Logo
Logo

स्वास्थ्यमन्त्रीको उपद्रो


1.1k
Shares

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिंहदरबार वैद्यखानामा उपद्रो मच्चाएका छन् । कोभिड महामारीको बेला ‘इमिन्युटी’ बढाउने जडीबुटीको औषधि उत्पादन गरेर कोरोना पीडित बिरामीहरुलाई राहत दिनुपर्नेमा कल्पनसद पद्धतिद्वारा निर्मित कोरोनाको औषधि ‘टरमरी गोल्ड’ त्यत्तिकै गोदाममा थन्क्याइएको छ ।

सुदूरपश्चिमका जिल्ला अस्पताल र हेल्थ पोष्टमा कोरोनाका बिरामीहरुलाई परीक्षण गरिएको ‘टरमरी गोल्ड’ नामक आयुर्वेद औषधिले कोरोनाको बिरामी निको भएको तथ्यांक छ । त्यही तथ्यांकको आधारमा वैद्यखानाले थप अनुसन्धान गरेर उत्पादन गर्नुपर्नेमा उल्टै बाहिरको औषधि किन उत्पादन गरेको भनेर सतर्कता केन्द्रले दुःख दिएको छ भने, त्यसैलाई कारण देखाएर सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. सवरी साहलाई त्यहाँबाट नरदेवी सरुवा गरिएको छ ।

सिंदरबार वैद्यखानामा एघारौं तहको कार्यकारी निर्देशकलाई पठाउनुपर्नेमा राज्यमन्त्री श्रेष्ठले १०औँ तहका शोभाराम सुवेदीलाई निमित्त कार्यकारीको जिम्मा दिएका छन् । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा नवौं तहका सन्तोष ठाकुरलाई जिम्मा दिइएको छ । जबकि, आयुर्वेद विभागका महानिर्देशक ११औँ तहका वासुदेव उपाध्याय परिषद्का सदस्य छन् ।

परिषद् सूत्रका अनुसार, परिषद्का अध्यक्ष ठाकुरको शैक्षिक प्रमाणपत्र पनि नक्कली हो । ठाकुरले आइएस्सीको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको हुँदा अख्तियारले उनको शैक्षिक प्रमाणपत्र परीक्षण गर्नुपर्ने त्यहाँका कर्मचारीले दृष्टिलाई बताएका छन् ।

सिंहदरबार वैद्यखानामा ४३ जना कर्मचारीको दरबन्दी भए पनि कर्मचारीहरु कहिले आन्दोलन गर्ने, कहिले हाजिर गरेर भाग्ने गरेका कारण उत्पादनमा ह्रास आएको छ । वैद्यखानाका मनोज झा भन्ने कर्मचारीले अनामनगरमा ग्रोबेल आयुर्वेद सञ्चालन गर्दै आएका छन् ।

कोरोनाको कारण वैद्यखानाबाट उत्पादन शिलाजीत र चेवनप्रासको माग अत्यधिक भए पनि त्यहाँका कर्मचारीहरुले अन्य कम्पनीसँग मिलेर चेवनप्रास उत्पादन स्थगित गरेका छन् । वार्षिक २५ देखि ३० लटसम्म उत्पादन गर्दै आएको वैद्यखानाले कोरोनाकालमा गत वर्ष जम्मा सात लट उत्पादन गरेर वैद्यखाना डुबाएका थिए ।

त्यसैगरी आव ०७६÷७७ मा एक करोडको जडीबुटी खरिद गर्न टेण्डर भएकोमा मनश्याम विष्ट भन्ने ठेकेदारले २० लाख पेश्की लिएर ५० प्रतिशत मात्र जडीबुटी बुझाएको कर्मचारी स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्