Logo
Logo

चुनावको तयारीमा एकीकृत समाजवादी


2.9k
Shares

फाइल फाेटाे ।

काठमाडौं । सत्तारूढ दल एकीकृत समाजवादी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारीमा जुटेको छ ।

नेताको जिम्मेवारी बाँडफाँट, प्रशिक्षण, छलफल भइरहेको समाजवादीले जनाएको छ । केन्द्रीय कार्यालय मीनभवनमा बुधबार बसेको सचिवालय बैठकले नेतालाई चुनावी तयारीका विभिन्न कामको जिम्मा दिएको हो ।

निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहासचिव डा. गंगालाल तुलाधरलाई दिएको छ । यसैगरी समाजवादीले चुनावी घोषणापत्र तथा उम्मेदवारीको मापदण्ड र छनोट विधि तयार पार्ने जिम्मेवारी पनि तोकेको छ । यसको जिम्मा महासचिव डा. बेदुराम भुसाललाई दिइएको छ ।

उनले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रक्रियाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्नेछन् । भुसाल सिट बाँटफाँड गर्ने पाँचदलीय कार्यदलमा एकीकृत समाजवादीका तर्फबाट सदस्य छन् ।

यस्तै, चुनावी घोषणापत्रको मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा. तुलाधार, डा. विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ । यस्तै, निर्वाचन निर्देशिका मस्यौदा तयार पार्ने जिम्मा निर्वाचन विभागले पाएको छ । यसैगरी एकीकृत समाजवादीले निर्वाचनकै तयारीका लागि प्रशिक्षित नेता फिल्डमा खटाउने भएको छ ।

एमालेबाट विद्रोह गर्नुपर्नाका कारण, समाजवादी यात्रालगायत विषयमा केन्द्रीय प्रशिक्षकले कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । एकीकृत समाजवादीले केही समयअघि ४९ जना केन्द्रीय प्रशिक्षकलाई प्रशिक्षण दिएको थियो । बुधबार मात्रै जनसंगठनका ६५ पदाधिकारीलाई एकहप्ते प्रशिक्षण सम्पन्न गरेको छ ।

पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षणमा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद, दलित मुक्ति संगठनलगायतका पदाधिकारी र केन्द्रीय नेतृत्व सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्