​उपयुक्त समयमा नेपाल आउँछु : चिनियाँ राष्ट्रपति

काठमाडौं, ५ पुस । चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाएका छन् ।
 
चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौड्यालले ग्रेट हल अफ दि पिपुलमा बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गरेपछि राष्ट्रपति सीले यस्तो बताएका हुन् । उनले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास दिलाए । उनले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट गरे ।
 
सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको दोहो¥याए । राष्ट्रपति सीको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूतले जोड दिए ।
 
उनले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पु¥याउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको पनि उल्लेख गरे । 
“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूतले भने । 

समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

Related News