​अवार्ड शब्दकै ‘बेइज्जत’

​एमपी सुब्बा

एमपी सुब्बा । ‘मलाई सबैथोक दिनु । तर, अवार्डचाहिँ नदिनु । अवार्ड थापेर बेइज्जत हुनु छैन’ एक चर्चित कलाकारले यसो भनिरहँदा आइतबार राजधानीमा एक फिल्म अवार्ड तामझामका साथ हुँदैथियो । तर, ती कलाकार अनामनगरस्थित एक क्याफेमा गफ चुट्दैथिए, ‘जमाना पनि के आयो । अहिले त अवार्ड दिनेलाई भन्दा लिनेलाई लाज ।’
हो, पछिल्लो समय ‘अवार्ड’ भन्ने शब्दकै बेइज्वत हुन थालेको छ । ती कलाकारको नाम उल्लेख नगरौँ । तर, तिनको कुरा धुव्रसत्य छ । राष्ट्रिय सभागृहमा धमाधम अवार्ड बाँडिँदै गर्दा ती कलाकारलाई क्याफेमा भेटिनु आफैमा अवार्डप्रति वितृष्णाको उदाहरण हो ।
काम, नाम र शानका हिसाबले अवार्डका दाबेदार उनी क्याफेमा अवार्ड गर्ने आयोजकलाई गाली गर्दैथिए, ‘आफ्ना, आफन्त र पैसाका लागि अवार्ड गर्न थालियो । नत्र यति सानो नेपाली फिल्मी बजारमा दर्जनौँ अवार्ड किन गरिन्छ ? आयोजकहरुले आफ्ना र पैसामा अवार्ड बेच्न थालेपछि अवार्डकै बेइज्वत भएको छ । अवार्ड समारोहमा मुख देखाउनुसमेत लाज लाग्न थाल्यो ।’
कुनै समय अवार्डको गरिमा थियो । यतिसम्मकी अवार्ड समारोह हेर्न जानलाई ‘पास’ पाउन समेत गाह्रो हुन्थ्यो । तर, पछिल्लो केही वर्षयता अवार्ड समारोहमा नोमिनेशनमा परेका कलाकाकारसमेत जान छाडेका छन् । आयोजक हेरी ‘कसलाई अवार्ड दिइँदैछ भन्ने पहिल्यै थाहा हुन थालेपछि राम्रा र ख्यातीप्राप्त कलाकार कार्यक्रममै जान छाडेका छन् । आइतबार आयोजना भएको ‘एलजी फिल्म अवार्ड–२०७५’ त्यस्तै सावित भएको छ । बलिउड अभिनेता गोविन्दालाई विशेष अतिथि बनाएर बाँडिएको उक्त अवार्डप्रति अधिकांश कलाकार तथा पत्रकार सन्तुष्ट छैनन् । 
अवार्ड सकिनु नपाउँदै सामाजिक सञ्जाल फेसबुक र ट्विटर अवार्डप्रतिको तिखो ब्यंग्यले रंगिए । सामाजिक सञ्जाल फेसबुकमा चलचित्र पत्रकार लक्ष्मण सुबेदीले स्टाटस पोष्ट गरे, ‘अवार्ड मात्रै होइन, फिल्म पनि पाउनु प¥र्यो मित्र (दिनरात त्यही अवार्ड हेरेर बस्नु) हाउ टु कम्जुम टाइम गड ।’ पत्रकार सुबेदीको यो ब्यंग्य अवार्ड पाउने कलाकारलाई भन्दा दिने आयोजकप्रति थियो किनकि, हरेक कलाकार ‘उत्कृष्टता’को बिल्ला भिर्न चाहन्छन् । त्यसका लागि पैसा खर्च गर्न समेत तयार हुन्छन् । उनीहरुलाई लाग्छ, ‘अवार्ड पाएपछि दर्शक तथा श्रोताको नजरमा उत्कृष्ट भइन्छ ।’ यस्तो अवस्था कुनै समय थियो पनि । तर, हाल समय बदलिएको छ । अवार्डेड हुने कलाकारलाई उल्टै आरोप लाग्छ, ‘यसले अवार्ड किन्यो ।’
हो, अवार्ड ती कलाकारले किन्न पनि सक्छ । तर अवार्ड किन्नु उसको गल्ती होइन । गल्ती त त्यो आयोजकको हो, जसले ‘पैसाका लागि अवार्ड बिक्री गर्छ । कलाकारले अवार्ड किन्नुको कारण ‘अमेरिका र युरोपतिरको भिषा लगाउन सजिलो होला’ भन्नलाई हो । 
यस्तै, आवार्ड आयोजक र कलाकाकारको मानसिकतालाई ब्यंग्य गर्दै कान्तिपुर दैनिकका फिल्मी पत्रकार सुशील पौडेलले सोमबार आफ्नो फेसबुक एकाउन्टमा लेखे,  ‘नेपाली फिल्म अवार्ड बदनाम हुनुमा अमेरिकी भिषा काउन्सिलरको ठूलो हात छ । तपाईलाई के लाग्छ ?’ पत्रकार सुशीलको उक्त स्टाटसमा थुप्रै पत्रकार र कलाकारले कमेन्ट गरेका छन् । उनीहरुले लेखे, ‘सहि कुरा ।’ कुनै पनि कलाकारले विदेश एप्लाई गर्दा काउन्सिलरले ‘वायोडाटा’ माग्ने गर्छ । जसमा अवार्डेड भएकालाई प्राथमिकता दिएको पाइन्छ । कलाकारहरु विदेश जाने क्रम बढेसँगै अवार्ड आयोजक पनि च्याउसी उम्रिएका छन् । उनीहरु कार्यक्रम आयोजना एक महिना अगाडिदेखि नै ‘अवार्ड’ चाहिने कलाकारको खोजीमा जुटेका हुन्छन् । बाहिर मासलाई देखाउनलाई मात्र ‘उत्कृष्ट पाँच मनोनयन’ सार्वजनिक गरिएको हुन्छ ।
