​मंगलबारदेखि काठमाडौंका भित्री सडकमा सवारी निषेध

दृष्टि न्यूज


 काठमाडौँ, २७ पुस।
मंगलबारदेखि राजधानीमा भित्री सडकहरुमा चारपांग्रेस सवारी साधान निषेध गरिने भएको छ।  
सहरी क्षेत्रको मौलिकतालाई बढ्दो सवारी अव्यवस्थाले अतिक्रमण गरेका कारण केही भागमा पूर्ण र केही भागमा आंशिक रुपमा काठमाडौं महानगरपालिकाले सवारी निषेध गर्न लागेको हो। महानगरको यो निर्णय माघ २ गतेबाट लागू हुनेछ। 

कहाँकहाँ निषेध?
काठमाडौं महानगरका अनुसार भोटाहिटीदेखि असनसम्मको दुईतर्फी सडकमा चारपांग्रे सवारी पूर्ण रुपमा निषेध हुनेछ। त्यस्तै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुतर्फको सडकमा पनि चारपांग्रे सवारी गुडाउन पाइनेछैन।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी रुपमा चारपांग्रे सवारी लैजान सकिनेछ। यसरी एकतर्फी गरिएका अन्य सडकमा टेङ्गालबाट बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोकसम्मको सडक, क्षेत्रपाटीबाट ठँहिटी हुँदै नघल बाङ्गेमुढा, भेडासिंह हुँदै इन्द्रचोकसम्मका सडक रहेका छन्।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आधुनिक सुविधा उपयोग र मौलिकताको संरक्षण अन्तर सम्बन्धित विषय रहेकाले दुवै पक्षलाई सन्तुलन गरे मात्र सुविधा भोग र मौलिकता संरक्षण हुने बताइन्। काठमाडौंमा पर्यटकको आकर्षण बढाउन, स्थानीयको आय बढाउनका लागि अहिलेको अस्तव्यवस्तामा सुधार गर्नैका लागि महानगरले यस्तो निर्णय गरेको उनको भनाइ छ।

Related News