काठमाडौँ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाललाई अनुदान दिने भएको छ । चीनले नेपाललाई यसअघि २८ लाख डोज खोप अनुदान दिएको थियो ।
‘चीन सरकारले नेपाललाई थप १० लाख डोज सिनोभ्याक्स खोप उपलब्ध गराउने निर्णय गरेको छ’ चीनियाँ दूतावासका प्रवक्ता लु आन सिउतानले भने,‘अनुदानमा सहयोग गरेको खोपले नेपाली जनताको रोगप्रतिरोधी क्षमता विकास गर्न सहयोगी हुने अपेक्षा लिइएको छ ।’ यससम्बन्धि सहयोगका प्राविधिक विषयमा छलफल भइरहेको उनले बताए ।
परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच पनि सोमबार भेटवार्ता भएको थियो । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदुत होउ सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउ बीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।