Logo
Logo

‘जहाँ महादेव विराजमान रहन्छन्’


378
Shares

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरको पाँचसय मिटर टाढासम्म शिवभक्तिका गीत सङ्गीतले जलेश्वर गुञ्जायमान बनेको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष तीर्थालुको आगमन हुन नपाएकामा यस यसवर्ष करिब १० लाख भक्तजनले पूजाअर्चाना गर्ने अनुमान गरिएको छ ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना पूरा हुने गरेको जनविश्वास रहिआएको वर्तमान पूजारी उपेन्द्र पाठक बताउछन् ।

जलेश्वरनाथमा पूजाअर्चनाका लागि देशभित्रबाट मात्र नभई भारतको पटना, मुजफ्फरपुर, सीतामढी, मधुबनी लगायतका सहरबाट पनि हजारौँको सङ्ख्यामा तीर्थालु आउने गर्दछन् ।

मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबार विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गरेको स्थानीय बासिन्दा रमन चौधरी बताउछन् ।

नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गरेको शिव महापुराणमा उल्लेख रहेको छ ।

अनादिकालमा जलेश्वर घना जङ्गल रहँदा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका अर्का पुजारी कालिकान्त झा बताउछन् ।

बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्तीजस्ता जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएको सो पुराणमा उल्लेख रहेको पुजारी पाठक बताउछन् ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याङ) मुनि जमिनभित्र रहेको छ । यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहन्छन । यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जलबाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गरे । बाबा महादेवको चौतर्फी चर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक अगाडि मृत्युवरण लिनुभएकाले त्यहाँ निर्माण गरिएको उनको सानो मन्दिर अझै पनि छ ।

विसं १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुईसय ७५ बिघा जग्गा र चार वटा महापोखरीहरु दान दिएको ताम्रपत्रमा उल्लेख छ ।

यसलाई पछि मौजेको नाउँमा जनिन थाल्यो र मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजे लगायतका मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरु पनि पाएका थिए । शिवपुराणमै जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्नाले मुक्ति पाउने विश्वास गरिन्छ ।

लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कारसमेत हुने गरेको थियो ।

मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिनुभएको मन्दिरको दुई सय ७५ बिघा जग्गा र चार महापोखरीको उल्लेख अझै पनि सुरक्षित रहेको छ ।

पछि श्री ३ पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधिनमा रहेका जग्गाहरु आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका चार/पाँच दाजुभाइलाई दान दिएको चर्चा छ ।

पद्म शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर बन्दै गएको पुजारी झाले बताए । विसं १९८३ को स्रेस्तामा पनि सयौं विगाहा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखिन्छ ।

त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख भए पनि मन्दिरका सयौं विगाहा जग्गाको मौजे २००८ सालबाट हराएको उनको भनाइ छ । मन्दिरका चार महापोखरीहरु अहिले जलेश्वर नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ ।

आज यस मन्दिरसँग केही पनि अचल सम्पत्ति छैन । मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद (भोग) पनि चल्ने गरेको छ । यसका अलावा बाबाको मन्दिरमा २४ सै घण्टा खटिरहने पूजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरुको पनि दैनिकी भक्तजनकै दान दातव्यबाट चल्ने गरेको पूजारी पाठकले थपे ।

प्रतिक्रिया दिनुहोस्