलत राजनीति हो कि होइन ? यदि यो प्रश्न आम सर्वसाधारण नेपालीहरुलाई सोध्ने हो भने ९९ प्रतिशतले नेपालको वर्तमान राजनीतिलाई नै दोष दिनेछन् । अहिले वामपन्थी र दक्षिणपन्थी नेताहरु भन्दा सर्वसाधारण जनताले नेपालको समस्या र त्यसको मोटामोटी समाधान बुझेका छन् । नेपालका प्रमुख राजनैतिक दलहरुको राजनीति र देशको राज्य व्यवस्थामा नै गम्भीर समस्या  रहेको तथा त्यसमा आमुल परिवर्तन नगरि देश अगाडि वढ्न नसक्ने निश्कर्ष सर्वसाधारण जनताको समेत रहेको छ । 
चुनाव कै कुरा गर्दा पनि सर्वसाधारण गरिव र निम्न मध्यम वर्गीय जनताले चुनाव लड्न नसक्ने प्रणालीको विकास भएको छ । गाउँ तथा नगर पालिकाहरुका वडा सदस्यमा चुनाव लड्न पाँच लाख, अध्यक्ष वा मेयरमा लड्न दश देखि विस लाख, प्रदेश सभा तथा केन्द्रिय संसदको चुनाव लड्न पच्चीस देखि पचास लाख कम्तिमा पनि लाग्ने तथ्य फाटेको जालले मात्रै छेकेको विषय वनेको छ । यस अर्थमा गरिव तथा निम्न मध्यम वर्गका जनताको लागि यो चुनाव प्रतिक्रियावादी भन्दा अनुपयुक्त नहुने स्थिति श्रृजना भैसकेको छ । के गरीव तथा निम्न मध्यम वर्गीय जनता, जो नेपालको करिव ८० प्रतिशतको संख्यामा छन्, ले लड्न नपाउने यस्तो चुनावी राजनीेतिक प्रणाली लोकतान्त्रिक हुन सक्दछ ? के यसमा क्रान्ति आवश्यक छैन ? 
भ्रष्टाचार निवारणका लागि बनेको संवैधानिक संस्था प्रमुख नै भ्रष्टाचारीको संरक्षक बन्दा समेत पनि उनीमाथि महाअभियोग लगाउन राजनैतिक दलका नेताहरु आनाकानी गर्छन्, आफ्नै विरुद्ध पनि प्रयोग हुन सक्ने देखे पछि वल्ल महाअभियोग सम्म दर्ता गर्छन् तर त्यसलाई टुंगो लगाउन तत्परता साथ लाग्दैनन् र सर्वोच्च अदालतका प्रथम महिला प्रधानन्यायधिशले हिम्मतसाथ फैसला गरेर उनलाई हटाइदिन्छन् । तर ती प्रथम महिला प्रधानन्यायधिशले स्वाभिमानका साथ राजनैतिक नेताहरुको प्रभाव विना अदालतलाई अघि वढाउन र भ्रष्टाचारीहरुको केश फैसला गर्न थाल्दा उनी माथि नै उल्टो महाअभियोग लगाउँछन् भने यस्तो प्रतिक्रियावादी राजनैतिक प्रणालीको विकल्पमा जनपक्षीय कार्यपालिका र स्वतन्त्र न्यायपालीकाको  प्रणाली स्थापना गर्ने तथा भ्रष्टाचार विरुद्ध सशक्त राजनैतिक प्रणाली सहितको वैकल्पिक राजनैतिक कार्यक्रम आवश्यक भएको तथ्य स्वतः सिद्ध छ । विगतमा ठुल्ठुला भ्रष्टाचार काण्डहरु भएका छन् तर त्यसका विरुद्ध कमसेकम कयौं दिन संसद अवरुद्ध भएको छ र जनआन्दोलनहरु भएका छन् तर अहिले अरवौं रकमहरुका ठुल्ठुला भ्रष्टाचार काण्डहरु भएकाछन् तर  त्यसवारे संसदले प्रभावकारी भूमिका खेल्न सकेको छैन र भ्रष्टाचार निवारण गर्न वनाइएका संवैधानिक निकायहरुले पनि सशक्त कारवाही गर्न सकेको छैन । आफ्नो तलवले परिवार धान्न नपुगेर दश विस हजार भ्रष्टाचार गर्ने नासु खरदार जेल जान्छन् तर अरवौं भ्रष्टाचार गर्ने ठुला कर्मचारी, नेता र सांसदहरु जेल वाहिर मस्तिको जीवन जीउँदैछन् । भ्रष्टाचार फैलनाको कारण राजनैतिक प्रणाली नै भ्रष्टाचारी प्रणाली भएर हो । के भ्रष्टाचारी राजनीतिक प्रणालीका विरुद्ध क्रान्तिको आवश्यकता छैन ? के यस्तो क्रान्ति विना टालटुले तरिकाले भ्रष्टाचार निर्मुल हुन्छ ? के पार्टी नेताहरुले पार्टीको नाममा गर्ने भ्रष्टाचार विरुद्ध आन्तरिक क्रान्ति नगरि देश भरी फैलिएको भ्रष्टाचार निर्मुल हुन्छ ? असम्भव । 