अमेरिकामा भिषा हान्ने दाउमा अवार्ड किनबेच हुनेप्रति ब्यंग्य गर्दै फोटो पत्रकार वर्षा शाहले बुँदागतरुपमा स्टाटस लेखेकी छन्, ‘अवार्ड केका लागी ? १. अमेरिका भिषा, २. पैसा कमाउन, ३. हनिमुन मनाउन, ४.कलाकार प्रोत्साहन ।’ 
यसरी दिनानुदिन अवार्डको बेइज्वत भइरहेको अवस्था पनि अवार्ड आयोजना गर्ने आयोजकहरुले भने सल्बलाइरहेका छन् । उनीहरुलाई अवार्डप्रतिको बढ्दो वितृष्णाको कुनै वास्ता छैन किनकि आयोजकलाई राम्रा र चर्चित कलाकारले अवार्ड बहिस्कार गरेर केही फरक पर्दैन । ख्याती प्राप्त कलाकारले आफ्नो हैसियत गिराएर अवार्डका लागि पैसा खर्च गर्दैनन् । त्यसैले जो पछाडि परेको छ, जसले फिल्म पाउन छाडेको छ । तिनीहरु लक्षित अवार्ड आयोजना गरिन थालिएको छ यहाँ ।   
पछिल्लो तीन वर्षयता अवार्ड समारोहमा कलाकारको सहभागिता हुन छाडेकोप्रति निश्चल भट्टराई फेसबुकमा स्टाटस लेख्दै यसरी ब्यंग्य गरेका छन्, ‘कुन दिन पक्कै समाचार पढ्न पाइन्छ ‘नेपाल’मा को कलाकार छ हँ ? अवार्ड दिनु प¥र्यो क्या भन्ने दिन पनि आउने छ । धेरै भएमा माफ पाम । प्रोडक्टको बजार प्रमोशन नै पुरस्कार बितरणको रुपमा आउन लाग्यो त ।’ 
होे, त्यो दिन आउला होइन । आइसकेको छ यहाँ । गएको असार अन्तिमतिर राष्ट्रिय सभागृहमै आयोजना भएको एक अवार्ड कार्यक्रममा ‘टप पाँच’मा मनोनयन भएका कलाकार समेत ५० प्रतिशत देखिएनन् । त्यो मात्र होइन । गएको बैशाख यता मात्र विभिन्न नाममा ९ वटा अवार्ड कार्यक्रम भए । तीमध्ये केही विदेशमा समेत गरिएको थियो । त्यसरी विदेशमा गरिएको अवार्डमा जसले जुन देशमा अवार्ड ग¥यो, त्यो देशमा जान–आउन र बस्नलाई खर्च निकाल्न सक्यो । त्यसैलाई ‘उत्कृष्ट अभिनेता, अभिनेत्री, गायक, गायिक र मोडल भन्दै अवार्ड दिइएको थियो । कुनैलाई विदेशमा दिइएको अवार्ड भन्दै अनामनगर र पुतलीसडक चिया गल्ल्लीमा अवार्ड हस्तान्तरण गरिएको थियो । त्यो दृश्य ‘गर्नेलाई भन्दा देख्नेलाई लाज...’ भने जस्तै भएको थियो । त्यसले र, ‘अवार्डको गरिमा के हो ?’ भन्ने प्रश्न समेत उठाएको छ । 
अवार्डेड हुनका लागि आफू सक्षम छु कि छैन भन्ने कलाकार सयंमले पनि बुझ्नुपर्छ । यसैलाई लक्षित गर्दै बरिष्ठ गायक तथा फिल्म निर्देशक राजन राई सोमबार फेसबुकमा स्टाटस लेखे, ‘अवार्ड त पैसा खन्याएर अथवा आयोजक र स्पोन्सर रिझाएर पनि लिन सकिन्छ, तर कला संगीतमै रमाउने हो भनेचाहिँ रियाज र अभ्यासतिरै नलागी सुख्खै छैन । तपाइँको ल्याकतले तपायँले उठाएको अवार्ड डिजर्भ गर्दैन भने दर्शकले कुरा बुझी हाल्नेछन ।’
पछिल्लो समय यसरी हामी कहाँ ‘अवार्ड’को बेइज्वत हुँदै आएको छ । यस्ता कार्यक्रमबाट अवार्डेड हुने कलाकार र आयोजक त खुसी होलान््, त्यो बेग्लै कुरा तर, जसलाई ‘उत्कृष्ट’ भन्दै अवार्डेड गरिएको छ । त्यसले पछिल्लो समयका उम्दा कलाकारलाई हत्सोसाहित समेत गरेको छ । 
‘राम्रा र दर्शकले रुचाएका कलाकारलाई सम्मान तथा प्रोत्साहनस्वरुप अवार्ड दिनुपर्छ’ भन्ने मान्यता गुमेपछि काम गरिररहेका कलाकारलाई अवार्डप्रति वितृष्णा हुन सामान्य हो । तर, पछिल्लो चरणको अवार्ड ‘बिक्री’मा राखिन थालेपछि अधिकांश कलाकारले अवार्ड बहिष्कारसमेत गर्न थालेका छन् ।  

Related News