​यसपाली त मनै फाट्यो...

शम्भु श्रेष्ठ

शम्भु श्रेष्ठ  । ०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर थिए– नेपाली कांग्रेसका नेता गणेशमान सिंह । त्यो आन्दोलनको तयारी उनकै पहलमा चाक्सीबारीबाट शुरु भएको थियो । आन्दोलन सफल भएपछि देशमा तीस वर्षे निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो । राजा वीरेन्द्रले विभिन्न दलका नेतालाई भेटघाटका लागि नारायणहिटी  दरबारमा बोलाए । संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । त्यो प्रस्ताव उनले त्यागिदिए र कृष्णप्रसाद भट्टराई मुलुकको प्रधानमन्त्री बने । यो घटनाले इतिहासमा के पाठ सिकाउँछ भने, राजनीतिमा पद मात्र ठूलो कुरा होइन । त्यो भन्दा ठूलो कुरा त्याग हो । सिंहको ‘मेरो कथाका पानाहरु’ पढ्दा उनको जीवन संघर्ष नै संघर्षले भरिएको पाउँछौं । उनको त्यो संघर्ष, त्याग र बलिदान लोकतन्त्र, देश र जनताका लागि थियो, आफ्नो लागि होइन भन्ने कुराको उनी आफैँ उदाहरण बनेर देखाए ।
तिनै गणेशमान अन्ततः आफैँले स्थापना गरेको पार्टी नेपाली कांग्रेस परित्याग गर्न बाध्य भए । बहुदलीय व्यवस्था स्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद  कोइरालाको अत्याचार सहन नसकेर उनले पार्टी मात्र त्यागेनन्, उनले भने म मरे भने मेरो पार्थीव शरीरमा कांग्रेसको झण्डा नओढाउनु । उनको त्यो पीडाको पछाडि एउटा सन्देशको पछाडि एउटा कुरा लुकेको थियो त्यो के थियो भने– पार्टी, झण्डा, सिद्धान्त र विचार मिलेर मात्र  देश बन्दैन । देश बनाउन नेता, नेताबीच मन मिल्नुपर्छ । एकले अर्कालाई सम्मान गर्ने संस्कार पार्टीभित्र स्थापित गर्नुपर्छ । राम्रो व्यवहार र संस्कारले मात्रै पार्टी बलियो हुन्छ । आजको जमानामा हैकमवाद कसैले सहँदैनन् । राजाको विरोध गरेबापत सिंहले त्यत्रो वर्ष जेलनेल  भोगेका हुन् । त्यो बाहेक अरु उनको कुनै अपराध थिएन । समय बलबान हुन्छ भन्छन्, नभन्दै सर्वोच्च कमाण्डर सिंहको नेतृत्वमा चलेको संयुक्त जनआन्दोलनले राजाको निरंकुश शासन ढल्यो । स्वयं राजा वीरेन्द्रले सिंहसामु घुँडा टेक्न बाध्य हुनुप¥यो । इतिहास दोहोरिन्न होला, तर सिंहको संघर्षमय राजनीतिक जीवनीबाट शिक्षा लिनु आजको पुस्ताको लागि राम्रो हुनेछ ।
किनभने, नेपालको इतिहासमा पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएका छन् । राष्ट्रवादी नेता केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेका छन् । यो एकतालाई उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’का रुपमा रुपान्तरण गर्न सके भने मात्रै उनी सफल राजनेता बन्नेछन् । अन्यथा, सिंहदरबारमा उनको फोटो झुण्ड्याउनेबाहेक अरुले इतिहासमा उनलाई सम्झने छैनन् । गिरिजाप्रसाद कोइरालालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाहेक अरुले महान् पुरुष भनेर भनेका छैनन् । किनभने, देशको दुर्गति र माओवादीको जन्म तिनै कोइरालाको कुशासनका कारण भएको हो । एकातिर गणेशमानजस्ता त्यागी नेता, अर्कातिर गिरिजाजस्ता लोभीपापी नेताबीचकै विवादका कारण कांग्रेस आज यो हालतमा पुगेको हो । गिरिजाले पार्टीभित्र शीर्ष नेतालाई पेल्ने रणनीति नबनाएको भए, नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको उदय सम्भव थिएन । त्यसैले गणेशमानले अनुभव गरेझै नेकपाभित्रका नेताहरुलाई स–सम्मान अगाडि बढ्ने हो भने मात्रै नेकपाबाट देश र जनताले केही आशा गर्ने ठाउँ हुन्छ । होइन, गिरिजाले जस्तै सबैलाई पेलेरै जाने सोच बनाइयो भने त्यो घातक हुन्छ भन्ने कुरा नेपाली कांग्रेसको विगत र वर्तमानबाट नेकपाका नेताले सोच्नु जरुरी छ ।
गुट, फुट, घात अन्तर्घातको पीडा सबै पार्टीका सबै नेताहरुले भोगिसकेका छन् । विगतको तीतो अनुभवबाट शिक्षा लिँदै यो ठाउँसम्म आएका ओली–प्रचण्डले पनि गिरिजाबाट होइन, गणेशमानबाट शिक्षा लिँदै अगाडि बढे भने उनीहरू सफल राजनेता कहलिनेछन् । नदीका दुई किनारालाई जोड्दै पार्टी एकताकोपहल गर्ने ओली इतिहासमा महान् त्यतिबेला हुनेछन् जतिबेला उनले माथिदेखि तलसम्मका कार्यकर्ताको मन जित्नेछन् । त्यसो नभए यो पार्टी एकता प्रचण्ड र ओलीका लागि पोहोर साल खुशी फाट्यो, त्यसलाई पनि मनले टाले, यसपालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने हो... भन्ने अरुणा लामाको गीतजस्तै हुनेछ ।

Related News