नेपालमा वामपन्थी जनमत वहुमतमा छ भन्ने तथ्य नेपालका वामपन्थी दलहरु सबैको मत जोडेर हेर्दा पनि सहजै प्रमाणित हुन्छ । देशी र विदेशी दक्षिणपन्थीहरु यसवाट भयभित भैरहेकाछन् । यसलाई फुटाउनु उनीहरुको एक प्रमुख रणनीति वन्दै आएको छ । कम्तिमा पनि चुनावी वाटो अंगाल्ने नेपालका वामपन्थीहरु एक हुनेहो भने स्थीर वामपन्थी सरकार वन्ने करिव करिव निश्चित छ । यसकालागि पनि वामपन्थीहरुका विच मिल्न सकिने हद सम्मका तात्कालिक कार्यनैतिक साझा नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम तथा मध्यकालिन र दीर्घकालिन रणनैतिक नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम  आवश्यक भएकोछ । देशी विदेशी दक्षिणपन्थीहरुका जालझेल र रणनीतिहरु असफल पार्दै वामपन्थी दलहरु सबैलाई एक सूत्रमा गाँस्ने नयाँ साझा राजनैतिक क्रान्तिको कार्यक्रम अहिलेको समयको प्रमुख आवश्यकता हो । 
नेपाल विदेशी मित्र राष्ट्रहरुको लागि तानातान गर्ने अखडा वन्न पुगेको छ । विदेशी चलखेल तीब्र वन्न पुगेको छ । यसले नेपाली राष्ट्रियता समेत पनि खतरामा पर्न थालेको छ । यसकारणले पनि नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम आवश्यक पर्न गएको छ । जातिय क्षेत्रीय संघर्षको विजारोपण जसरी दीर्घकालीन गम्भीर विषयको रुपमा भएको छ, त्यसको समाधानको लागि पनि यस्तो नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम आवश्यक भएकोछ । नेपाल सरकारसँग वजेट पैसा छ तर वजेटको करिव विस देखि तीस प्रतिशत खर्च गर्न समेत नसक्ने राजनैतिक प्रणाली विद्यमान छ र त्यसमा आमुल परिवर्तन अर्थात क्रान्ति नगरि समाधान हुने देखिन्न । जबकि देशको श्रोत साधनको पर्याप्तता र आर्थिक क्रान्तिको आवश्यकतालाई हेर्दा अहिलेको भन्दा दोब्वर तेब्बर आकारको वजेट वनाउन पर्दछ र सकिन्छ । अहिलेको राजनैतिक प्रणाली र राज्य संरचनाले आर्थिक क्रान्तिको कार्यक्रम वनाउन र लागु गर्न नसक्ने प्रष्ट भैसकेको छ, तसर्थ आर्थिक क्रान्ति गर्न सक्ने खालको राजनैतिक प्रणाली र राज्य संरचना वनाउने गरि वर्तमान व्यवस्थामा शान्तिपूर्ण क्रान्ति गर्ने  नयाँ राजनैतिक क्रान्तिको कार्यक्रम अहिले समयको माग वनेको छ जसमा वामपन्थी दलका शीर्ष नेता कार्यकर्ताहरु र सबै वामपन्थी वौद्धिक समुदायको  ध्यान जानु पर्दछ । यसभित्रको एक अत्यन्त महत्वको विषय भनेको पार्टीलाई ठुला चन्दादाताहरुको पकडबाट मुक्त गरेर जनताको झुपडीमा पु¥याउने आन्तरिक राजनैतिक क्रान्तिको कार्यक्रम बनाउनु र लागू गर्नु पनि हो । 

Related News