​युवतीको जालमा फसे सेनाका जर्नेल

काठमाडौं, २६ मंसिर । एक युवतीका कारण कृषि विकास बैंक र नेपाली सेनामा हंगामा मच्चिएको छ । कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले बैंकका अन्य चार कर्मचारी हिरासतमा पुगेका छन् भने नेपाली सेनाका एक उच्च अधिकारी समेत छानबिनमा तानिएका छन् । 
 सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर  बैंकमा करिब ५ करोड हिनामिना गरेकी हुन् ।  उनलाई सिआईबीले पक्राउ गरिसकेको छ । 
उनकै बयानका आधारमा सिआईबीले सोमबार बैंकको न्यूरोड शाखाका कामु मुख्य शाखा प्रबन्धक प्रेमहरी ढुङगेल, इलेक्ट्रोनिक्स चेक क्लियरीङ(इसिसी) शाखाका प्रमुख गोपाल गिरी र कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठालाई   पक्राउ  गरिसकेको छ । युवतीको बदमासीकै उनीहरु समेत फसेका छन् । युवतीको बदमासी पत्ता लगाउन नसक्दा उनीहरु फसेका हुन् । 
 उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथीमाथि समेत छानबिन भइरहेको छ ।  घोटलाको रकम  उप रथी डा.रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो । 
कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ  घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ  गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर   रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् । 
ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको  अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए ।  दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ ।  सैनिक प्रहरीले  गत साता  नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरीक छानबिन सुरु गरिसकेको छ ।  
सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेको बारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् । लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतीका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरीक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरीक अनुसन्धान गरी कारबाही गर्दछ । सैनिक अदालतले कैद सजाय समेत तोक्दछ । 
जर्नेल बिष्ट र युवतीबीच कुनै नाता नभए पनि निकटतम सम्बन्ध भने थियो । सोही निकटताकै कारण  घोटाला गरेको रकम युवतीले उनको खातामा जम्मा गरेकी थिइन् ।  युवतीको आमालाई समेत जर्नेल बिष्टसँगको सम्बन्ध र बैंक ठगीबारे पहिलेदेखि नै जानकारी थियो ।  

Related News