​वाइडबडीले काठमाडौंमा टेक्यो

दृष्टि न्यूज

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ए ३३०–२०० गत बिहीबार त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको धावनमार्गमा अवतरण गर्दा सिंगो नेपालीको मन खुशीले गद्गद् भयो । नयाँ जहाज हेर्न एयरपोर्टमा सयौंको भीड जम्मा भयो । संसारभरका सञ्चार माध्यममा नेपाल वायुसेवा निगमको समाचारले प्रमुखता पायो । हुन पनि निगमले खरिद गरेको जहाज नआउने भनेर धेरै पत्रपत्रिकाले निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई खेदिरहेको थियो । तर, दृढ विश्वासका साथ कंशाकारले जहाज ल्याएरै छाड्ने प्रतिबद्धता बारम्बार दोहो¥याइरहे । निगमले खरिद गरेको अर्को बाइडबडी जहाज डेढ महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । सपना नदेखि केही हुन्न । कंशाकार निगममा आउनासाथ उनले निगममा दश÷बाह्र वर्षमा दश बाह्रवटै जहाज ल्याउने सपना देखेका थिए । तर, हवाई माफियाले उनलाई हतोत्साही मात्र पारेनन्, अख्तियारको कठघरादेखि जेलसम्म पु¥यायो । तर, उनी हतोत्साही भएनन् । किनभने निगममा उनी जागिर खान मात्र आएका थिएनन्, देशका लागि केही गर्छु र चुनौतीपूर्ण काम गरेर सबैलाई देखाइदिन्छु भन्ने उनको ‘इख’ थियो । त्यही ‘इख’ले उनलाई सफलताको शिखरमा पु¥याउँदै गयो । बहुदलीय व्यवस्था आएपछि जहाजविहीन मात्र होइन, ‘कंकाल’ बनेको निगमलाई उनले पुनर्जीवन दिएका छन् ।
नयाँ जहाजले नेपाल वायुसेवा निगमको व्यावसायिक भविष्य मात्र नभई नेपालको अर्थतन्त्रका लागि पनि ठूलो टेवा मिल्नेछ । विश्वबाट नेपाल आउन चाहने पर्यटक सीधा उडान सेवा नभएकोले नेपाल आउन चाहेर पनि आउन सकिरहेका छैनन् । अब नेपाल आउने पर्यटकको लागि नेपाल सहज गन्तव्य बन्दैछ । निगमले दक्षिण चीन, कोरिया, जापानदेखि युरोप अमेरिकालाई आफ्नो गन्तव्य बनाउने योजना बनाएको छ । नेपालको पर्यटन क्षेत्रको आशा र भरोसा नै निगम हो । विश्वका जति धेरै ठाउँमा उड्न सक्यो, त्यत्ति नै धेरै पर्यटक नेपाल भित्रिने छ । अहिले जहाज अभावको कारण १० प्रतिशत व्यापार मात्र निगमले गरिरहेको छ । निगममा ‘वाइडबडी’ थपिएसँगै निगमको व्यापारमा पनि विस्तार हुने विश्वास गरिएको छ ।
निगमले दुई वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको छ । वाइडबडी जहाजमा २७४ सिटका छन् । निगमले आफ्नो व्यवस्थापनलाई चुस्त दुरुस्त पार्दै अगाडि बढ्न सक्यो भने प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझै ‘सुखी नेपाली, समृद्ध नेपाल’को लागि नेपाल वायुसेवा निगम एउटा कोशेढुंगा  बन्नेछ ।

Related News