​यु–ट्युबले जन्माएको ‘बालट्रेण्ड’

दृष्टि न्यूज

काठमाडौं । पाँच वर्षअघि फिल्म निर्माता तथा निर्देशक विकास आचार्यले बालकलाकार अनुभव रेग्मीलाई लिएर फिल्म ‘नाइँ नभन्नु ल’ बनाए । फिल्मले सोचेभन्दा राम्रो सफलता पनि पायो । प्रेमप्रति जागृत बालमनोविज्ञानलाई आधार बनाइएको नेपाली फिल्म ‘नाइँ नभन्नु ल’को लगातार पाँचौँ सिरिजसम्म बन्यो । 
‘नाइँ नभन्नु ल–५’ अहिले रिलिजकै क्रममा छ । तर, निर्देशक विकासले यसको सिरिज अन्त्य गर्ने घोषणा गरेका छन् ।  यसरी एउटा प्रेमप्रतिको बालमनोविज्ञानलाई पर्दामा उतारेर मालामाल बनेका निर्देशक विकासले आफ्नो सिरिज बन्द गर्ने घोषणा गरिरहँदा सांगीतिक क्षेत्रमा भने बालटे«ण्ड भित्रिएको छ । 
यतिखेर यु–ट्युब च्यानल चलाउनेहरु गायनमा प्रतिभा भएका बालकलाकार खोज्न गाउँ–गाउँसम्म पुग्न थालेका छन् । गायनमा ‘बालटे«ण्ड’ ल्याउने काम भने संगीतकार टंक बुढाथोकीले गरेका हुन् । पुर्वी झापाका संगीतकार टंकले झापाकै अशोक दर्जी नामका १० वर्षीय बालकलाई उठाएर राजधानीमा ल्याएनन् मात्र उनले अशोकलाई सामाजिक सञ्जालमा ‘भाइरल’ नै बनाए ।   
टंकले आफ्नै संगीतमा अशोकलाई ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ भन्ने बोलको गीत गाउन लगाए । त्यो गीत दर्शक तथा श्रोताले अत्याधिक रुचाए । उक्त गीतको भिडियो भ्युअर्स यु–ट्युबमा रातारात बढ्यो । उक्त गीत एक सातामै ५० लाख बढीले हेरेपछि अनलाइन मिडियाले अशोकलाई यति उचाले, उनी रातारात ‘सुपर हिट’ गायक बनेँ । 
अशोक हिट भएपछि उनलाई देशविदेशबाट कार्यक्रममा लागि प्रस्ताव आउन थाल्यो । उनले छोटै समयमा देशभित्र मात्र नएर दुवई, मलेसियालगायतका मुलुकमा समेत आफ्नो प्रतिभा प्रस्तुत गर्न भ्याइसकेका छन् । ‘जसले मह काढ्छ, उसले हात चाट्छ’ भनेजस्तै अशोकसँगै संगीतकार टंक पनि हिटसँगै मालामाल भए ।
एक गरीबका छोरा त्यहीमाथि प्रतिभाका धनी अशोकलाई देश–विदेशबाट सहयोग जुट्न थाल्यो । अशोकको झुपडीलाई  महल बनाइदिने भन्दै मलेसिया, हङकङ, युकेलगायतबाट सहयोग आउन थाल्यो । जसले झापामा अशोकको एकतले पक्की घर पनि तयार भयो । यो सम्भवः नेपाली सांगीतिक क्षेत्रकै एउटा दुर्लभ संयोग मान्नुपर्छ किनकि, यहाँ वषौँ मिहिनेत गर्दै आएका कलाकारहरु अहिले पनि सडकमै छन् । 
अशोकको सफलता देखेपछि त्यसयता थुप्रै बालकलाकार जन्मिसकेका छन् । तर, पछिल्लो समय अशोकको चर्चा हराएको छ । बालगायकको खोजी भने बढेको छ । अशोकलाई ल्याएपछि  संगीतकार टंक बुढाथोकीले भनेका थिए, ‘अब अशोकले पछाडि फर्केर हेर्नु पर्दैन ।’ 
अशोकले ह्यात्तै बजार लिँदा अरु संगीतकारसँग काम गर्न समेत दिएनन् किनकि टंकले अशोक आफ्नो नीजि ‘प्रोपर्टी’ मान्छन् अशोकलाई । उनले अशोककै भुँइ चढेर छोटो समयमै दाम र नाम कमाउन सफल भएपछि घरबाट समेत अगल बनाउन खाजेको आरोप लाग्यो । 
अशोक पढ्ने स्कुलका प्रिन्सिपलले त टंकमाथि प्रहरीमा उजुरी समेत दिए । टंकले अशोकका लागि राम्रै गरिरहेका थिए । टंकको गल्ती भनेको अशोकलाई स्कुलबाट छुट्याउनु हो । सुरुमा सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका अशोकलाई लिएर विस्तारै टंक आलोचित बन्न थाले । 
