आजबाट सेमिफाइनल | विश्वकप होइन ‘यूरोकप’को झल्को

एमपी सुब्बा

काठमाडौं । रसियामा जारी ‘विश्वकप–२०१८’अन्र्तगत आज (मंगलबार)बाट सेमिफाइनल खेल हुँदैछ । तर, सेमिफाइनलसम्म आइपुग्दा ‘वल्डकप’ नभएर ‘युरोकप’झैं देखिएको छ किनकि, यस २१औं संस्करणको ‘विश्वकप’बाट दक्षिण अमेरिकी र एसियाली राष्ट्रहरु आउट भइसकेका छन् । फुटवलमा महासारथी भनिएका दक्षिण अमेरिकी मुलुक यसपटक ‘विश्वकप’को क्वाटरफाइनल भन्दा अगाडि बढ्न सकेनन् । 
ब्राजिल, अर्जेन्टिना, उरुग्वेजस्ता दक्षिण अमेरिकी मुलुकहरु फुटवलका सारथी मानिन्छन् । तर, यसपटक यी देशहरु क्वाटरफाइनलबाटै बाहिरिए । ‘विश्वकप’का दावेदारहरु एकाएक बाहिरिएपछि यसपटक युरोपियन राष्ट्रहरु ‘विश्वकप’मा हावी भएका छन् । सेमिफाइलनमा प्रवेश गरेका फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया सबै युरोपियन राष्ट्र हुन् । जर्मनी जस्ता फुटवलमा कहलिएका टीम समेत बाहिरिएपछि ‘विश्वकप’मा दबदबा इंग्ल्याण्ड र बेल्जियहरुमा परेको हो ।    
आयोजक राष्ट्र रसिया समेत ‘विश्वकप’बाट बाहिरिएको छ । त्यसैले अब यिनै चार युरोपियन राष्ट्रमध्येबाट एक ‘विश्वकप–२०१८’को विजेता बन्नेछ भने सेकेन्ड र थर्ड पोजिसन पनि ती देशबाटै छानिनेछ । त्यसैले पनि सेमिफाइनल यता ‘विश्वकप’लाई ‘युरोकप’का रुपमा विश्लेषण गर्न थालिएको छ ।
‘विश्वकप’को फाइनल यही ३१ असारमा हुँदैछ । तर, त्यसअघि सेमिफाइनलका दुई खेल र थर्ड पोजिसनका लागि एक गरी तीन खेल हुनेछ । ती तीन खेललाई विश्लेशष गर्दै अमेरिकन पत्रिका ‘द गार्जियन’को अनलाइन संस्करणले लेखेको छ, ‘यसपटकको विश्वकपले युरोकपकै झल्को दिएको छ । सेमिफाइनल यताका खेल हेर्दा विश्वकप होइन, युरोकप हेरिरहेको आभाष हुनेछ ।’ 
हुन पनि यसपटक ‘विश्वकप’मा सेमिफाइनल खेल्ने खेलाडीहरु नजिकका साथी छन् । उनीहरु अधिकांश युरोपियन क्लवमा संलग्न छन् । र, युरोकपमा चर्चाको ‘फ्रन्टलाइन’मा आउने खेलाडीहरु तिनै हुन, जो ‘रसिया विश्वकप’मा निरन्तरता दिइरहेका छन् । 
इंग्ल्याण्डबाट खेल्ने खेलाडीहरु अधिंकास म्यानचेस्टर सिटीका खेलाडी छन् । फाबियन डेल्फ, फिल जोन्स, जोन स्टोन्स, केयल वाल्कर, एस्ले योङ जस्ता खेलाडीहरु म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएका छन् भने अरु बाँकी  ट्रेन्ट एलेक्जेण्डर आर्नोल्ड ‘लिभरपुल’, गेरी चाहिल ‘चेल्सी’ हृयारी मागुरे ‘लिसेस्टर’, डानी रोज ‘टोटनहाम’, कियरन ट्रिपर ‘टोटनहाम’ मिडफिल्डर डेल अलि ‘टोटनहाम’, इरिक डायर ‘टोटनहाम’, जार्डन हेन्डरसन ‘लिभरपुल’  र रुबेन लोफटस चेक ‘चेल्सी’बाट खेल्दै आएका खेलाडी हुन् । इग्ल्याण्डबाट खेल्ने यी खेलाडीहरु युरोकपका हस्तीहरु हुन् । 


