​भन्सारमा धावा बोल्दै अर्थमन्त्री

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । राज्यकोषको ढुकुटीको मुख्य स्रोत भन्सारमै हेराफेरि भएपछि सरकारले चालु खर्च र विकास खर्च कसरी धान्न सक्ला ? देउवा सरकारमाथि एकाथरी अर्थविद्हरुले राज्यकोषमा ब्रम्हलूट मच्चाएको आरोप त्यसै लगाएको होइन । कूल राजश्वको भण्डै आधा हिस्सा ओगट्ने भन्सारमा सरकार र कर प्रशासन मिलेर मच्चाएको ब्रम्हलूटमाथि अर्थमन्त्री डा. युवराज खतिवडाले धावा बोल्न सुरु गरेका छन् ।
अर्थमन्त्रालयको जिम्मेवारी डा. खतिवडाले सम्हालेपछि भन्सारमा भइरहेको लूटको रहस्य खुलेको हो । एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धन सरकारले समृद्ध नेपाल निर्माण गर्ने भन्दै मुलुकको बागडोर सम्हाल्ने वित्तिकै भन्सारको सेटिङमा धावा बोलेको असर भन्सार असुलीमा देखिएको छ । जब अर्थमन्त्री खतिवडाले सेटिङमा धावा बोले तव राजश्व संकलनमा सकारात्मक सुधारहरु आउन थालिसकेका छन् । भन्सारमै राजश्व लूट मच्चाउँदै कांग्रेस नेतृत्वको सरकारले मुलुकलाई टाट उल्टाउने दिशातर्फ अघि बढाएको थियो । पूर्ववर्ती सरकारका मन्त्री तथा कर्मचारीको सेटिङमा भन्सारमा लूट मच्चाएकै कारण मुलुकको वित्तिय अवस्था खराव भई आन्तरिक ऋणको सीमा अन्तिम अवस्थामा पुगेको, चालु खाता ऋणात्मक भएको जस्ता धेरै सूचकहरु खराव अवस्थामा पुगेको थियो । 
अर्थमन्त्री खतिवडा नियुक्त हुनासाथ भन्सारमा हुँदै आएको सेटिङ धन्दाको चेनअफ कमाण्ड भत्किएको छ । नयाँ सरकारले पुरानो सरकारले गर्दै आएको भन्सार हेराफेरीको चेनअफ कमाण्ड भत्काउँदा दैनिक ३५ करोड रुपैयाँ राजश्व बृद्धि भएको भन्सारको राजश्व संकलनको तथ्याङकले देखाएको छ । अर्थमन्त्री खतिवडाले सबै भन्सार कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएकै दिन यसअघि भइरहेको भन्सार असुलीभन्दा दैनिक ३५ करोड रुपैयाँको दरले राजश्व असुलीमा बृद्धि भएको छ । अर्थमन्त्री डा. खतिवडाले गत फागुन १८ गते शुक्रबार देशैभरिका ३१ वटा मूल भन्सार कार्यालयका प्रमुखहरुलाई बोलाएर भन्सार असुलीमा शून्य सहनशिलता अपनाएर काम गर्ने र तलमाथि भएको भेट्टामा तत्काल एक्सन लिने चेतावनी दिएकै दिन देशैभरिको भन्सार कार्यालयले सकारात्मक परिणाम दिने गरी राजश्व संकलनमा बृद्धि भएको थियो । सरकारले भन्सारमा कडाई गरेकै दिन व्यापारीहरुले समेत साँचिलो बन्दै सरकारको कदमले औपचारिक व्यापार गर्ने इमान्दार उद्योगीहरुलाई सजिलो भएको प्रतिक्रिया दिन बाध्य भएका थिए । 
हिजो कांग्रेस नेतृत्व देउवा सरकारको पालामा सेटिङमा भन्सार छली गर्दै आएका व्यापारीहरुले नै सरकारको कदमको स्वागत गरेबाट भन्सारमा नयाँ सेटिङ नबन्ने देखिन आएको छ । प्रारम्भिक तथ्याङ अनुसार भन्सारमा बार्षिक एक खर्ब हाराहारीमा सेटिङ हुने गरेको अनुमान गरिएको छ । अझ मुख्य भन्सारमा मात्रै यस्तो निर्देशन पुगेको र छोटी भन्सारमा अर्थमन्त्रीको कडा निर्देशन पुग्दा भन्सार राजश्वबृद्धि दरमा अझै बृद्धि हुने अनुमान गरिएको छ । 
चुस्तदुरुस्त हुन सकेन भन्सार कार्यालय
