​फाइल थन्क्याएर व्यापारीसँग बार्गेनिङ

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । केही महिनाअघि अस्पताल र गाडी कम्पनीहरुमा अनुगमनको नाममा ठूलै हल्ला गरियो । अस्पतालहरुले सेवा शुल्कका नाममा सर्वसाधारणलाई ठगी गरेको तथा गाडी कम्पनीहरुले ५० प्रतिशतसम्म नाफा खाएको भन्दै उपभोक्ता हित संरक्षण विभागले सबैलाई कारबाही गर्ने भन्दै पत्राचार ग¥यो । तर, अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन । 
विभागले अस्पताल र गाडी कम्पनीहरुलाई कारबाहीका लागि भन्दै प्रहरीलाई पत्राचार गरेको थियो । तर, प्रहरीले ती सबै फाइल थन्क्याएर राखेको छ । अनुसन्धानको दायरामा रहेका व्यक्तिहरु पहुँचवाला भएकाले प्रहरीले अनुसन्धान अघि बढाउन नसकेको हो । 
काठमाडौंका ग्रान्डी, नर्भिक, इशान, न्यूरोलगायत अस्पतालविरुद्ध कारबाही गर्न विभागले काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो । त्यस्तै ललितपुरको बीएण्डबीलगायत अस्पताललाई पनि कारबाहीका लागि भनेर ललितपुर प्रहरीमा पत्राचार भएको थियो । उनीहरुबिरुद्ध कालोबजारी ऐनअनुसार कारबाही गर्न प्रहरीले पत्राचार गरेको थियो । तर, प्रहरीले फाइल थन्क्याएर बार्गेनिङ गरिरहेको विभागका अधिकारीहरु बताउँछन् । 
त्यस्तै विभागले केही ठूला स्कुलहरुविरुद्ध समेत कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिसकेको छ । ती स्कुलहरुविरुद्ध पनि कारबाही हुने सम्भावना न्यून छ । पछिल्लो समय उपभोक्ता हित संरक्षण विभागको अनुगमन कर्मचारी, प्रहरी र नेता सबैका लागि थर्काउने र असुल्ने माध्यम बन्दै गएको छ । जसकारण ठगी गर्नेहरु पनि उम्कने र इमान्दार व्यापारीहरुलाई समेत आतंकित बनाउने काम भइरहेको छ । 
दशैको मुखमा तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले पनि दरबारमार्गका व्यापारीलाई तर्साएर मोटो रकम झार्ने खेल खेलेका थिए । तर, दरबारमार्गका व्यापारीले आफूले कुनै गल्ती नगरेको र गरेको प्रमाणित गरे जुनसुकै कारवाही भोग्न तयार रहेको अडान लिएपछि मन्त्री मण्डल दरबारमार्गका व्यापारीसामु झुक्न बाध्य भएका थिए । हुन पनि एक महिना लगाएर गरिएको अनुसन्धानमा आपूर्तिले कारवाही गर्ने ठोस आधार भेट्टाएको थिएन ।

Related News