​‘भुसभित्रको भुंग्रो’ बन्दैछ पार्टी एकता

दृष्टि न्यूज

काठमाडौं । निकै अन्योलका बीच गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच नाटकीयरुपमा पार्टी एकता घोषणा गरियो । निर्वाचन आयोगमा समेत एकीकृत दल नेकपा दर्ता भइसकेको छ । केन्द्रीय तहको महत्वपूर्ण जिम्मेवारी टुंग्याइएको छ र अब जनवर्गीय तथा भातृ संस्था र मातहतका संगठनको एकीकरण प्रक्रिया अगाडि बढाउनुपर्नेछ । तर, नेतृत्व तहमा दुई अध्यक्ष, हाई कमान्ड, महासचिव, स्थायी समिति र केन्द्रीय कमिटीमा मनोनय गर्दा र जिम्मेवारी तोक्दा नेकपाभित्र व्यापक असन्तुष्टि बढेको छ ।  यसैगरी असन्तुष्टि चुलिँदै गएमा नेकपाको भविष्य कहाँ गएर टुंगिन्छ यसै भन्न सकिने अवस्था छैन । किनभने माओवादी–एमाले पार्टी एकता हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक भविष्यलाई केन्द्रविन्दुमा राखिएको छ भने नवौं महाधिवेशनबाट चुनिएर आएका पदाधिकारीलाई भविष्य समाप्त हुने गरी रद्दीको टोकरीमा फालिएको छ । अहिले भर्खरै पार्टी एकता भएका कारण एमालेका निर्वाचित पदाधिकारीहरुले प्रतिक्रिया बाहिर ल्याएका छैनन् । तर, आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एक आपसमा छलफल जारी राखेका छन् ।
दुई पार्र्टी एकीकरण गर्दा महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष, महासचिव, उपमहासचिवहरुलाई पाखा लगाइएको छ । कसलाई के आधारमा कुन जिम्मेवारी दिइयो भन्ने कुरा पार्टीभित्र छलफल नगरिएको कारण नेकपाभित्रको असन्तुष्टि भुसभित्रको भुंग्रो बन्दैछ । एकीकरणका लागि अन्तरिम विधान निर्माण गरिए पनि त्यसअनुरुप निर्णय भएनन् । उपाध्यक्ष भीम रावल, युवराज कार्की, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल लगायतलाई पाखा लगाएर गरिएको निर्णयप्रति देशव्यापी संगठनमा असन्तुष्टि बढेको छ । यसको असर तल्लो तहको कमिटी समायोजनमा पनि निश्चित छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीलाई दबाबमा पारेर आफूअनुकूल निर्णय गराउँदै गएको बुझाइ पूर्वएमाले पंक्तिमा छ । विगतमा अप्ठेरो अवस्थामा ओलीलाई साथ दिएका प्रभावशाली नेताहरुलाई किनारामा धकेल्ने निर्णयले एमालेप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएका नेताहरुसमेत पोखरेलप्रति सहानुभूति राख्न थालेका छन् । यसले एकीकृत पार्टीभित्र नयाँ प्रकारको ध्रुवीकरणको सम्भावनालाई बल पु¥याएको छ ।
कतिसम्म भने केपी ओली प्रधानमन्त्री भइसकेपछि मन्त्रीका लागि दौरा सुरुवाल लगाएर शितल निवास पुगेका महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री पदको शपथ नै नलिइकन निराश भएर घर फर्किएका थिए । ओली प्रधानमन्त्री नियुक्त भएपछि गत फागुन ३ गते ओलीले कसैसँग सल्लाह नै नगरी लालबाबु पण्डित र थममाया थापालाई मन्त्री पदमा नियुक्त गरेका थिए । त्यति मात्र होइन, गत जेठ १८ गते उपेन्द्र यादवलाई मन्त्री पदको शपथग्रहण गराउन पनि शितल निवासमा ठूलै लफडा भएको थियो । उपेन्द्र यादवलाई पाँच बजे शपथ खुवाउन राष्ट्रपतिकहाँ समय मिलाइएको भए पनि उपेन्द्र यादवले या त प्रधानमन्त्रीपछिको दोस्रो वरियता वा उपप्रधानमन्त्रीको दाबी गरेपछि प्रधानमन्त्री ओली र प्रचण्डको ओठमुख सुकेको थियो । यादव आफ्नो अडानबाट नहटेपछि प्रधानमन्त्री ओली आफ्नो प्रतिबद्धताविपरीत यादवलाई उपप्रधानमन्त्री नियुक्त गर्न बाध्य भएका थिए । त्यस दिन चार बजे नै शितल निवास पुगेका रक्षामन्त्री ईश्वर पोखरेल निराश मुडमा थिए । पछि कुरा बुझ्दै जाँदा यादव उपप्रधानमन्त्री भएपछि आफ्नो पनि बढुवा भएकोमा पोखरेल प्रशन्न देखिन्थे । तर, पहिला नै महासचिवको हैसियतले पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री माग्दा प्रधानमन्त्री ओली उनको दुईवटै माग अस्वीकार गरेका थिए ।
