​यसरी पुग्ने भो वाम गठबन्धन दुई तिहाइ नजिक

दृष्टि न्यूज

काठमाडौं, २६ मंसिर । दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले उत्साहजनक परिणाम ल्याएको छ । प्रतिनिधिसभामा वाम गठबन्धनले दुई तिहाई नै ल्याउने देखिएको छ । दृष्टि साप्ताहिकले पहिलो चरणको निर्वाचन लगत्तै वाम गठबन्धनले दुई तिहाईकै नजिक जित्ने ठोकुवा गरेको थियो । जुन यथार्थमा परिणत हुने भएको छ । समानुपातिक मत परिणामपछि वाम गठबन्धन दुईतिहाइ नजिक पुग्ने एमाले प्रवक्ता विष्णु रिमाल बताउँछन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मा वाम गठबन्धनले १ सय १० भन्दा बढी जितेका छन् । समानुपातिकतर्फ भने एउटै चुनाव चिह्न नभएका कारण पनि वाम गठबन्धनलाई कम मत पर्ने अनुमान गरिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जुन परिणाम आएको छ त्यसअनुसार समानुपातिकमा आउने हो भने वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउन सक्थ्यो । तर समानुपातिकमा वाम गठबन्धनलाई प्रत्यक्षमा जस्तो सफलता मिल्न नसक्ने संकेत देखिएको छ । जसका कारण दुई तिहाईलाई केही सिट नपुग्ने देखिएको छ । वाम गठबन्धनका प्रतिनिधिसभाका केही उम्मेदवारहरु झिनो मतले हारेका कारण पनि दुई तिहाईको यात्रामा रोकावट भएको छ । वाम गठबन्धनको मुख्य घटक एमालेले प्रतिनिधिसभामा ८० देखि ८२ सिटसम्म जित्ने देखिएको छ । अर्को घटक माओवादी केन्द्रले ३५ देखि ३७ सिटसम्म जित्नसक्ने देखिएको छ । प्रत्यक्षमा वाम गठबन्धनको न्यूनतम १ सय १५ सिट जित्ने निश्चित देखिएको छ । समानुपातिकमा एमालेले न्यूनतम ३५ प्रतिशत सांसद संख्या पाउनेगरी मत ल्याएको खण्डमा ३९ सांसद छानिनेछन् । प्रत्यक्षका ८० जोड्दा एमालेको ११९ हुन आउँछ । माओवादीले २० प्रतिशत समानुपातिक सिट पाउादा २२ सिट हुन्छ । जसमा प्रत्यक्षको ३५ जोड्दा ५७ सिट प्रतिनिधिसभामा पाउनसक्छ । 
नेपाली कांग्रेसले प्रत्यक्षमा बढीमा २५ सिट जित्न सक्छ । समानुपातिकमा कांग्रेसको मत राम्रो आउने संकेत देखिएको छ । समानुपातिक मतमा कांग्रेस एमालेपछि कम अन्तरले दोस्रो छ । यही हिसाबले समानुपातिक मत आउने हो भने कांग्रेसले ३० प्रतिशत मत ल्याउन सक्छ । प्रत्यक्षमा २५ सिट र समानुपातिकमा समेत गर्दा कांग्रेसले ५८ सिट पाउन सक्ने देखिन्छ । मधेशवादी दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रत्यक्षमा २२ सिट जितेको अवस्थामा उनीहरुले समानुपातिकमा १० देखि १२ प्रतिशत ल्याउने संभावना छ । प्रत्यक्ष र समानुपातिकसमेत जोड्दा प्रतिनिधिसभामा मधेशवादी शक्ति ३५ भन्दा बढी सिटका साथ बलियो शक्तिका रुपमा स्थापित हुने देखिन्छ । समानुपातिकको बाँकी ३ प्रतिशत राप्रपा, विवेकशील साझा पार्टी र नयााशक्तिको पक्षमा जाने अनुमान गरिएको छ ।
बढारियो राप्रपा ?
शेरबहादुर देउवा नेतृत्वको सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट एमालेका कृष्णप्रसाद दाहालसँग ६ हजार ७२ मतले पराजीत भएका छन् । थापा यसपटक समेत गरी ३ पटक दाहालसँग पराजीत भएका छन् । श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर बारा ३ बाट भारी मतले पराजीत भएका छन् । उनी संघीय समाजवादी फोरमका रामबाबुकुमार यादवसँग पराजीत भएका छन् । उनी १० हजार ९७५ मतले हारेका छन् । उनी तेस्रो भएका छन् । कांग्रेंसको लोकतन्त्रिक गठबन्धनबाट रुपन्देही ३ मा उठेका स्वास्थ्य मन्त्री दीपक बोहरा एमोलका उपमहासचिव घनश्याम भूसालसँग ५ हजार ४ सय ४४ मतले पराजीत भएका छन् । उनले चुनाव जित्न सबै हत्कण्डा प्रयोग गरे तर अन्ततः पराजीत भएका छन् । 
धनकुटाबाट २०७० मा धनबलदेखि बाबु सूर्यबहादुर थापाको नाम भजाउँदै चुनाव जितेका उद्योगमन्त्री सुनिलबहादुर थापा यसपटक एमालेका राजेन्द्र राईसँग १० हजार ४ सय ५९ मतान्तरले पराजीत भएका छन् । ठेकेदार मन्त्रीका रुपमा चिनिने वनमन्त्री विक्रम पाण्डे चितवन ३ बाट पराजीत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उठेका पाण्डे ९ हजार मतान्तरले पराजीत भएका छन् । बर्दिया २ मा कांग्रेसबाट उठेका गोपाल दहित माओवादी केन्द्रका सन्तराम थारुसँग पराजीत भएका छन् । सिन्धुपाल्चोक १ बाट सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजीत भएका छन् । कृषि विकास मन्त्री रामकृष्ण यादव धनुषा २ बाट पराजीत भएका छन् । मन्त्री यादव संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग १३ हजार ३ सय २९ मतान्तरले पराजीत भएका छन् । खानेपानी तथा सरसफाइ मन्त्री रामकृष्ण यादव धनुषा ४ बाट एमालेका रघुबीर महासेठसँग २५४१ मतले हारेका छन् । 
