​मन्त्रिपरिषदका पूर्वअध्यक्षसहित सार्वजनिक व्यक्तिले गरे योग

दृष्टि न्यूज

काठमाडौं, २७ फागुन । पूर्व प्रधानन्यायधीश एवं मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले हजारौं मानिसलाई योग गराएका छन् । ३१ औं मनोक्रान्ति दिवसको उपलक्ष्यमा डा. योगी विकासानन्दसंगै मञ्चमा रहेका रेग्मीले नेपालका चर्चित अनुहारसहित हजारौं सर्वसाधारणलाई योग गराएका हुन् । योग गर्नेहरुमा चर्चित लेखक एवं टिप्पणीकार खगेन्द्र संग्रौला, नाट्यकर्मी अशेष मल्ल, गायक आनन्द कार्की पनि थिए । चर्चित अनुहारले योग गरिरहँदा वातावरण मन्त्री लालबाबु पण्डीत भने मुसुमुसु हाँस्दै रेग्मीले योग गरेको हेरिरहेका थिए । 
३१ वर्षअघि डा. योगी विकासानन्दले स्थापना गरेको मनोक्रान्ति अभियानले ध्यान, योग, प्राकृतिक स्वास्थ उपचार एवं माइन्ड टेक्नोलोजीसम्बन्धी काम गरिरहेको छ । यो संस्थाबाट प्रत्यक्ष–अप्रत्यक्ष गरि १३ लाख भन्दा बढि व्यक्ति लाभान्वित भएको विश्वास गरिन्छ भने सक्रिय सदस्यको संख्या हजारौं छ । यसअघि रानीवारीस्थित केन्द्रीय कार्यलयमा मनाउने गरिएको मनोक्रान्ति दिवस यो वर्षदेखि खुलास्थलमा गरिएको छ । 
कार्यक्रममा खिलाराज रेग्मीले आफू डा. योगी विकासानन्दको प्रतिभाबाट अन्त्यन्तै प्रभावित रहेको र उनको अभियानलाई साथ दिदै आएको बताउनु भयो । मनोक्रान्ति अभियानले युवाको शारीरिक र मानसिक अवस्थामा थप सुधार ल्याएकाले यो अभियानले देशको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्नुभयो । 
उक्त अवसरमा डा. योगी विकासानन्दको ८७ औं पुस्तक सफल बिमोचन भएको थियो । पुस्तक बिमोचन गर्दै वातावरण मन्त्री लालबाबु पण्डीतले आफू मन्त्रालयको काम छाडेर एकै क्षण भए पनि डा. योगी विकासानन्दसँग स्वास्थसम्बन्धी टिप्स लिन आएको बताउनु भयो । 
जावलाखेलको खुला चौरमा भएको उक्त कार्यक्रममा उपस्थित हजारौं व्यक्तिहरुका बीचमा गायक आनन्द कार्कीले गीत गाएका थिए भने खगेन्द्र संग्रैलाले आफू नियमित योग गर्ने बताएका थिए । कार्यक्रममा डा. योगी विकासानन्दले हास्यप्रधान प्रस्तुतिका साथै विभिन्न किसिमका आसन र त्यसका फाइदाका बारेमा प्रस्तुति दिएका थिए । उनलाई योगी ध्रुवानन्द, योगी देवेन्द्र, योगी छम् र योगी गम्भीरले सहयोग गरेका थिए । 

Related News