नेपालको भन्सार अझै अत्याधुनिक प्रविधियुक्त, चुस्त दुरुस्त निकाय हुन सकेको छैन । जो बढि भ्रष्ट छ उसैलाई भन्सारको जिम्मेवारी दिइएको छ । राष्ट्रको ढुकुटी भर्ने निकायमा लेनदेन, नातावादले हुने सरुवाका कारण दक्षता भएका कर्मचारी भन्दा पनि सेटिङमा परिचालन हुनेहरुको हालीमुहाली छ । भन्सार प्रशासनलाई प्रविधिमैत्री, झन्झिटिलो प्रशासनिक भन्दा स्मार्ट शैलीमा काम गर्नेलाई अवसर नदिँदा भन्सार मूल्याङ्कन समेत प्रभावित हुँदै आएको छ । सेटिङमा भन्सारमा पुगेकाहरुले सही र प्रभावकारी मूल्याङ्कन भन्दा पनि आफ्नो हिस्सा प्राप्त गर्नको लागि काम गर्ने हुँदा नेपालको भन्सार कार्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्नामी कमाउन पुगेकोछ । 
साथै सरकारले समेत अत्याधुनिक भौतिक पूर्वाधार, सुविधा सम्पन्न गोदाम तथा चेकजाँच घर निर्माण गर्नतर्फ ध्यान दिन सकेको छैन । त्यस्तै अत्याधुनिक प्रविधिसहतिका भन्सार स्क्यानरहरु जडान नगर्दा छिमेकीको तुलनामा नेपालको भन्सार लज्जास्पद विषय बन्न पुगेका छन् । भारतले सीमा क्षेत्रमा एकीकृत जाँच चौकीहरु निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याईसक्दा समेत नेपालले कार्यान्वयन गर्न नसक्नु, भारततर्फ नेपालको धेरै व्यापार तर, भारतसँगको खुला सीमाको प्रभावकारी नियमन हुन नसक्नुले नेपालमा औपचारिक भन्दा अनौपचारिक व्यापार बढि हुने गरेको छ । 
सांगठनिक स्वरुपमा नेपालको भारत र चीनतर्फ कूल ३१ वटा मूल भन्सार कार्यालयहरु र १४३ वटा छोठी भन्सार कार्यालयहरु रहेका छन् । त्यसमध्येको सबैभन्दा धेरै कारोबार हुने, बीरगन्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र विराटनगर भन्सार कार्यालयहरु हुन् । उल्लेखित भन्सार कार्यालयहरु कुनै पनि स्मार्ट भन्सार संकलन केन्द्रको रुपमा विकास हुन सकेका छैनन् । 

सेटिङले गौर भन्सारमा राजश्व न्यून
देशका मझौला आकारको कारोबार हुने भन्सार मध्येको एक गौर भन्सार कार्यालयमा हुँदै आएको सेटिङका कारण राजश्व संलकन न्यून भएको छ । उक्त भन्सार कार्यालयबाट फागुन १ गतेदेखि १५ दिनसम्म कपडा आयात शून्य रहेको सूत्रको दावी छ । गौर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेसहितको मिलेमतोमा सेटिङ हुँदा भन्सार संकलन न्यून भएको हो । सो भन्सार कार्यालयबाट औपचारिक रुपमा कपडा आयात नभएको भएपनि नेपाली बजारमा गौर हुँदै ठूलो मात्रामा कपडा आएको बताइन्छ । गौर भन्सार कार्यालयका प्रमुखसहितको मिलेमतोमा दैनिक भन्सारमा सेटिङ हुने गरेको सूत्र बताउँछ । 
रौतहटको गौरस्थित भन्सार कार्यालयबाट होजियारी कपडा, सारी, कुर्तासुरुवाल, मुख्य सामान आयात हुने सिजनमा समेत १५ दिनसम्म कपडामा भन्सार सेटिङ हुँदा करोडौं रुपैयाँ राजश्व गुम्न पुगेको सूत्र बताउँछ । 
त्यस्तै रौतहट भनसार कार्यालयमा हाल दुई करोडभन्दा बढिको सामान लिलाम नगरी त्यतिकै राखिएको छ । विभिन्न समयमा प्रहरीले पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सामान लिलामको प्रक्रियाद्वारा राज्यकोषको आयमा बाँधिनु पर्नेमा गौर भन्सार कार्यालयले ढिलाई गरेको आरोप स्थानीयको छ । 
