​अमेरिका–चीनबीच व्यापारिक युद्ध : ९० दिनका लागि स्थगित

दृष्टि न्यूज

ब्युनस आयर्स, (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच व्यापारमा नयाँ भन्सार लगाउने प्रक्रिया आगामी ९० दिनका लागि स्थगित गर्ने सहमति भएको छ ।
विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करबृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो । यसैबेला दुई राष्ट्रपतिबीचको पछिल्लो भेटमा आगमी ९० दिनका लागि करवृद्धिलाई पर सार्न सहमति भएको जनाइएको छ । 
ब्युनस आयर्समा जारी ‘जी–२०’ बैठकपछि दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोजपश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनियाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको हो । ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ । 
यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ ।’ सम्झौता बमोजिम अर्को वर्षको सुरुबाटै चिनियाँ सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पु¥याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको हो । तैपनि, यो आंशिक सम्बोधन मात्र  भएको जनाइएको छ । 
झण्डै ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ । साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २०० अर्ब डलर बराबरका चिनीया सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका छन् । यहीबीच, चीनले करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । 
चीनमा रहेका व्यापारिक अबरोधहरु, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीहरुका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ । यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीनविरुद्ध थप दण्डात्मक कार्यबाही गरिने अमेरिकाले चेतावनी दिँदै आएको छ । 
अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरु रहेको बताउँदै चिनियाँ राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरेका छन् । त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘हामीबीचको सहयोगात्मक कार्यहरुले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ ।’

Related News