​नेपाली बुलेट वीरगन्ज नाकामा अलपत्र

काठमाडौं, २४ पुस । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट कागजपत्र नमिलेको भन्दै वीरगन्ज भन्सार नाकामा एक महिनादेखि अलपत्र परेका छन् । नेपाल भारत अन्तरसरकारी समन्वय अभावका कारण यस्तो अबस्था श्रृजना भएको बताइएको छ ।
पहिलो गाँसमै ढुङ्गा भनिए जस्तै, पहिलो पटकमै नेपाली लगानीका बुलेटमार्फत ग्यास भित्र्याउने प्रयास सफलहुन नसकेपछि झमेलामा परेको हो । 
यसअघि भारतीय बुलेटहरूले मात्र ग्यास आयात गर्दै आएको थिए । सरकारले गतवर्ष नेपाली बुलेटलाई ग्यास आयात गर्ने अनुमति दिएपछि पहिलोपटक उद्योगीले ग्यास बुलेट लिएर भारत गएका थिए । तर अन्तरसरकारी समन्वय अभावका कारण अलपत्र परेपछि व्यवसायीहरू निराश बनेका छन् ।
नेपाली नम्बरका ग्यास बुलेट ल्याउन बजेटमा दुईतिहाई कर छुट पाइने व्यवस्था भए पनि प्रक्रिया नमिलेको भन्दै भन्सार कार्यलयले नछुटाउदा लामो समय देखि बुलेट नाकामै अलपत्र परेका थिए । भन्सार विभागले बुलेट छुटाउनका लागि प्रक्रिया अगाडि बढाए पनि ग्यास भने अझै नेपाल भित्रिन सकेकोे छैन ।
“बुलेट छुटाउनका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउदा पनि भन्सार पास नहुँदा नाकामै रोकिएको छ,” नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले भने । “अर्थमन्त्रालय, भन्सार विभाग र वीरगन्ज भन्सार कार्यलयको समन्वय नहुँदा महिना दिनदेखि ग्यास नाकामा रोकिनु परेको हो ।” उनले बताए ।

Related News