पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दलहरुप्रति कटाक्ष

प्रजातन्त्र दिवसमा व्यक्तव्य निकाल्दै भने, ‘समीक्षा गर्ने समय आयो’

दृष्टि न्यूज

काठमाडौं, ६ फागुन । ६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार साँझ एक शुभकामना सन्देशमार्फत पूर्व राजा ज्ञानेन्द्र शाहले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न चिन्ह उठाएका छन् । 
करिब दुई सय ५० वर्षसम्म नेपालमा शासन गरेका शाह बंशीय राजतन्त्रका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाहले २०६३ बैशाख ११ गते आफूमा निहित रहेको राजकीय सत्ताको प्रयोग गरी जनतामा परिवर्तनको अवसर दिएको समेत दावी गर्दै दलहरुले जनतालाई सुख र समृद्धि दिन नसकेकोमा कटाक्ष गरेका छन् । पूर्वराजाद्वारा आइतबार साँझ जारी शुभकामना सन्देशमा उनले भनेका छन्, ‘तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले किन प्राथमिकता पाएन, यो वर्तमानमा जनतामा ज्वलन्त प्रश् नबनेर उब्जिएको छ ।’
साथै शुभकामना सन्देशमा ज्ञानेन्द्र शाहले निर्वाचनद्वारा स्थापित राज्यसत्तालाई अस्वीकार गर्ने  आशय समेत व्यक्त गर्दै निर्वाचनको बैधतामाथि प्रश्न चिन्ह उब्जाएका छन् । उनले भनेका छन्, ‘प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न ।’ यसको आशय निर्वाचनबाट निर्वाचित राजनीतिक दलहरुको बैधानिकतामाथि प्रश्न चिन्ह खडा गर्ने देखिएको छ ।
साथै सन्देशमा पूर्वराजा शाहले आफूले राजकीय सत्ताको प्रयोग गरी जनताको नाममा दिएको परिवर्तनले जनतालाई खुशी र समृद्ध बनाउन सकेको÷नसकेको समीक्षा गर्न समेत आह्वान गरेका छन् । बक्तव्यमा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा सीमित व्यक्तिले लुटेर खाने अवसर पाएको रुपमा समेत उल्लेख गरेका छन् । 

Related News