​प्रधानमन्त्रीलाई अमेरिकामा रहेका नेपालीको चासो

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै राजनीतिक दल समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताए । उनले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए । उनले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र त्यहाँ रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिएकी थिइन् ।

Related News