Logo
Logo
दृष्टिकोण

के सिक्ने अफगानिस्तानबाट ?


10.5k
Shares

एउटा मुलुकको राष्ट्रपति भाग्न बाध्य भए । विश्व सञ्चारको प्रमुख समाचार बन्यो यो । यस घटनाले अर्को मुलुकको राष्ट्रपति अत्यधिक आलोचनामा परे । यो पनि सञ्चार माध्यमको विश्लेषण हो । यो जीत हारमा सिमाना जोडिएका राष्ट्रहरूले केही गुमाएका छैनन् । यस घटनाले सात समुद्र पारी भएको विश्वको सर्व शक्तिशाली राष्ट्रले धेरै कुरो गुमायो ।
राजनीतिमा सबभन्दा ठुलो कुरो हो, विश्वसनीयता । यो गुमेको अवसरको उपयोग गर्दै पूर्व राष्ट्रपतिले अपमानजनक बहिर्गमनको लागि राजीनामा मागे आफ्नै राष्ट्रपतिको । बहिर्गमनको निर्णय त आफू राष्ट्रपति हुँदा उनी स्वयंले गरेका थिए । तर उनी भन्छन्, ‘म भएको भए बहिर्गमनको रणनीति बेग्लै हुन्थ्यो ।’ रणनीति जे जस्तो भए पनि त्यसका आफ्नै सीमा छन् । तर, अपमानको सिमाना रहेन । त्योभन्दा बढी सिमाना नरहेको त विश्वसनीयताको पो भयो । जो गुम्यो, सदाको लागि ।

कुरा हो, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको । जो, भागेर काजकिस्तान पुगे । त्यो अब त्यति महत्वपूर्ण भएन । धेरै महत्वपूर्ण त अमेरिकी अपमान बन्यो । अत्यधिक महत्वपूर्ण त बन्यो अमेरिकाले गुमाएको विश्वसनीयता । अमेरिकाले छोड्ने वित्तिकै आफगानिस्तान कब्जा गर्नु तालिवानको जितभन्दा धेरै गुणा बढी अमेरिकाको हार हो । बीस वर्षसम्म अमेरिकाले अर्बौै अरब डलर जेका लागि सैन्य खर्च गर्यो, उसको चाहनाअनुसार त्यो अहिले तासको घर जसरी किन ढल्यो ? यो प्रश्नभित्र धेरै उत्तरहरु छन् । जसको विश्लेषण गरिनुपर्छ ।

पहिले नै भनिहालौँ जित हार छुट्याउन त्यति सजिलो छैन । किनकि, यसले धेरै कुरा समेटेको हुन्छ । एउटा समग्रता बोकेको हुन्छ । यहाँनिर मोटामोटी कुरा मात्र हेर्न सकिन्छ । जित या हार अडेको हुन्छ मूलत एउटा कुरामा । त्यो हो मन अर्थात् राष्ट्रियता । यसबाट वर्णन हुन्छ जसरी अफगानी जनताले विगत चालीस वर्षदेखि लड्दै आइका छन्, दुई विश्व शक्तिसँग पालैपालो । पहिले लडे सोभियत युनियनसँग । सोभियत युनियनसँग लड्दा अमेरिकाले पुरा समर्थन र सहयोग गरेको थियो, ती मुजाइदिन गुरिल्लाहरूलाई । यस क्रममा नै हो विल लादेनहरू जन्मेका, या जन्माइएका थिए ।

मुजाइदिनले लड्नको लागि खडा गरेको विद्यार्थी संगठन ‘तालिवान’ थियो । जसले अहिले अफगानिस्तान पुनः कब्जा गरेको छ । सन् २००१ मा पनि यिनीहरुकै शासन थियो, जसलाई अमेरिकाले विस्थापित गरेपछि यिनीहरू लड्दै आएका थिए, अमेरिकी शासकविरुद्ध । यी तालिवानले यसरी लड्न सक्नुको कारण के हो ? पहिले त यी लडाकु जात हुन हामी गोर्खाली जस्तै । हामी जस्तै यी कहिले पनि नहारेका अदम्य साहस बोकेका स्वाभिमानी जनता हुन् । दोस्रो, हाम्रो मुलुकमा विदेशीले खटनपटन गर्न दिँदैनौ भन्ने मन छ । यो मनलाई अझ बलियो पारेको छ उनीहरूको इस्लाम धर्मले । विश्वमा हुने अन्तिम संघर्ष नै क्रिसियानिटी र इस्लामको हुने ठोकुवा गरेका छन् हन्टिङ्टन जस्तो विद्वानले आफ्नो गहन अध्ययन ‘क्लास अफ सिभिलाइजेसन’मा । त्यतापट्टी नजाऊ अहिले ।

अमेरिकाले किन हार्यो । त्यतापट्टी अलिकति हेरौँ । यसको सटिक उत्तर दुई वटा आधारमा अडेको छ । पहिलो हो, अमेरिकाले कुनै युद्ध आफैले जितेकै छैन । पहिलो विश्व युद्धको अन्तिममा भाग लियो, मूलत फ्रान्सलाई समर्थन गर्न– ‘लफियट हामी आएका छौं’ भन्दै । दोस्रो विश्व युद्धमा पनि त्यही हो कुरा । कोरियन वारमा हार्यो । भियतनाम वारमा हार्यो । होइन, एउटा लडाइँ जित्यो, त्यो हो १८६१ देखि १८६५ सम्मको आफ्नो गृहयुद्ध– दास राख्न पाउनु पर्छ र पाइँदैन भन्ने बीचको । यो युद्ध जेफर्सन डेभिसले नेतृत्व गरेको आर्थिक स्वार्थ र जर्ज वासिङ्टनले नेतृत्व गरेको राष्ट्र भएर बाच्ने आदर्शको बिचमा थियो । युद्ध जित्ने आदर्शले हो । त्यसैले त्यो आदर्शले जित्यो ।

दोस्रो कुरामा आउँदा त्यही आदर्शको कमी छ अमेरिकाले विश्वसँग गर्दै आएको व्यवहारमा । कुरा प्रजातन्त्र र मानव अधिकारको तर, व्यवहार आफ्नो साँघुरो स्वार्थ केन्द्रित गतिविधिको । यसमा ठुलो विरोधाभास छ । यो विरोधाभासलाई जोड्यो भने विरोधाभासभन्दा पनि बढी हुन्छ । यसैको प्रतिफल विश्वमा जताततै पोखिएको छ । अहिले जे देखिएको छ अफगानिस्तानमा यो त्यही विरोधाभासको प्रतिफल हो । अमेरिका त आयो, गयो । तर यसको मार त भारतले भोग्नु पर्ने देखिन्छ । किनकि, भारत पनि फुच्चे अमेरिकी मानसिकता बनेको छ यो क्षेत्रमा ।

प्रतिक्रिया दिनुहोस्