ह्याकिङको आशंका, पुनः मतगणनाको माग

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपतिको निर्वाचन सकिएको करिब तीन साता बितिसक्दा पनि यसको चर्चा अझै सेलाएको छैन । भोटिङ मेसिन ह्याकिङको आशंकामा ग्रिन पार्टीकी राष्ट्रपति उम्मेदवार जिल स्टेनले विस्कोन्सिन, मिचिगन र पेन्सिलभेनिया राज्यमा पुनः मतगणना गर्नुपर्ने माग गरेसँगै यसको चर्चा थप चुलिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा अनपेक्षित परिणाम निकाल्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले २९० इलेक्ट्रोरल मत पाउँदै हिलारी क्लिन्टन (२३२) लाई पराजित गरेका थिए । यद्यपि लोकप्रिय मतमा हालसम्म क्लिन्टन ट्रम्पभन्दा करिब २२ लाखभन्दा बढी मतले अगाडि छिन् ।

विवादास्पद छविका ट्रम्प निर्वा्चित भएसँगै उनको विरोधमा अमेरिकाको विभिन्न राज्यहरूमा प्रदर्शन जारी छ । यसबीच निर्वाचन ह्याकिङबाट प्रभावित भएको चर्चामा पनि अगाडि आएको छ । 

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्कोन्सिन, मिचिगन र पेन्सिलभेनियामा भोटिङ मेसिनमा साइबर ह्याकिङको आशंका गरिएको छ । ग्रिन पार्टीले साइबर ह्याकिङको मार्फत भोट गणनामा हेरफेर भएको आरोप लगाउँदै पुनः मत गणना हुनुपर्ने माग गर्दै आएको छ । यसबीच विस्कोन्सिन राज्यको निर्वाचन बोर्डले पुनः मतगणनाको आग्रहलाई समेत शुक्रबार स्वीकार गरेको छ । राष्ट्रपति पदको उम्मेदवार तथा ग्रिन पार्टीकी जिल स्टेनले निर्वाचनका क्रममा सो राज्यका कम्प्युटर ह्याकिङ भएर निर्वाचनको परिणाम प्रभावित भएको दाबी गर्दै उजुरी दिएकी थिइन् । युनिभर्सिटी अफ मिचिगनका कम्प्युटर साइन्सका प्राध्यापक एलेक्स हल्डरम्यानले निर्वाचनका क्रममा प्रयोग भएका भोटिङ मेसिन ह्याकिङ भएको बारे आफू स्पष्ट नभए पनि यसबारे अनुसन्धान हुनुपर्ने धारणा राख्छन् । 

Related News