Logo
Logo

एमालेलाई प्रश्न- आफूले प्रदेशको नाम राख्न नसकेपछि मेरो काँधमा बन्दुक राख्ने ?


3.8k
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेकपा एमाले नेतृत्वको सरकारले प्रदेशको नाम राख्न नसकेको तर त्यसको दोष आफूलाई दिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको उनले बताए ।

संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने, ‘ नाम टुंग्याउने विषयमा पनि एउटा त संघको डिजाइनको नाममा नै पहिचानको कुरा उठेको थियो । आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ? तपाईंहरुलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो ।’

यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको बताए । ‘आफ्नो सरकार भएको बेला बेला घोषणा गर्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? अर्को सांसदलाई आलोचनाको शिकार बनाउने ?’

मुख्यमन्त्री राईले संविधानमा नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशन र ह्वीपको परिकल्पना नरहेको जिकिर गरे ।

त्यस्तै उनले संघीय मन्त्रालयका मन्त्रीहरुले एउटा प्रदेशको भन्दा ५/६ गुणा बढी बजेट राखेको भएपनि जिल्ला जिल्लामा संघीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको बताए ।

संघको नेतृत्वले आफैं अधिकार र बजेट मुठ्यार प्रदेश सरकार र स्थानीय सरकारलाई निम्छरो बनाएको मुख्यमन्त्री राईको टिप्पणी थियो । उनले पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको बताए ।

उनले संघ सरकारले अधिकार र बजेट पर्याप्त नदिँदा पनि प्रदेशले आफूले राम्रो काम गरेको दाबी गरे । उनले प्रदेशलाई अनावश्यक समीक्षा र आलोचना नगर्न आग्रह गरे । मुख्यमन्त्री राईले संघले पैसा र अधिकार दिए विकासका काम कसरी हुन्छन् भनेर देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्