सेर्तुङ पुगेर सकियो धार्मिक प्रवचन तथा ‘वाङ’

काठमाडौं, १६ पुस । योङ डु«क्पा एसोसिएसनले नेपालले आयोजना गरेको धार्मिक प्रवचन तथा वाङ (अभिषेक) कार्यक्रम धादिङको सेर्तुङ पुगेर सम्पन्न भएको छ । कास्कीको रामघाट, पोखरा, सिन्धुपाल्चोकको बाखाङ तातोपानी, दोलखाको सुस्पा हुँदै सेर्तुङमा कार्यक्रम गरिएको उक्त संस्थाले जनाएको छ । 

उक्त कार्यक्रममा ड्रुक्पा कग्र्यु परम्पराको प्रमुख धर्मगुरु नवौं अवतार शरण नायक ग्यावा दोखाम्पा (खाम्टुल रिम्पोछे)को उपस्थिति थियो । विश्व ड्रुक्पा परिषद्का अध्यक्षसमेत रहेका उनले कार्यक्रममा धार्मिक प्रवचनसहित सहभागी सम्पूर्ण भक्तजनलाई वाङ (अभिषेक) प्रदान गरेका थिए । ‘बुद्ध भगवान जन्मेको हाम्रो देश नेपालमा बुद्ध धर्म, शिक्षालाई संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गरी बुद्ध धर्म र शिक्षालाई गाउँ, बस्तिहरुको कुना काप्चा सम्म फैलाउनको लागि यस कार्यक्रम आयोजना गरिएको थियो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरि यस धार्मिक प्रवचन तथा वाङ (अभिषेक) माध्यमबाट मानिसहरुको मनमा करुणा, सद्भाव र भाईचाराको भावना जागृत हुन मद्दत पुगोस र आज विश्वमा दिन–दिनै फैलिँदै गएको अशान्ति, भातृत्व र भाइचाराका सद्भावहरु फैलियोस् भन्ने कामनासहित यो कार्यक्रम आयोजना गरिएको थियो ।’

Related News