​आठ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध

दृष्टि न्यूज

वासिंगटन, (एजेन्सी) । मुस्लिम बाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएको एजेण्डामाथि अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । 
राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । 
विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए । 
तर मंगलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत संख्याको आधारमा गरिएको बताइएको छ । 
उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए । 
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरु विवादमा परेका र अधिकांश बदर भइरहेका छन् । 

Related News