प्रचण्डः उद्देश्य र गन्तव्य ?

शम्भु श्रेष्ठ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भाषण गरेर नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जति उचाले पनि प्रचण्डले त्यो उचाई थाम्न सकेका छैनन् । एउटा उद्देश्य लिएर जनयुद्ध थालेका प्रचण्ड, अर्कै गन्तव्यमा फसेपछि मुलुक यो दुर्गतिबाट गुज्रन परेको हो । सशस्त्र युद्धबाट राज्यसत्ता कब्जा गर्ने रणनीति बोकेका प्रचण्ड अस्त्र छाडेर शास्त्रमा परिणत भएपछि देश विखन्डनसम्मको अवस्थामा आइपुगेको हो ।
नेपालको राजनीतिमा माओवादीको उदय नहुँदासम्म जातीय र क्षेत्रीय द्वन्द्वको अवस्था थिएन । हिमाल, पहाड र तराईका जनता मिलेरै बसेका थिए । सबैमा हामी नेपाली हौं भन्ने भावना थियो । तर, द्वन्द्व चर्काएर देशलाई खरानी बनाउने उद्देश्यले माओवादीले जातीय राज्यको मुद्दालाई चर्कायो । त्यसले माओवादीलाई क्षणिक लाभ भएको भए पनि मुलुकलाई भने ठूलो चोट पु¥याएको छ । हरेक स्वाभिमानी नेपाली जनता त्यो चोटबाट मर्माहत हुन पुगेका छन् । यो स्थितिबाट देश र जनतालाई जोगाउन सकिएन भने संविधानले मात्रै देश बचाउन सक्दैन । देश भनेको सबै नेपाली जनताको भावनालाई समेटिएको एउटा भूगोल हो । त्यसको पहिचान भनेको त्यस देशको भाषा, संस्कृति, परम्परा र राष्ट्रिय एकता हो । नेपालमा सयभन्दा बढी जनजाति भए पनि अहिलेको जस्तो विद्रोहको स्थिति नेपाल एकीकरणदेखि अहिलेसम्म देखिएको थिएन ।
तर, दुर्भाग्य सिंगो नेपाली जनताको भावनालाई प्रचण्डले सम्हाल्न सकेन । जनयुद्धमा असफल प्रचण्डले शान्ति प्रक्रियामा आएर पनि नेतृत्व क्षमता देखाउन सकेनन् । फलस्वरुप उनकै पार्टी टुक्राटुक्रा भयो भने प्रचण्डकै कारण राजनीतिक द्वन्द्व सिर्जना भएको छ । विश्वका जुनसुकै देशमा पनि राजनीतिक परिवर्तनपछि केही असन्तुष्टिहरु देखिनु स्वभाविक हो । त्यस्ता असन्तुष्टिलाई समय अनुकूल परिमार्जन गर्दै जानु लोकतान्त्रिक विधि हो । तर, नेपालमा नेताहरुको असफलताको कारण जारी संविधान पनि कार्यान्वयन हुन सकेको छैन । यो राजनीतिक दलका नेताहरुको नालायकी हो । किनभने हिजो संविधान बनाउँदा एक ठाउँ उभिएका राजनीतिक दलहरु त्यो संविधान कार्यान्वयन गर्ने बेला नदीका दुई किनारा भएका छन् । यो जनताप्रतिको बेइमानी हो ।
नेपाली जनताले गणतन्त्रको माध्यमबाट शान्ति र समृद्धि खोजेका थिए, न कि प्रदेश । नेपाली जनताको इच्छाविपरीत प्रदेश थोपरिएपछि त्यो प्रदेशलाई पनि स्वीकार गरेका थिए । तर, फेरि अहिले आएर प्रदेश टुक्र्याउने जुन प्रयास भएका छन्, त्यसले जनतालाई थप विद्रोही बनाउँदै गएको छ । त्यति मात्रै होइन अंगिकृतलाई राज्यको माथिल्लो अंगमा पु¥याउने अधिकार, हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने जस्ता कुराले प्रचण्डजस्ता महान् नेताको पतनको दिन सुरु भएको हो कि भन्ने संके गरेको छ । मैले धेरै वर्ष अगाडि पनि एउटा लेखमा भनेको थिएँ– गोर्वाचोभ देश टुक्र्याउन रुसका राष्ट्रपति बनेका थिएनन् । तर, उनलाई त्यो बाटो अवलम्वन गर्न अमेरिकाले उक्यायो । जब रुस विघटन भयो, तब मात्रै गोर्वाचोभले आफू राष्ट्रबिनाको राष्ट्रपति बनेका चेत पाए । ठिक त्यस्तै प्रचण्डलाई पनि कसैले गोर्वाचोभ बनाउन उस्क्याइरहेका छन् । उनले यो कुरा समयमै चाल पाउन सकेनन् भने देश त जनताले बचाउलान् नै, उनको हालत गोर्वाचोभकै जस्तो नबन्ला भन्न सकिन्न ।

Related News