​उत्तरगंगा आफैले बनाउने प्रम ओलीको दृढता

दृष्टि न्यूज

काठमाडौं, ४ वैशाख । ठूलो जलविद्युत आयोजनाहरु निजि क्षेत्रलाई दिँदा प्राकृतिक स्रोतमाथि निजी क्षेत्रको प्रभाव बढ्ने भन्दै समानुपातिक विकास पक्षधरहरुले चिन्ता व्यक्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सय २८ मेगावाटको विशाल जलविद्युत आयोजना उत्तरगंगा सरकार आफैले निर्माण गर्ने दृढता व्यक्त गरेका छन् । 
८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि सरकारले नै पहल लिने प्रधानमन्त्री ओलीले आयोजनास्थलमै पुगेर बताएका छन् । उत्तरगङ्गा आयोजनाका लागि ढोरपाटन उपत्यका डुबाएर धेरै बिजुली निकाल्ने कि नडुबाएर थोरै बिजुली निकाल्ने, बाग्लुङमा बनाउने कि रुकुममा बनाउने विषयमा विवाद सिर्जना भएको छ । स्थानीयस्तरमा विवाद सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्माओली पूर्वऊर्जामन्त्री जनार्दन शर्मासँगै आयोजनास्थल ढोरपाटन पुगेर आयोजना सरकारले नै निर्माण गर्ने बताएका हुन् । ओलीले ढोरपाटन उपत्यकाको पर्यटकीय महत्व नहराउने गरी सरकारले आयोजना निर्माण गर्ने बताएका छन् । 
ढोरपाटन उपत्यकाको धेरै भाग डुबानमा पारेर ८२८ मेगावाटको आयोजना बनाउने कि, थोरै क्षेत्र डुबानमा पारेर ३०० मेगावाटको आयोजना गर्ने निर्णय हुन सकेको छैन । प्रम ओलीले भने कूल क्षमताको आठ सय २८ मेगावाटकै आयोजना निर्माण गर्ने दृढता व्यक्त गरेका छन् । 
आयोजनाले दुई सय मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी प्रवाह गरी ८२८ मेगावाट विद्युत् निकाल्न सकिने उक्त आयोजनाबाट नेपालले बार्षिक अर्बौ रुपैयाँ उर्जा उत्पादनबाट प्राप्त गर्नेछ । 

Related News