उपराष्ट्रपति चीन प्रस्थान

काठमाडौं, २८ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार चीन भ्रमणका लागि सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको साताव्यापी भ्रमणमा निस्किएका हुन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो ।
विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीगण, कूटनीतिक नियोगका प्रमुख, मुख्य सचिव, प्रधानसेनापतिलगायतले बिदाइ गरेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मानगारत अर्पण गरेको थियो ।
युनान प्रान्तको कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र २४औं चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिने कार्यक्रम छ । उपराष्ट्रपति चीन भ्रमण सकेर असार २ गते स्वदेश फर्कनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना रहेको जनाइएको छ ।
उपराष्ट्रपतिले बिहीबार आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण सफलताको शुभकामना दिँदै भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका थिए ।

Related News