भारतीय लगानीको यूटीएललाई जीएसएम अनुमति

काठमाडौं, २१ भदौ । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले जीएसएम मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ । 
डेढ दशकअघि ‘लिमिटेड मोबिलिटी’ को लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको खबर सरस्वती ढकालले कारोबार दैनिकमा लेखेकी छन् । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि अनुमति पाइसकेका छन् । 
आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिने कम्पनीले जीएसएम प्रविधिको मोबाइल, सीडीएमए, एडीएसएल लगायतका सबै प्रकारका सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सोमबार आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिइएको जानकारी दिँदै यसले मोबाइल सेवामा प्रतिस्पर्धा बढ्ने बताए । 
यूटीएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) को २६.६८ प्रतिशत, टेलिकम्युनिकेस कन्सल्ट्यान्ट इन्डिया लिमिटेड (टीसीआईएल) र टाटा कम्युनिकेसन लिमिटेड (टीसीएल) को दुवैको २६.६६ प्रतिशत तथा नेपाल भेन्चर प्रालि (एनभीपीएल) को २० प्रतिशत सेयर हिस्सा छ । कम्पनी घाटामा गएपछि गत आर्थिक वर्षमा सबै सेयर होल्डरले ४५ करोड रुपैयाँ लगानी थप गरेका थिए ।
“निजी क्षेत्रबाट सञ्चालित कम्पनीका लागि प्रतिस्पर्धी चाहिएको थियो, अब यो अपेक्षा यूटीएलसँग गरिएको छ,” उनले भने, “यसअघि आधारभूत टेलिफोन सेवा पाएको स्मार्ट टेलिकमले आक्रामक रूपमा बजार विस्तार गर्न नसक्दा दूरसञ्चार सेवा प्रतिस्पर्धी हुन सकेको छैन ।” 
नेपाली बजारका लागि ३ वटा मोबाइल सेवा प्रदायक हुँदा उपभोक्ताले गुणस्तरीय सेवा पाउने उनको भनाइ छ । कम्पनीले ०५९ असोजमा सीडीएमए प्रविधिको सेवा सञ्चालन गर्न लाइसेन्स पाएको थियो ।
दूरसञ्चार क्षेत्रमा सबैभन्दा महँगो आधारभूत टेलिफोन सेवाको लाइसेन्स हो । यो सेवामा जीएसएम लाइसेन्सका लागि ३५ करोड ७५ लाख रुपैयाँ शुल्क छ भने प्राविधिक मापदण्ड प्राधिकरणले तोकेको हुनुपर्छ । लाइसेन्स लिएपछि १० वर्षका लागि समयअवधि हुन्छ भने हरेक पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था छ । नवीकरण शुल्क २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ लाग्ने व्यवस्था छ । 
यूटीएलमा भारतको महानगर टेलिफोन निगम लिमिटेड (एमटीएनएल) को २६.६८ प्रतिशत, टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट इन्डिया लिमिटेड (टीसीआईएल) र टाटा कम्युनिकेसन लिमिटेड (टीसीएल) को दुवैको २६.६६ प्रतिशत तथा नेपाल भेन्चर प्रालि (एनभीपीएल) को २० प्रतिशत सेयर हिस्सा छ । कम्पनी घाटामा गएपछि गत आर्थिक वर्षमा सबै सेयर होल्डरले ४५ करोड रुपैयाँ लगानी थप गरेका थिए ।

Related News