त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत काठमाडौं ३ बाट एमालेका कृष्ण राईसँग पराजीत भएकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर डोटीबाट  एमालेका प्रमे आलेसँग पराजीत भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा एमालेका खगराज अधिकारीसँग पराजीत भएका छन् । पराजित हुने मन्त्रीहरुमा काठमाडौं ७ मा राप्रपाका विक्रमबहादुर थापा पनि हुन् । उनी एमालेका रामवीर मानन्धरसँग पराजीत भएका छन् ।
त्यस्तै सर्लाही १ बाट पशुपंक्षी राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, तेह्रथुमबाट भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी चितवन २ बाट पराजीत भएका छन् । कांग्रेसबाटै उम्मेदवार भएर पराजीत हुने राज्यमन्त्रीहरुमा अमरसिंह पुन, नरबहादुर चन्द, दिलमान पाख्रिन, उदयशमशेर राणा, चम्पादेवी खड्का लगायत छन् । माओवादी केन्द्रका राज्यमन्त्री रामसिंह यादवले धनुषा ३ बाट पराजीत भएका छन् ।
कुन कुन मन्त्रीले जिते ?
त्यस्तै चुनाव जित्ने नेपाली कांग्रेसका मन्त्रीहरुमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, रक्षा मन्त्री भीमसेनदास प्रधान काठमाडौं ६, सिंचाई मन्त्री संजयकुमार गौतम बर्दिया १ र युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी काठमाडौं १० छन् । माओवादी केन्द्रका अधिकांश मन्त्रीहरुले चुनाव जितेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा दाङ २ बाट कांग्रेसका राजु खनाललाई १४ हजार १४५ मतान्तरले पराजीत गर्दै जितेका छन् ।
चुनाव जित्ने माओवादी केन्द्रका विनाविभागीय मन्त्रीहरुमा गिरिराजमणि पोखरेल महोत्तरी १, जनार्दन शर्मा पश्चिम रुकुम, प्रभु साह रौतहट ३, टेकबहादुर बस्नेत सल्यान, शिवकुमार मण्डल मोरङ ५ छन् । त्यस्तै चुनाव जित्ने राज्यमन्त्रीहरुमा तेजुलाल चौधरी सप्तरी ४, माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठलगायत छन् ।
एक नम्बर प्रदेशमा मधेशवादी सून्य 
दुई नम्बर प्रदेशका प्रतिनिधिसभाका ३२ क्षेत्रमध्ये २३ वटा जितेका र प्रदेशमा करिब बहुमत नै ल्याउन लागेका मधेशवादी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले १ नम्बर प्रदेशमा एउटा पनि जित्न सकेनन् । प्रतिनिधिसभाका २८ सिटमध्ये यी दुवै पार्टीले एक सिट पनि जित्न सकेनन् । प्रदेशसभाका ५६ सिटमध्ये एक सिटमा फोरमले जितेको छ । 
मधेशीहरुको बाक्लै उपस्थिति रहेको एक नम्बर प्रदेशका मोरङ र सुनसरीबाट प्रतिनिधिसभाका ९ सिटमै एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेका छन् । मधेशवादीले ९ सिटमा एउटामा पनि जितेनन् ।  मोरङको क्षेत्र नम्बर ५ (ख) बाट संघीय फोरमका जयराम यादवले प्रदेशसभामा जितेका हुन् । ५ नम्बर प्रदेशको बााके २ को प्रतिनिधिसभामा संघीय फोरमका मोहम्मद इस्तियाक राईले जितेका छन् ।  ७ नम्बर प्रदेशमा प्रतिनिधिसभामा थारु बाहुल्य कैलाली १ बाट रेशम चौधरीले जितेका छन् । उनी टीकापुर काण्डका फरार अभियुक्त हुन् । फोरमबाटै ५ नम्बर प्रदेशको प्रदेशसभामा कपिलवस्तुको क्षेत्र नम्बर १ (ख)बाट सहसराम यादवले जितेका छन् । 
कुन कुन जिल्लामा भयो कांग्रेस शून्य ?
प्रदेश १ –
ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु र ओखलढुंगा
प्रदेश ३ – दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर
प्रदेश ४ – गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बागलुङ र म्याग्दी
प्रदेश ५ – रोल्पा, डोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा
प्रदेश ६ – सुर्खेत, कालिकोट, जुम्ला, मुगु, सल्यान र दैलेख
प्रदेश ७ – अछाम, बाजुरा, बैतडी, वझाङ, दार्चुला र डोटी

Related News