आलोचना गर्नेहरु भन्थे, ‘हो अशोक राम्रो गाउँछन् । उनी भविष्यको स्टार पनि हुन् । तर, यतिखेर उनका लागि शिक्षा आवश्यक छ ।’ हुन पनि नेपालमा स्टार बनेका कलाकारहरु ‘शिक्षा’कै कारण पछुतो मानिरहेका छन् । टंकले अशोकलाई अध्ययन गर्न दिने तर कार्यक्रम परेका बेला तुरुन्त झिकाउने अलेखित सम्झौता गरेपछि विवाद त टुंगियो । तर, अशोक ओझेल परे ।
बालकलाकार अशोक दर्जी कहाँ छन् ? हिजोआज धेरैलाई थाहा छैन । उनको कुन गीत आउँदैछ ? त्यो पनि थाहा छैन । तर, कुनै नयाँप्रति र स्क्याण्डल आए त्यसैको पछाडि दौडिने नेपाली दर्शक तथा श्रोतालाई पछिल्लो समय यदि थाहा छ, ‘मनिष लिम्बू र माङ्गेना लिम्बू एकदमै राम्रो र प्रतिभा भएका कलाकार हुन् ।’
मनिष र माङ्गेना पनि बालकलाकार हुन् । सामाजिक सञ्जालमा अशोक ‘भाइरल’ बनेपछि यी दुई बालकलाकारको उदय भएको हो । मनिष र माङ्गेना पनि झापाकै हुन् । एक किसिमले भन्ने हो भने अशोकलाई ओझेल बनाउन चाहने एकथरीले मनिषलाई मिडियामा प्रस्तुत गरेको हो । 
हुन त अशोकभन्दा कम छैनन् मनिष र माङ्गेना । तर, संगीतकार टंक बुढाथोकी निटक श्रोतले भन्यो, ‘टंक र अशोकको सफलता हेर्न नसक्नेहरुले यो खेल खेलेका हुन् ।’ तर, स्रोतको भनाइ जस्तो नहुन सक्छ किनकि,  १० वर्षीया माङ्गेना दुई वर्षयता संगीत सिक्दै आएकी छन् । उनलाई संगीतको राम्रो ज्ञान छ । तर, अशोकसँग त्यो छैन । उनले संगीतको ‘स’ समेत सिकेका छैनन् । अशोक बाटोमा गीत गाउँदै माग्दै हिँड्दा एक जनाले उनको प्रतिभा देखेर मोबाइलमा भिडियो बनाई फेसबुकमा अपलोड गरेका थिए । 
अन्ततः त्यो भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘भाइरल’ बन्दै संगीकार टंक बुढाथोकीसम्म आइपुग्यो । त्यसपछि चलाख संगीतकार टंक बुढाथोकीले  अशोकलाई उठाएर काठमाडौं ल्याए र गाउन लगाए, ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ । जसले अशोकलाई मन र धन दुवै मिल्यो ।
पछिल्लो समय मनिष र माङ्गेना सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन् । तर, उनीहरुको कथा पनि अशोकको भन्दा कम छैन । यु–ट्युबमा ‘स्क्याण्डल’ बिक्री गरेर डलर कमाउन लहडमा लागेकाहरुले कुल्फी व्यापारीलाई समेत नछाडेको अवस्थामा यी पछिल्लो दुई बालकलाकार केही व्यक्तिले आफ्नो ‘प्रपोर्टी’का रुपमा लिएका छन् । 
केही यु–ट्युब च्यानललाईबाहेक अरुलाई अन्तरवार्ता दिन समेत मनिषलाई ब्यञ्चित गराइएको छ । जसले १० वर्षीय मनिषलाई आफ्नो ‘प्रपोर्टी’का रुपमा लिँदै आएको छ, उसले पछिल्लो समयकी चर्चित गायिका मेलिना राईलाई ‘बिहे गर्छु’सम्म भन्न लगाएर ‘भाइरल’ बनाउने प्रयत्न गर्दै आएका छन् । २८ वर्षीया मेलिनालाई एक १० वर्षीय बालकलाई मिडियामा ‘बिहे गर्छु’ भन्न लगाएर चर्चामा ल्याउनु पक्कै उचित नहोला । 
त्यस्तै, माङ्गेना पनि एक राम्रो प्रतिभा हुन् । उनले पुराना कालजयी नेपाली गीतहरु जस्ताको तस्तै गाउन सक्छिन् । अरुणा लामा, तारादेवीदेखि लिएर अञ्जु पन्त र मेलिना राईका गीतहरु हुबुह गाउन सक्ने माङ्गेनाले आफ्नै गीत पनि रेकर्ड गरिसकेकी छन् । गायन प्रतिभाकी धनी माङ्गेनाको आर्थिक अवस्था अशोक दर्जीको भन्दा दयनीय रहेको भन्दै एक सातायता प्रचार गरिँदै आएको छ । 
अशोक र मनिषपछि माङ्गेनालाई आफ्नो ‘प्रोपर्टी’ बनाउन खोज्नेहरु उसकै घर झापासम्म पुगेर अन्तवार्ता लिएका छन् । एक किसिमले भन्ने हो भने अशोक, मनिष र माङ्गेना ‘रिजर्भ’ भइसकेका छन् । त्यसैले अहिले अर्को त्यस्तै बालप्रतिभा खोज्न एकथरी पश्चिमतिर लागेका छन् । 

Related News