पूर्वएमाले र माओवादीबीच भावनात्मक सम्बन्ध र सम्पर्क बढाउँदै लैजानुपर्नेमा बलियो र ऐक्यबद्ध पूर्वएमाले संगठनभित्रै पीडाको सञ्चार गराउने नेतृत्वको निर्णयले असन्तुष्टि झनै बढाएको छ । नजिक हुनुपर्ने कार्यकर्ता टाढिँदै छन् । उत्साहको ठाउँ निराशाले लिँदै छ । विश्वासको ठाउँ आशंकाले भरिँदैछ । यसले नेकपा सुगठित हुनुपर्नेमा झन्झन् मक्किँदै र खल्बलिँदै गएको महसूस कार्यकर्ता पंक्तिमा भएको छ ।
एमाले अध्यक्ष ओलीले आउँदो महाधिवेशनमा प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण मिलाइँदा एमाले कार्यकर्ताभित्रको यो असन्तुष्टिले प्रचण्डको सपनामाथि तातोपानी खन्याउने त होइन भन्ने आशंका जन्मिएको छ । एकातिर प्रचण्डले आफू कार्यकारी राष्ट्रप्रमुख बन्न चाहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् भने अर्कोतिर उनले एमालेलगायत संसदको दुई तिहाई शक्तिलाई आफूतिर केन्द्रित हुने वातावरण बनाइरहेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतमा एमालेप्रति जुन हदसम्मको तिक्तता प्रस्तुत गरिरहेका थिए, प्रचण्डप्रति उनको निकटता उत्तिकै थियो । यतिखेर प्रचण्डले आफ्नो पार्टीका वरिष्ठ नेताहरुलाई पन्छाएर उपेन्द्र यादवलाई सहजै उपप्रधानमन्त्री दिन तयार हुनुले समेत नेकपाभित्र र सत्ता गठबन्धनमा नयाँ प्रकारको खिचडी पकाइँदै त छैन भन्ने शंका जन्माएको छ ।
दुई–दुईपटक निर्वाचित महासचिव भएका पोखरेललाई एकीकृत पार्र्टीको महासचिव नपत्याउनुलाई मानमर्दनका रूपमा टिप्पणी गरिएको छ । पार्टी एकता आमकार्यकर्ताको सपना भए पनि लामो समयको योगदान रहेका नेताको मानमर्दन गरिनु महाधिवेशनमा व्यक्त म्यान्डेटकै मानमर्दन हुनु हो भन्ने धेरै नेताको ठम्याइ छ । यसैगरी प्रचण्डको इशारामा ओलीले निर्णय गर्दै जाने हो भने ओली र प्रचण्ड दुई नेताको सौदाको विरोधमा कार्यकर्तापंक्ति जुनसुकै बेला विष्फोटक बन्न सक्नेछ । 
भित्रभित्रै बढेको असन्तुष्टि एकीकृत बन्दै र नयाँ प्रकारको धु्रवीकरण हुँदै जाँदा प्रचण्डले विगतमा आफ्नो पार्टीलाई जसरी धुलीसात पारेका थिए, त्यसैगरी एकीकृत पार्टीलाई समेत त्यही अवस्थामा पु¥याउन सक्ने आकलन बामपन्थी विश्लेषकहरुको छ । प्रचण्डले आफ्नो सुरक्षा र एमाले कब्जा गर्ने सुविचारित ढंगले अघि बढाएको रणनीतिको सहज प्रयोगशाला नेकपा बन्न पुग्दा धेरै शुभचिन्तकलाई अत्याएको छ । 
एमालेभित्रको एकता, प्रतिबद्धता र भावनात्मक लगावलाई भड्काउँदै भाँडभैलो मच्चाउँदै आफ्नो भूमिका स्थापित गर्न प्रचण्डले खोजेका हुन् भने त्यो झनै खतरनाक हुनेछ । प्रचण्डले भावनात्मक रुपमा पार्टी पंक्तिलाई विश्वासमा लिएर अघि बढ्नुको साटो पूर्वएमालेमा राडाको मच्चाएर, असन्तुष्टि बढाएर र पार्टी पंक्तिमा विभाजन ल्याएर आफू स्थापित हुन खोजेमा त्यो उल्टो बाटो हुनेछ । त्यसले प्रचण्डको अभीष्ट त पूरा हुने छैन नै, पार्टी विघटनको दाग उनको निधारमा फेरि एकपटक लाग्नेछ । साथै, त्यसका दोषभागी एमाले अध्यक्ष ओली पनि हुनेछन् । 
एकता अगाडि र पछाडि एमालेभित्रको असन्तुष्टिलाई बुझ्न नसक्नु ओलीको ठूलो कमजोरी हो । प्रचण्ड र ओलीले आफ्नो स्वार्थका लागि पार्टी एकता गरे पनि एमालेका भावी नेताको भविष्यका विषयमा ओलीले केही नसोचेको गुनासो छ । अहिले पार्टी एकता भएकोले एमालेका नेताहरु ‘पर्ख र हेर’को स्थितिमा छन् । यो स्थिति भनेको विस्फोटको स्थिति हो ।

Related News