​विवादबीच समापन एउटा सम्मेलन

दृष्टि न्यूज

रमेश घिमिरे (स्वतन्त्र पत्रकार) ।
उत्तरी छिमेकी चीनमा चर्चहरु बुल्डोजरले ध्वस्त गरिँदै गर्दा र दक्षिणी छिमेकी भारतमा हिन्दू राजनीतिको अभ्युदय भएको बेला नेपालमा भने युनिफिकेशनको चर्चको प्रशंसा र त्यसकी प्रमुख स्वघोषित जीससकी सच्चा छोरी हक जा हान र (मैडम मुन)को सम्झनामा सत्तारुढ नेकपाका शीर्ष नेताहरु प्रमुखको भूमिकालाई नेपाली जनताले मन पराएनन् । नेपालका प्रमुख मिडियाहरुले उक्त सम्मेलनमा सरकार सह–आयोजक बनेको कुरालाई व्यापक आलोचना गरेपछि नेपाल सरकार सहआयोजकबाट पछाडि हट्यो । सम्मेलनको विषयवस्तु जे जस्तो भए पनि सम्मेलनको भित्री उद्देश्य धर्म प्रचार नै थियो । 
नेपाललाई रातारात धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि नेपालीको मनमनमा हिन्दूत्वको ढुकढुकी छ । वर्तमान संविधान निर्माणको क्रममा नेपाली जनताबाट जुन राय सुझाव संकलन गरिएको थियो, त्यो हालसम्म पनि प्रकाशित नहुनु र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गर्ने काममा यो संस्थाको पनि अप्रत्यक्ष भूमिका थियो, भनिन्छ । एक अपुष्ट जानकारी अनुसार ८० प्रतिशतभन्दा बढी नेपाली जनताले नेपाल हिन्दू राष्ट्र नै रहिरहनु पर्छ भनी मत दिएका थिए । तर युनिभर्सल पिस फेडरेशनजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र देशी विदेशी शक्तिको आडमा रातारात नेपाललाई धर्मनिरपेक्ष राज्य बनाइयो । जनआन्दोलनको क्रममा कहीँकतै पनि माग नभएको कुरा कसरी संविधानमा लेखियो ? यसको उत्तर गर्भमै छ ।
विश्वकै धनीमध्येकै एक चर्च युनिफिकेशन चर्चसँग आवद्ध र त्यसबाट फाइदा लिएका शीर्ष नेताहरुले तथाकथित ‘एसिया प्यासिफिक समिट’को खातिरदारीमा लाग्नु चिन्ताको विषय हो । आजको आधुनिक युगमा कुनै देशलाई कब्जामा लिन युद्धको आवश्यकता पर्दैन । त्यस देशको सभ्यता, संस्कृतिलाई ध्वस्त पार्न सक्यो भने त्यो मुलुक आफैँ अधिनमा आउँदछ । यो ‘समिट’ गर्न गराउनका निमित्त यही उद्देश्य रहेको देखिन्छ ।
यस समिटमा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हु सेन, म्यानमारका स्टेट काउन्सिलर आङसाङ सुकी, नाऊरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सका उपराष्ट्रपति मरीया लियोनोर राब्रेडो, समोआका राष्ट्रप्रमुख मालेटोआ सुआलाईमी दुईमाले एलिफानो, टुमालाका गभर्नर जनरल लाकोबा टेइया इटालेली, भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री सईद युसुफ रजा गिलानी आदि हुन् । यी अधिकांश राष्ट्रहरुसँग नेपालको खासै द्विपक्षीय सम्बन्ध छैन । कतिपय टापु राष्ट्रहरुको जनसंख्या त नेपालको एउटा जिल्लाको भन्दा कम छ । त्यसकारण यी राष्ट्रका नेताहरु यहाँ आएर नेपालको कूटनीतिक दायरा खासै फराकिलो हुने देखिँदैन ।
आम नेपालीको जनभावनाविपरीत नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा इसाई धर्मको अखडा बनाउन खोजिएमा त्यसले भविष्यमा ठूलो धार्मिक द्वन्द्वको स्थितिलाई निम्त्याउनेछ । समयमै सचेत हुनु जरुरी छ । यस समिटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भाग नलिएर निश्चय पनि राम्रो गरेको प्रतिक्रिया आएको छ । प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना यस्ता समिटले कदापि पूरा हुने छैन भन्ने कुरालाई पार्टी नेतृत्वले समयमै बुझ्नुपर्छ ।
rmshghimire@yahoo.com

Related News