सेमिफाइनमा प्रवेश गरेसँगै इग्ल्याण्डलाई अहिले विश्वकपको दावेदारका रुपमा चर्चा गर्न थालिएको छ । बेलायतकै पत्रिका ‘डेलीमेल’को अनलाइन संस्करणले त इंग्ल्याण्डलाई ‘विश्वकप’ यसपटक क्लवस्तरिय खेलभन्दा सहज भएको भन्दै दवावमूलक प्रचार गरेको छ । सो अनलाइनले लेखेको छ, ‘विश्वकप जित्ने अवसर इंग्ल्यायडका लागि यही हो किनकि उ अहिले विश्वकप नभएर आफ्नै क्वलमा खेल्दैछ ।’ तर, इंग्ल्याण्डलाई फाइनल यात्रा तय गर्न सहज भने छैन किनकि सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध क्रोयसिया भिड्दैछ । 
क्रोयसिया कमजोर टिम होइन । क्वाटरफाइनलमा आयोजक राष्ट्र  रसियालाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलसम्म पुगेको हो । उसका खेलाडीहरु पनि अधिकांश क्लवस्तरिय खेलका हस्तीहरु छन् । कोयसियासँग ड्यानियल सुबासिक ‘मोनाको’, लोभ्रे कालिनिक ‘जेन्ट’ र डोमिनिक लिभाकोभिक ‘डाइनामो जागर्भ’ जस्ता गोलकिपर छन् भने डिफेन्डरमा भेड्रान क्रोलुका ‘लोकोमोटिभ मस्को’, डोमागज भिडा ‘बेसिक्टस’, इभान स्टिनिक ‘मिलान’, डेजान लोभरेन ‘लिभरपुल’,  सिमे भरसाल्जको ‘एथ्लेटिको मड्रिड’, टिन जेडभाज ‘बायर लिभरकुसन’ जस्ता हस्ती क्रोयसियासँग छ । 
त्यस्तै, मिडफिल्डरहरुमा लुका मोडरिक ‘रियल मड्रिड’,  इभान ¥याकिटिक ‘बार्सिलोना’, माटेओ कोवासिक ‘रियल मड्रिड’, मिलान बडेल्ज ‘फिरोन्टेनिया’ र मार्सेलो ब्रोजोभिक ‘इन्टर मिलान’मा चर्चित खेलाडी हुन् । फरवार्ड खेल्नेहरु मारियो मान्जुकिज ‘युभेन्टस’, इभान पेरेसिक ‘इन्टर मिलान’, निकोलो कालिनिक ‘एसी मिलान’, एन्ड्रेज क्रामेरिक ‘होफेनहेम’ र एन्टे रेबिक ‘फिरोनटिना’ छन् । जो युरोकपका लागि हस्ती मानिन्छन् । 
फ्रान्स र बेल्जियम सेमिफाइनल खेल्दैछ । यी दुवै टीम आफैमा राम्रा छन् । फ्रान्स १२ वर्षपछि र बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा पुगेका हुन् । तर, त्यसो भन्दैमा यी टीम कमजोर छैनन् । बेल्जियम त्यही टीम हो, जसले ब्राजिललाई क्वाटरफाइनलमा पराजित गरेका थिए । ब्राजिललाई पराजित गरेसँग बेल्जियमलाई आत्मविश्वास बढेको छ । विश्वकप विजेताका दावेदारको रुपमा रिप्लेस भएका बेल्जियमका खेलाडीहरु पनि अधिकांश युरोपियन क्लवका हस्तीहरु हुन् । 
बेल्जियमबाट खेल्नेहरु इंग्ल्याण्डकै जस्तो अधिकांश टोटानहाम, म्यानचेस्टर सिटी र म्यानेचेस्टर युनाइटेड क्लबका खेलाडी छन् । जसमा बी एल्डरवायल्र्ड ‘टोटनहाम’, डेडरिक बोयोटा ‘सेल्टिक’, भिन्सेन्ट कम्पनी ‘म्यानचेस्टर सिटी’, थोमस म्युनियर ‘पेरिस सेन्ट जर्मेन’, थोमस भरमाइलिन ‘बार्सिलोना’ र  जान भेर्टोनगेन ‘टोटनहाम’ रहेका छन् भने उसका मिडफिल्डरहरु यानिक कारेसो ‘डेलियन यिफाङ’, केभिन डि ब्रुयन ‘म्यानचेस्टर सिटी’, मोसा डेम्बेले ‘टोटनहाम’ लियन्डर डेन्डोनच्कर ‘एन्डरलेट्च’, मोरुने फेलानी ‘म्यानचेस्टर युनाइटेड’, एडन हाजार्ड ‘चेल्सी’, एडनान जानुजाज ‘रियल सोसियाड’ का खेलाडी हुन् ।  
