​यसरी चलिरहेको छ ठेक्कापट्टामा गुन्डागर्दी

दृष्टि न्यूज

काठमाडौं, २५ पुस । प्रहरीको गोलीबाट गुन्डाहरु मारिएका छन् । गुन्डाहरुले पैसा माग्दै ठेकदार र व्यवसायीहरु मारिरहेका छन् । तर पनि देशमा गुन्डागर्दी रोकिएको छैन । खासगरी ठेक्कापट्टा तथा टेण्डरमा अझै पनि खुलेआम गुन्डागर्दी हुने गरेको छ । 
ठेक्कापट्टामा गुन्डागर्दी गरेको आरोपमा राप्रपा प्रजातान्त्रिकका नेता समेत प्रहरी खोरमा पुगेका छन् । राप्रपा प्रजातान्त्रिकको सिन्धुपाल्चोकका क्षेत्रीय सभापति महेन्द्र लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 
महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोकको सिंचाईसम्बन्धी एक ठेक्कामा उनले ५ लाख माग्दै ठेकदारलाई धम्काएका थिए । पैसा दिन नमानेछि बुधबार आफ्ना सहयोगीहरु पठाएर काम भइरहेको स्थानमा तोडफोड गराएपछि उनीविरुद्ध उजुरी परेको थियो । 
सिंचाइसम्बन्धी एक करोड २२ लाखको ठेक्कामा उनले ५ लाख रुपैयाँ मागेको महाशाखामा परेको उजुरीमा उल्लेख छ । लामालाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाउने जनाएको छ । विगतमा पनि उनले ठेक्कामा आफ्नो ‘भाग’ माग्ने गरेको प्रहरीले जनाएको छ । लामा आफैँ पनि ठेकदार हुन् । ठेकदार नै अर्काे ठेकदारलाई धम्काएर पैसा असुल्न खोज्नु अनौठो भएको प्रहरी अधिकारीहरु बताउँछन् । 
उता गत पुस ११ गते सरकारी कर्मचारीकै मिलेमतोमा राजधानीमा   भएको एक टेण्डरमा गुन्डागर्दीमा भएको थियो ।  अरुलाई टेण्डर हाल्न नदिन डिल्लिबजारस्थित हुलाक सेवा कार्यालयभित्रै यस्तो गुन्डागर्दी भएको  हो । 
टेण्डर हाल्न गएका भारतीय व्यापारी रवि अग्रवालले अन्य व्यवसायीलाई टेण्डर दर्ता गर्नबाट रोक्न गुन्डाहरु परिचालन गरेका हुन् । उनले बारकोड नेपालका सञ्चालक हेमेश्वर मल्ल र कर्मचारी राजीव महतोलाई कुटपिट गरी टेण्डर दर्ता गर्न नदिएका हुन् । कृष्ण इन्टरप्राइजेज नामक कम्पनीका सञ्चालक अग्रवालले आफूले मात्र टेण्डर हाल्न त्यसरी गुन्डागर्दी गरेका थिए । 
उनीहरुलाई कुटपिट गरी १२ बजेसम्म  विभागमा छिर्न रोकेका थिए । जसमा विभागका कर्मचारी र सुरक्षा गार्डसमेत मुकदर्शक बनेका थिए । १२ बजेपछि मात्र उनीहरुलाई दर्ता शाखामा जान दिइएको थियो । त्यसपछि कर्मचारीहरुले टेण्डर निवेदन स्वीकृत नै गर्न नमानेको पीडितले बताएका छन् । विभागका उच्च अधिकारीहरुसँग गुनासो गर्दा समेत उनीहरुले नसुेको पीडित व्यवसायीहरुले बताएका छन् । गुन्डागर्दीपछि अग्रवालले मात्र टेण्डर दर्ता गर्न पाए । जसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकर्ता केन्द्रमा उजुरी परेको छ । पीडितले कुटपिट गर्ने गुन्डाहरुलाई कारबाहीको माग गर्दै कमलपोखरी वृत्तमा उजुरी दिएपनि अभियुक्तहरु पक्राउ परेका छैनन् । 
यी दुई वटा घटनाले देशमा गुन्डागर्दीको अवस्था कस्तो छ भन्ने प्रष्ट हुन्छ । हरेक जिल्लाहरुमा गुन्डागर्दीको जालो छ । अझै पनि हरेक टेण्डरमा गुन्डाहरुको हस्तक्षेप हुने गरेको छ । 

Related News