अन्तर्वार्ता भन्नासाथ श्याम कक्षपति झस्कन्थे । किनभने, हरेक पत्रकारले अन्तर्वार्ताको सुरुवात नकारात्मक प्रश्नबाट सोध्ने र अन्तर्वार्ताको अन्त्य पनि नकारात्मक प्रश्नबाटै गर्ने गर्थे । पत्रकारिताप्रति कक्षपतिको यो धारणालाई नेपाली पत्रकारिता जगत्ले गहिरोसँग अध्ययन गर्नुपर्छ ।
कक्षपतिको बुझाइमा पत्रकारिता भनेको समाज रुपान्तरण गर्ने माध्यम हो । त्यो माध्यम नै नकारात्मक भयो भने त्यसको छाप समाजमा पनि नकारात्मक नै पर्छ । त्यसैले कक्षपति भन्थे– ‘जुनसुकै समाजको बनोटमा पनि सकारात्मक, नकारात्मक दुवै पाटो भेटिन्छन् । तर, नकारात्मकभन्दा सकारात्मकको खोजीतिर लाग्न सक्यौं भने त्यसले समाज रुपान्तरणमा योगदान गर्न सक्छ ।
त्यसैले उनी भन्थे, मेरो अन्तर्वार्ता छाप्नुभन्दा नयाँबानेश्वरस्थित बेकरी क्याफेमा कार्यरत बहिरा वेटरको अन्तर्वार्ता छाप्नु । त्यसले समाजलाई सकारात्मक सन्देश दिन्छ । मेरो अन्तर्वार्ता त मैले जुनसुकै सञ्चारमाध्यममा दिन सक्छु तर, दिनरात परिश्रम गरेर कलेज पढ्ने, कोठाभाडा तिर्ने, परिवार पाल्ने ती बहिराहरुको अन्तर्वार्ता कसले लिन्छ ?
हो, त्यही भएर मैले हिजोआज मसँग अन्तर्वार्ता लिन आउने पत्रकारहरुलाई दिनरात परिश्रम गरेर सफल भएका श्रमिकलाई समाजमा स्थापित गर्नुपर्छ भन्ने सल्लाह दिने गरेको छु ।’ त्यसपछि दृष्टिको जम्काभेट स्तम्भमा नयाँबानेश्वरस्थित बेकरी क्याफेमा कार्यरत बहिरा महिला वेटरको अन्तर्वार्ता छापियो । त्यो पढेर कक्षपति दंग परे । फोनबाट मलाई धन्यवाद दिए ।
पत्रकारिताप्रति कक्षपतिको गहिरो रुचि थियो । समाज परिवर्तन गर्न र सकारात्मक सन्देश प्रवाह गर्न कक्षपतिले २०४० सालतिर ‘जनहित’ साप्ताहिक प्रकाशित गरे । त्यतिबेला १६ पेजको ‘जनहित’ पत्रिका निकै चर्चित थियो । त्यस पत्रिकाका सम्पादक थिए, पुष्प थपलिया । प्रयागलाल श्रेष्ठले त्यस पत्रिकामा लेख लेख्थे । धेरैपटक प्रयागलालसँग म ‘जनहित’ पत्रिकाको कार्यालय हिटी दरबार पुगेको छु ।
राजनीतिमा त्यति चासो नराख्ने भएर होला ‘दृष्टि’लाई कम्युनिष्टको मात्र मुखपत्र नबनाउन सुझाव दिन्थे । सबै पार्टीका समाचार समावेश गरे मात्र पूर्ण पत्रकारिता हुन्छ भन्ने उनको मान्यता थियो । तर, त्यतिबेला ‘दृष्टि’ पार्टीको अघोषित मुखपत्र भएकोले उनले भनेजस्तो पत्रकारितामा ढाल्न सम्भव थिएन ।
त्यसो त कक्षपतिकी श्रीमती रानीदेवी कक्षपति पनि एक जमानाको पत्रकार थिइन्, दि राइजिङ नेपालमा कार्यरत रानी पछि नेपाल टेलिभिजनको अंग्रेजी समाचार वाचिका पनि भइन् । उनका छोरी नयनतारा कक्षपति पनि फोटो पत्रकार हुन् ।
श्याम कक्षपतिमा पत्रकारिताको ‘सेन्स’ थियो । पत्रपत्रिकामा प्रकाशित सामग्रीलाई उनले गहिरो अध्ययन गर्थे । राजनीतिमा त्यति चासो नराख्ने भएर होला ‘दृष्टि’लाई कम्युनिष्टको मात्र मुखपत्र नबनाउन सुझाव दिन्थे । सबै पार्टीका समाचार समावेश गरे मात्र पूर्ण पत्रकारिता हुन्छ भन्ने उनको मान्यता थियो । तर, त्यतिबेला ‘दृष्टि’ पार्टीको अघोषित मुखपत्र भएकोले उनले भनेजस्तो पत्रकारितामा ढाल्न सम्भव थिएन ।