गौर भन्सार धेरै राजस्व चुहावट गरेको तथ्य भन्सार लक्ष्य भन्दा धेरै तल राजश्व संकलन भएबाट समेत पुष्टि हुन्छ । आर्थिक बर्ष २०७४÷०७५को लागि कूल १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउन देखि पुस मसान्तसम्म जम्मा पाँच करोड २२ लाख मात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आवको छ महिनामा कूल सात करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको भन्सार कार्यालय सो अवधीमा न्यून भन्सार संकलन गरेको थियो । रौतहट भन्सार कार्यालयबाट खाद्यान्न, कुखुराको चल्ला, लत्ता कपडा, सिमेन्ट, खानेतेल तथा  चिनि आयात हुँदै आएको छ । स्रोतका अनुसार गौर भन्सार कार्यालयका प्रमुख राजन बाबु काफ्लेसहितका स्थानीय प्रहरी तथा भन्सार चेकजाँचका लागि खटिने सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको मिलेमतोमा सेटिङ हुने हुँदा सबै निकाय तैचुप मैचुपको अवस्थामा भन्सार राजश्व हेराफेरी हुँदै आएको छ । 

कृष्णनगरमा भन्सारमा यस्तो छली
अर्थमन्त्री डा. युवराज खतिवडाले चुनावको समयमा भन्सारका नट बोल्टु खुकुलो भएको चर्चा त्यसै गरेका थिएनन् । भन्सारमा भइरहेको हेराफेरीको दरिलो सूचना पाएर नै अर्थमन्त्री डा. खतिवडाले सो कुरामा जोड दिएको तथ्य कृष्ण नगर भन्सालाई हेरे पनि पुग्छ । 
नेपाल भारत सिमा क्षेत्र कृष्णनगर नाकाबाट भित्रिने ओभरलोडका भारतीय मालबाहक सवारी साधनले राजश्व छलेरै नेपालतर्फ प्रवेश गरिरहेका छन् । भारतको बढनी हुँदै कपिलवस्तुको कृष्णनगर नाका हँुदै भित्रिने अधिकांश भारतीय मालवाहक गाडीले दैनिक करोडौंको राजश्व छली गर्दा समेत भन्सार कार्यालय बेखवर बनेको स्थानीयबासीको भनाई छ । कृष्णनगर भन्सार कार्यालयले नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक सवारी साधनले भार वाहन क्षमता भन्दा दोव्वर तेब्बर बढि लोड लिएर नेपाल आउने र कागजमा उल्लेख गरिएको तौल बराबर मात्रै राजश्व बुझाउने गरेका छन् । 
वाणगंगा यातायात व्यवसायी समितिको सक्रियतामा यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले संयुक्त रूपमा चेकजाँच गर्दा भारतीय मालबाहक गाडीहरूले बास्तविकता भन्दा कम तौलको विवरण देखाउने गरेको रहस्य हालै फेलापरेपछि कृष्ण नगर भन्सार कार्यालयमा भइरहेको भन्सार छलीको तथ्य उजागर भएको हो ।
भन्सारमै तौल पुल अभाव
सवारी साधनको तौल मापन गरी कुन साधनमा कति सामान आयात गरिएको थियो भन्ने विवरण दिन नभई नहुने तौल पुल नहुँदा कृष्णनगर भन्सार कार्यालयको दैनिक कार्य सम्पादन अत्याधुनिक हुन सकेको छैन । 
कृष्णनगर भन्सार कार्यालयका प्रमुख विन्देश्वर प्रसाद लेखकले कार्यालयमा तौल काटा नहुँदा भारतबाटै तौल गरी आएको विवरणलाई विश्वासका आधारमा भन्सार काट्ने बाध्य हुँदै आएको उल्लेख गरेका छन् । 
केही समयअघि ट्राफिक प्रहरीले चलाएको चेकजाँच अभियानमा ठूलो मात्रामा तौलमा ठगी हुँदै आएको तथ्य उजागर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको भनाई छ । सो कार्यालयले ओभरलोड गाडीलाई नियम अनुसार जरिवाना गरी पठाउने गरेको छ । तर, ओभरलोडका सामग्रीको कर छली हुने गरेको छ । स्रोतका अनुसार ३५ टन बोक्ने क्षमता भएका ट्रकहरूले ७०÷८० टन सम्म सामान लिएर आउने र जम्मा ३५ टनको मात्रै कर तिर्ने गरेका छन् । 

Related News