Logo
Logo
साहित्य

ए, चारपाटे मुडिन उद्घोष गर्नेहरू


5.3k
Shares


अपराधीहरू पनि डराउँथे हिजो
राष्ट्र घातको दोष लाग्ला भनेर
आज सब खसोखास छ
कस्तो युग आयो ?
अपराधी नभईकन
त्यो दीपक नबल्ने
त्यसको उज्यालो बिना
संसद् बन्न नसकिने
बलात्कार नगरी
मन्त्री बन्न नसकिने
मन्त्री बन्न नपाउने हो भने
झुन्डिन्छु भनेर उद्घोष गर्नेहरूले
अनुसूची होइन
अग्र भाग नै ढाकिसके
मन्त्री बन्ने अर्जुन दृष्टि
राजनीतिक खेती, भ्रष्टाचारको वृष्टि
आपराधिक गठबन्धन मजबुत नपारी
प्रधानमन्त्री नबन्ने
कहिले महाअभियोग नलगाए
आफूहरू नजोगिने
कहिले महाअभियोग नलगाए
सन्धि पास नहुने
यो कस्तो ठगबन्धन ?
ठगहरूको पनि इमान हुन्छ
ठगबन्धनको गठ जोडमा
ठगको इमानसमेत नदारत छ
आदेशदेखि परमादेशसम्म
टुक्रै टुक्रा भागबन्डाको
ग्रहण लाग्दा सूर्य नदेखिए जस्तो
अजय शक्ति बनेको जनता नै नदेखिने भए अग्रगमनमा
युद्धमा जति झुट बोलिन्छ
हिजो विश्व युद्धमा जति बोलिएको थियो
हाल युक्रेनमा जति बोलिई रहेको छ
त्योभन्दा बढी झुट बोलिरहेका छन् यहाँ
भ्रमको खेती गरेर राष्ट्रघात गर्न
अझ यो खेती हराभरा पार्दै छन्
चार भञ्य्याङ भित्रका चारकोटे राजाहरू
चुनावको वाली भित्र्याउन
चुनाव–कटेरो पङ्तिवद्ध पार्न
सत्तामा आफू पङ्तिवद्ध
उनी भन्छन्– जनता खराब भएर हो
नेता खराब भएको
अनि हकार्छन् जनतालाई नै –
पहिले असल बन
अनि असल नेता गन
खराब नेता नै भएर राजगर्ने घोषणा छ यस्तो
कोही चारपाटे मुडिन तयार छन्
भिक मागेर खाने विकासको लागि
विकासगर्ने मुलुकको शक्ति बढाउन होइन
आम्दानीले घर खर्च नपुगेर
एउटालाई देखाएर अर्कोसँग भीक माग्ने
वा! वा!! अर्थतन्त्रको नयाँ सिद्धान्त
प्रतिप्रश्न गर्छन्– नत्र कसरी विकास गर्ने त ?
यी आजुजेहरू आउनु अघि
विकासको लागि मुलुकमा आम्दानी थियो त
अहिले घर खर्च समेत नचल्ने कसरी ?
ए ! खन्चुवा हो
कति हसुर्ने ?
ए ! फौबञ्जारीहरू–
सोच, अझ सोच
कागजी बाख्रा खेती छताछुल्ल भएपछि
प्लिमिथ रकका बतासे फूलहरू यी
केही चाँचुँ, धेरै चुँ चुँ गरिरहेका बन्द कोठा भित्र
यस्तो गर्जन निकाल्न सकेपछि
भ्रमको खेतीको कुत खान पाइन्छ
मुलुक बन्धकी राखेर यिनले खाएको कुतको
सुत जनताले सकी नसकी तिरी रहेका छन्
ए, मुडिन तयार हुनेहरू हो
कहिलेसम्म चलाउँछौ यस्तो राजनीतिक रसम
नसुनिने भएका आवाजहरूले
जन–सुनामी ल्याउन सक्ने छन्
त्यो दिन धेरै टाढा छैन
समयको गर्भमा बेपत्ता हुने छौ

प्रतिक्रिया दिनुहोस्