​भोलिका लागि ओली

शम्भु श्रेष्ठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा पत्रकार सम्मेलनमा नेपाली जनताको आशा जगाउँदै भने– ‘ओलीका लागि ओली होइन, भोलिका लागि ओली हो । प्रधानमन्त्री, पार्टी अध्यक्ष सबै भइसकेँ । अब टुप्पीभन्दा माथि पुग्ने ठाउँ छैन । त्यसैले अब मेरो ध्यान देशको राजनीतिक स्थिरता, सुशासन र समृद्धिमा केन्द्रित हुनेछ ।
राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिको कुरा एमाले अध्यक्ष ओलीको हरेक भाषणमा सुन्न पाइन्छ । त्यसप्रति ओलीको दह्रो प्रतिबद्धता पनि छ । तर, उनको त्यो ‘रोडम्याप’मा ‘स्पिड ब्रेकर’ लागेन भने मात्रै उनको सपना पूरा हुनेछ । त्यसका लागि उनले पार्टीभित्र र बाहिर सन्तुलन मिलाउन सक्नुपर्छ । जुन जोश, जाँगर र आँटका साथ उनले राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिका कुरा गरेका छन्, त्यो पूरा गर्न उनले आफ्नो स्वभाव र शैलीमा पनि परिवर्तन गर्नैपर्ने हुन्छ ।
भावी प्रधानमन्त्रीका रुपमा उनलाई नेपाली जनताले हेरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको कारण उनले धेरै कुरा गर्न पाएनन् । तर, नाकाबन्दीबाट निराश जनतालाई आशाको सञ्चार गराउन भने उनी सफल भए । देश आत्मनिर्भर नबन्दा छिमेकीको नाकाबन्दीले कति ठूलो पीडा हुँदोरहेछ भनेरै आत्मनिर्भरताका लागि उनले नेपाली जनतामा सपना मात्रै बाँडेनन्, उत्तरतर्फको सम्भावनाको ढोकासमेत खोलिदिए । त्यति मात्र होइन, नेपाली जनताको रगतको कणकणमा राष्ट्रियताको विजारोपण समेत गराए । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताप्रति ओलीको यही अडानको प्रतिफल हो, अहिलेको नेपाली जनमत ।
यो जनमतबाट भारतीय बुद्धिजीवीहरुसमेत तर्सिएका छन् । भारतीय सञ्चार माध्यमहरुमा दिनहुँ वाम गठबन्धनले पाएको सफलताको विश्लेषण गरिँदैछ । वाम गठबन्धनको सरकार बनेपछि अब भारत सरकारले नेपाललाई हेर्ने दृष्टिकोण कस्तो बनाउँछ भन्ने प्रमुख विषय हो । नेपाल धन बिनाको धनी देश त हो, तर आर्थिक विकासका लागि वैदेशिक लगानी आवश्यक पर्छ । त्यसका लागि दुवै छिमेकीसँग सन्तुलन मिलाउन सकिएन भने आर्थिक समृद्धिको सपना आकाशको फलमा परिणत हुन सक्छ । भारतीय मिडियाहरुले वाम गठबन्धनको सरकारलाई असफल पार्न ओलीलाई चिनियाँ निकट भनेर चर्चामा ल्याइरहेका छन् । ओली न त चीन न त भारत समर्थक नै हुन् । उनी सच्चा नेपाली पुत्र हुन् भन्ने कुरा उनका बोली र व्यवहारले प्रष्ट पार्नुपर्ने छ । किनभने नेपालको सम्पूर्ण व्यापार अहिले पनि भारत निर्भर छ । नेपालमा स्थापित अधिकांश उद्योग भारतीय लगानीका छन् । नेपालको अर्थतन्त्रमा भारतको बलियो पकड भएको कारण भारतलाई विश्वासमा नलिइकन नेपालको आर्थिक विकास सम्भव छैन । त्यसमाथि जलस्रोतमा भारतीय कम्पनीहरुले ठूलो लगानी सम्झौता गरेका छन् । ती आयोजनाहरु समयमै पूरा गर्न र पञ्चेश्वर जस्ता आयोजनालाई गति दिन पनि भारतसँग सहयोगको हात बढाउनुको विकल्प हामीसँग छैन ।
भारतीय मिडियामा नेपाली जनमत ओलीको पक्षमा ओर्लनुको प्रमुख कारण नाकाबन्दीलाई ठम्याइएको छ । नेपालमा संविधान बन्दै गर्दा विदेशसचिव एस जयशंकर आएर संविधान रोक्ने जुन कार्य गरे त्यो पनि नेपाली जनमत भारतविरोधी बनाउने अर्को कारण बन्यो भन्ने विश्लेषण गरिएको छ । विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा नेपालसँग सम्बन्ध सुधार्नका लागि जे जस्तो प्रतिबद्धता जाहेर गरेका थिए, त्यो प्रतिबद्धताविपरीत भारत सरकारको व्यवहार भएकोले पूरै नेपाली जनमत वाम गठबन्धनमा उर्लिएको ठम्याई बुद्धिजीवीहरुको रहेको छ । यस हिसाबले हेर्दा पनि भारत सरकारले नेपालसँग सम्बन्ध सुधार गर्न नयाँ ढंगले सोच्नुपर्ने अवस्था छ । नेपालले पनि अब नयाँ ढंगबाट भारतसँग सम्बन्ध सुधार गर्दै जानुको विकल्प छैन । विगतमा भारतले जे जस्ता गल्ती कमजोरी ग¥यो, त्यसलाई अब दोहो¥याउनु हुँदैन । भारतको चासो के मा छ र के मा छैन भन्ने कुरा नेपालका नेताहरुले नबुझेका होइनन् । तर, ती चासोहरु हाम्रा नेताहरुले चाहेर पनि पूरा गर्न सक्ने अवस्था छैन । किनभने विगतका गल्तीहरु पनि भारतकै चाहनामा भएका गल्ती हुन् भन्ने कुरा भारतीय नेताहरुले बुझ्नुपर्छ ।
त्यसैगरी छिमेकी चीनले पनि नेपालको पूर्वाधार विकासमा ठूलो चासो राख्दै आएको छ । केरुङ–काठमाडौं, पोखरा–लुम्विनीसम्मको रेलमार्ग, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि जलस्रोतमा चिनियाँ चासो पनि बढ्दो छ । यी दुई छिमेकीलाई सन्तुलनमा राख्न सकियो भने ओलीले भनेझैं पाँच÷दश वर्षभित्र नेपाली जनताले आर्थिक समृद्धिको अनुभूति गर्न पाउनेछन् । त्यसका लागि वाम गठबन्धनको एक घटक माओवादीलाई समेत विश्वासमा लिनुपर्ने हुन्छ । चुनावी गठबन्धनको सफलतापछि पार्टी एकतामा लागेका ओलीले यी कामलाई पनि सजिलै पार लगाउन सके भने नेपालको राजनीतिमा स्थिरता मात्र होइन, वैदेशिक चलखेलको पनि अन्त्य हुनेछ ।

Related News