​विश्व बैंकको रिपोर्टमा नेपाल

​शम्भु श्रेष्ठ

शम्भु श्रेष्ठ । हाम्रा नेताहरु भन्छन्– संविधान निर्माणपछि बनेको सरकारसँग दुईतिहाइको बहुमत छ । यसले छ÷छ महिनामा सरकार फेरिने र राजनीतिक अस्थिरता निम्त्याउने खतरा टरेको छ । अब राजनीतिक मुद्दा समाप्त भयो, हामी अब आर्थिक समृद्धितर्फ लाग्नुपर्छ । प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनुपर्छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरिनु पर्छ । प्रत्येक वर्ष एक हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ । पाँच वर्षभित्र नेपाललाई  विकासशील देशको दाँजोमा  पु¥याउनु पर्छ । दश वर्षभित्र प्रतिव्यक्ति आम्दानी पाँच हजार डलर पु¥याउनु पर्छ । दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछामासु, अण्डा र दूधमा  आत्मनिर्भर बनाउनु पर्छ । तीन वर्षभित्र काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिनु पर्छ । दश वर्षभित्र जल, जैविक, सौर्य, वायु, फोहर र अन्य वैकल्पिक माध्यमबाट १५ हजार मेगावाट विद्युत्  उत्पादन गर्नुपर्छ । काठमाडौँ तराई द्रूतमार्ग चार वर्षभित्र निर्माण गरिनुपर्छ । पाँच वर्षभित्र मेची–कालीलगायत, पुष्पलाल, हुलाकी सडक छ लेन र चार लेनको स्तरउन्नत गरिनेछ । मेचीकाली विद्युतीय रेल कुदाइनेछ । आदि÷इत्यादि भाषण सुन्दा सुन्दा नेपाली जनताको कान पाकिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षभित्र केरुङ, काठमाडौँ, पोखरा, लुम्विनी रेलमार्ग, रक्सौल काठमाडौँ रेलमार्ग र कोशीमा जलमार्गको भाषण गर्न छाडेका छैनन् । नेकपाले निर्वाचनका लागि तयार पारेको घोषणापत्र पल्टाएर हेर्ने हो भने त देश बनाउने सपनै सपना भरिएको छ । त्यही सपना देखेर होला प्रधानमन्त्री, मन्त्रीहरु, सबैले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई हरेक भाषणमा उच्चारण गर्दै आइरहेका छन् । यही लक्ष्य हासिल गर्न प्रधानमन्त्री ओलीले ‘टेक्नोक्र्याट’लाई अर्थमन्त्री बनाएका हुन् । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा राजनीतिक व्यक्ति होइनन् । उनी नेपाल राष्ट्र बैंकको गभर्नर हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्षसम्म बनेका व्यक्ति हुन् । यस्तो विज्ञ व्यक्ति अर्थमन्त्री भएपछि आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास प्रधानमन्त्री ओलीले लिएका थिए । तर, सरकार बनेको सात महिना बितिसक्दा पनि नौ महिने सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीको जत्ति पनि परिणाम जनताले देख्न पाएनन् । अधिकारी अर्थविज्ञ थिएनन् । उनी कानूनका विद्यार्थी थिए । तर पनि उनले नौ महिने कार्यकालमा आर्थिक क्षेत्रका विज्ञहरुसँग निरन्तर सम्पर्क गरिरहे । हरेक क्षेत्रको कामको अनुगमन आफैँले गरे । उनी गर्न सकिने कामको मात्र कल्पना गर्थे । ‘आफ्नो गाउँ आफैँ बनाउ’ उनकै सोच थियो । जसका कारण नेकपा एमालेको नौ महिने शासनकाल स्वर्ण अक्षरले लेखियो ।
अहिले त नेकपाको दुईतिहाइको सरकार छ । पाँच वर्षसम्म सरकार चलाउने बहुमत जनताले दिएका छन् । तर पनि सरकार परिणामशून्य किन बनिरहेको छ । जुनसुकै क्षेत्रमा पनि बेथितिको चाङ छ । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय निकायमा समेत नेकपाकै बहुमत भएर पनि तिनै तहको सरकारसँग जनता किन असन्तुष्ट छन्  । अब नेकपाको सरकारले मूल्यांकन गर्ने बेला भयो । सात महिनासम्म जनताले अनुभव गर्ने गरी एउटा सिन्कोसमेत भाँच्ने काम तिनै तहका सरकारले गर्न नसक्नु लाजमर्दो कुरा हो । यही बेलामा विश्व बैंकले ‘डुइङ बिजनेश’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा लगानीमैत्री वातावरण बन्न नसकेको प्रतिवेदन सार्वजनिक ग¥यो । यसले वैदेशिक लगानीलाई मनोवैज्ञानिक असर पार्छ । हामीसँग स्रोत मात्र भएर पुग्दैन । त्यसका लागि साधन अर्थात् पूँजी पनि चाहिन्छ । समयमै उक्त प्रतिवेदनले औँल्याएका कमी, कमजोरीलाई आत्मसात गर्न सकिनएन भने अर्को वर्ष यो भन्दा पनि खत्तम प्रतिवेदन नेपालको बारेमा उल्लेख हुनेछ । त्यतिबेला जनताले हामीलाई के भन्लान् ? भन्ने कुरा पनि अहिलेदेखि हामीले ख्याल गर्नुपर्छ । किनभने गत वर्ष काठमाडौँमा आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चौध खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनायो । हामी सबै दंग प¥यौँ । तर, त्यो लगानी किन र कसको कारणले आउन सकेन भन्ने कुरा पनि नेकपाको सरकारले खोज्ने बेला भइसक्यो । यसमा राजनीतिक नेतृत्वमात्रै दोषी छैन, कर्मचारीतन्त्र पनि उत्तिकै दोषी छ भन्ने कुरा हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गर्ने भ्रष्टाचारको सूचीले स्पष्ट पार्छ । सन् २०१७ को रिपोर्टमा नेपाल १२२ औँ भ्रष्टाचारको सूचीमा परेको छ । यो क्रम अरु बढ्ने संकेत छ । त्यसैले देश विकास गर्न राजनीतिक स्थिरता, शान्ति सुरक्षा, सस्तो श्रम शक्ति भएर मात्र पुग्दैन । त्यसका लागि दृढ इच्छाशक्ति पनि चाहिन्छ । त्यही इच्छा शक्तिले छिमेकी चीन र भारतले आर्थिक विकासको गतिलाई कहाँ पु¥यायो, हामी भने अहिले पनि दरिद्रतामै किन ? अब यसको जवाफ भाषणले होइन, परिणामले देखाउनुपर्छ ।

Related News