Logo
Logo

महासङ्घको समन्वयमा एक सय ६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र


945
Shares

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज जिल्लामा क्रियाशील एक सय ६३ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

कार्यक्षेत्रमा खटिनुपर्ने पत्रकारलाई सरकारले चलाएको अभियानमा सहभागी गराइएको न्यौपानेले बताए । ‘जिल्लामा आबद्ध पत्रकार कार्यक्षेत्रमा व्यस्त हुनुपर्दा घन्टौँ लाइनमा बस्न सम्भव थिएन’, न्यौपानेले भने, ‘राज्यको अभियानमा पत्रकार सहभागी भएर आम नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन उत्प्रेरित गर्ने योजनाले महासङ्घले समन्वय गरेको हो ।’

सरकारको अभियानमा पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र ब्यस्ततालाई हेक्का राखेर राष्ट्रिय परिचयपत्र बनाउन साथ दिएको बताए ।

‘सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि ललितपुरका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ’, प्रजिअ उपाध्यायले भने, ‘यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासङ्घको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।’

राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय एकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको बताए । ‘सरकारको राष्ट्रिय अभियानमा पत्रकार महासङ्घ ललितपुरले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ’, राउतले भने, ‘समयमै राष्ट्रिय परिचयपत्र बनाए सहज हुनेछ ।’ अन्य बेलामा प्रशासनमा भीडभाड बढी हुने भएकाले सार्वजनिक बिदाका दिन सेवा दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्