अदालत परिसरमै लेखकको गोली हानी हत्या

दृष्टि न्यूज

अम्मान (जोर्डन), १० असोज । जोर्डनका प्रसिद्ध लेखक तथा व्यंग्य चित्रकार नेहद हेतारको एक अदालत परिसरमा गोली हानी हत्या भएको छ । 

उनलाई इस्लाम धर्मविरोधी व्यंग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उनीमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न पुगेका बेला अज्ञात व्यक्तिले तीन गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको जोर्डनको सरकारी समाचार संस्थाले जनाएको छ । दाह्री पालेको र मुसलमानले लगाउने खैरो कपडा लगाएको आक्रमणकारीले ५६ वर्षीय क्रिस्चियन धर्मावलम्बी हेतारको हत्या गरेपछि आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ । 

गएको अगस्ट १३ मा पक्राउ परी सेप्टेम्बरको सुरुमा धरौटीमा छुटेका हेतारले आफ्नो फेसबुक पेजमा व्यंग्य गर्दै इस्लामका भगवान भन्ने शीर्षकमा एउटा चित्र सार्वजनिक गरेको आरोपमा अदालतमा मुद्दामाथि अदालती छानबिन भइरहेको बताइएको छ । रासस÷एएफपी

Related News