​अमेरिकी लडाकू विमान आकाशमै दुर्घटनाग्रस्त

दृष्टि न्यूज

टोक्यो, (एजेन्सी) । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आज आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सवार चालक दलका ७ जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । 
आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुवै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । 
अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ । 
अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो । 

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाजहरु पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरुले बताएका छन् ।  जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । 

Related News