फरवार्डमा मिची बाट्सुयाइ ‘चेल्सी’, नासेर चाड्ली ‘वेस्टब्रुम’ रोमेलु लुकाकु ‘म्यानचेस्टर युनाइटेड’ र ड्रिस मार्टेन्स ‘नापोली’ जस्ता यरोपियन क्वलमा हस्तीहरु छन् । फ्रान्स फिफा वरियतामा सातौँ स्थानमा छ । युरोपियन क्षेत्रको समूह ‘ए’ को विजेता बनेर फ्रान्स विश्वकपमा पुगेको हो । फ्रान्स सन् १९९४ यताका सबै विश्वकपमा सहभागी हुँदै आएको छ । अहिलेसम्म १४ पटक विश्वकप खेलेको फ्रान्स गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।
फ्रान्स टिम समग्रमा बलियो टिम हो । टिममा सबैजसो स्टार खेलाडी छन् । सबै खेलाडी विश्वका शीर्ष लिगका क्लबमा आबद्ध छन् । गोलकिपर  हृयुगो लोरिस ‘टोटनहृयाम’, स्टीभ मन्डन्डा ‘मार्सेइली’, एल्फन्सो एरोला ‘पेरिस सेन्ट जर्मेन’ प्राmन्सबाट गोलकिपर छन् भने डिफेन्डरहरु लुकास हर्नान्डेज  ‘एथ्लेटिको मड्रिड’,  प्रेसनल किमपेम्बे ‘पेरिस सेन्ट जर्मेन’, बेन्जामिन मेन्डी ‘म्यानचेस्टर सिटी’ अदिल रामी ‘मार्सेइली’, दिवब्रिल सिदिबे ‘मोनाको’, स्यामुअल उमटिटी ‘बार्सिलोना’ र राफेल भराने ‘रियल मेड्रिड’ जस्ता चर्चित युरोपियन क्लवबाट खेल्छन् । 
यस्तै, मिडफिल्डरमा एन्जेलो कान्टे ‘चेल्सी’, ब्लेस माटुडी ‘युभेन्टस’, स्टेभेन जोन्जी ‘सेभिल्ला’, पौल पोग्बा ‘म्यानचेस्टर युनाइटेड’ छन् भने फरवार्डमा खेल्नेहरु उसमान डेम्बेले ‘बार्सिलोना’, नबिल फेकिर ‘लायन’, ओलिभर जिरोउड ‘चेल्सी’, एन्टोनियो ग्रिजम्यान ‘एथ्लेटिको मेड्रिड’ थोमस लेमर ‘मोनाको’ जस्ता युरोपियन क्लवहरुमा आवद्ध छने ।
क्वाटरफाइनलबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र जर्मनी जस्ता फुटवलका हस्तीहरु बाहिरिएपछि कतिपयले ‘विश्वकप’ नै सकिएको ब्यग्य समेत गरेका छन् भने यसपटक विश्वकपको ट्रफी कसले उचाल्छ भन्ने अनुमान समेत लगाउन सकिरहेका छैनन् । 
खेल समीक्षकहरु समेत भन्न थालेका छन्, ‘रसिया विश्वकप साँच्ची खेल जस्तै भइहेको छ । खेलमा अनुमान गर्न सकिँदैन । त्यस्तै यसपटक कसले विश्वकप ट्रफी उचाल्छ भन्ने अनुमान गर्न गाह्रो छ ।’ तैपनि ‘विश्वकप’ सेमिफाइनलमा प्रवेश गरेसँगै आ–आफ्नो तर्क राख्न थालेका छन् । धेरैको मत त यसपटक फ्रान्स विश्वकपका विजेता बन्नेछन् । अमेरिकन मिडियाहरुले फ्रान्स विश्वकप विजेता बन्न सक्ने आँकलन गरेका छन् भने अन्य एसिया र युरोपका मिडियाले इंग्ल्याण्डलाई अगाडि सारेका छन् । 
बेल्जियम विश्वकप विजेता बन्ने आँकलन पनि गर्न थालिएको छ । नेपालमा ब्राजिल र अर्जेन्टिना बाहिरिएपछि इंग्ल्याण्डले विश्वकपको ट्रफी उचालेको हेर्न चाहने धेरै छन् ।  त्यो प्रतीक्षाको घडी ३१ असारमा सकिँदैछ ।

Related News