युवा अवस्थादेखि नै क्रान्तिकारी सोंच भएका कक्षपति नयाँ–नयाँ काम गर्न रुचाउँथे । रत्नपार्कको ‘क्याफे दि पार्क’ रेष्टुराँमा आफैँ वेटर काम गर्थे । उनको हातबाट चिया, कफी र चिसो पेय पदार्थ पिउने धेरैले अहिले पनि उनीप्रति सम्मान व्यक्त गर्छन् । वरिष्ठ लेखक तथा साहित्यकार वसन्त लोहनी कक्षपतिको निधनको खबर सुनेर स्तब्ध भए । तुरुन्त मलाई फोन गरेर चित्रन्द्र कलेज पढ्दाको विगत सुनाए । त्यतिबेला लोहनीलगायत त्रिचन्द्र कलेजका धेरै विद्यार्थीहरुले उनको हातबाट चिया पिएका रहेछन् ।
कुनै पत्रिकाले उनको अन्तर्वार्ता प्रकाशित गर्यो भने त्यो पत्रिकाको कटिङ आफ्नो कार्यालय र बेकरी क्याफेको आउटलेटमा सजाएर पत्रिकाको सम्मान गर्ने संस्कार उनीमा थियो । जब म प्रेस चौतारीको अध्यक्षमा निर्वाचित भएँ, तब उनले मलाई फोनमा बधाई दिँदै भेटौं न भने । म दरबारमार्गस्थित उनको कार्यालयमा पुगे ।
उनले बडो उत्साहित हुँदै भने– ‘अब प्रेस चौतारीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्छ । त्यसको लागि मैले के सहयोग गरु ?’ नभन्दै टेकुस्थित बेकरी क्याफेमा हरेक साता अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न सम्भव भयो ।
समसामयिक विषयमा समाजका विभिन्न व्यक्तिहरुलाई बोलाएर जल्दाबल्दा विषयमा अन्तक्र्रिया गर्न थालेपछि प्रेस चौतारीको गरिमा पनि बढ्यो । अन्तक्र्रिया कार्यक्रम गर्दा हल निःशुल्क, खाजाको सामान्य बिल तिर्नुपथ्र्यो । यसरी कक्षपति प्रेस चौतारीसँग पनि जोडिए । चौतारीको तेस्रो सम्मेलन पाल्पामा हुने भयो । यो कुरा सुनेर कक्षपति हौसिए र सोधे कति प्रतिनिधि हुन्छन् ? पाल्पामा होटलको अभाव छ, कसरी व्यवस्थापन गर्ने ? यति मसिनो चिन्ता लिन्थे ।
सम्मेलनको सफलता पाल्पाको प्रतिष्ठासँग जोडिएकोले उनमा यो चिन्ता जागेको हो । देशभरका पत्रकारहरुले पाल्पामा पाइला टेक्नु पाल्पाकै प्रचार प्रसारमा अभिवृद्धि हुनु हो । त्यसैले सम्मेलनको समापनको रात्रिभोज पाल्पाको नाग्लो रेष्टुराँमा भव्यताका साथ सम्पन्न भयो । धेरै चौतारीका साथीहरुले नाग्लोको रात्रिभोज अहिले पनि स्मरण गर्छन् ।
समाजमा केही गर्छु भन्ने आँट भएका युवालाई उनले जहिले पनि प्रेरणा दिन्थे । र, आफू कसरी यो समाजमा स्थापित भएँ भन्ने कुरा सुनाउँथे । गरे के हुन्न ? गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने भन्ने सोच उनमा थियो । पाल्पालाई पर्यटन क्षेत्रको रुपमा स्थापित गर्न उनले तीस वर्ष अगाडिदेखि प्रयास गरे । बन्दीपुरले पर्यटन क्षेत्रमा गरेर देखाइदियो, तर पाल्पाले साथ नदिँदा उनले सोचेजस्तो पाल्पा बनाउन सकेनन् ।
पाल्पाको मौलिक संंस्कृति, सम्पदाहरुको उचित संरक्षण नभएकोमा उनले सधैँ चिन्ता लिन्थे । पाल्पा घुम्न आउने पर्यटकलाई एउटा राम्रो रेष्टुराँको खाँचो देखेर नाग्लो वेष्ट रेष्टुराँ खोले । पाल्पाली परिकारलाई त्यहाँको ‘मेनु’मा समावेश गरे । तानसेनको नाग्लो रेष्टुराँमा स्थानीय खाना चुकाउनी, हाँसको छोयला, नेवारी सेट, आलुतामा, मिसमास, सुकुटीलगायत धेरै खाना समावेश गरे ।
पाल्पा जाँदा नाङ्लोमा खाएका ती मौलिक परिकारकोे खानाको स्वादले अहिले पनि धेरैलाई तानसेनको झल्को दिएको हुनुपर्छ । तर, आज श्याम यो दुनियाँमा छैनन् । हार्दिक श्रद्धासुमन !