Logo
Logo

पढाइले प्रौढ महिलाको आत्मविश्वास बढायो


567
Shares

म्याग्दी । अङ्क अक्षर लेख्न, पढ्न र चिन्न नसकेका कारण धेरै ठक्कर पाएकी म्याग्दी बेनी नगरपालिका–७ मङ्गलाघाटकी सङ्गीता छिनालको अहिले आत्मविश्वास बढेको छ ।

उज्यालो वैकल्पिक विद्यालयको कक्षा १० मा पढ्ने सङ्गीतालाई शिक्षा हासिल गरेपछि सहरका चोकमा गएर ठाउँ नचिन्दा अलमलिनुपर्ने, मोबाइल चलाउन अरुको सहायता लिनुपर्ने समस्या हटेको छ ।

‘बिहे गर्दा कक्षा १ सम्म मात्र पढेको थिएँ, एबिसीडी लेख्न पनि जानेको थिइनँ । कुनै सहरमा जाँदा कहाँ आइपुगेको छु भन्ने बुझ्न अरुलाई सोध्नुपर्दथ्यो । निकै समस्या हुन्थ्यो’, उनले भनिन्, ‘अङ्ग्रेजीबाट नाम लेख्ने र लेखेको कुरा पढ्न सक्ने भएको छु । अरुले बोलेको बुझ्न सक्छु । पहिलेभन्दा अहिले धेरै सजिलो भएको र खुसी लागेको छ ।’

सङ्गीताजस्तै विद्यालय जाने उमेरमा पढ्न नपाएका र बीचैमा पढाइ छाडेकाहरूका लागि बेनीको उज्यालो वैकल्पिक विद्यालय एसइई तहसम्मको शिक्षा हासिल गर्ने थलो बनेको छ । आठ वर्षअघि स्थापना भएको विद्यालयमा हालसम्म एक सय जनाभन्दा बढीले पढेका छन् ।

नौ जनाले पछिल्लो दुई वर्षमा एसइई उत्तीर्ण गरेका छन् । हाल विभिन्न कक्षामा पढ्ने ४० जना सबै महिला छन् । भर्ना भएका केही विद्यार्थीले लेखपढ गर्न जानेपछि पढाइलाई निरन्तरता दिएनन् । घरायसी कामधन्दा सकेर झोलाभरि कापी–किताब बोकेर बिहान ११ बजे विद्यालय आउने आमाहरू दिउँसो ३ बजे घर फर्कन्छन् ।

‘खेती किसान, घरको व्यवहार, घाँस, दाउरा गर्ने चलन थियो । इच्छा भएर पनि पढ्न पाइएन’, कक्षा १० मा पढ्ने ५० वर्षीया डिलकुमारी पुनले भनिन्, ‘बालबच्चाले पढेर सके । अहिले फुर्सद मिल्यो । उमेर ढल्किएकाले गाह्रो भए पनि पाएको अवसर सदुपयोग गरेर एसइई उत्तीर्ण गर्ने लक्ष्य राखेकी छु ।’

भर्ना हुन आउने विद्यार्थीको क्षमता पहिचान गरी कक्षामा राख्ने र पढाउने गरिएको छ । तत्कालीन शिक्षा कार्यालयमार्फत बेनी सामुदायिक माविलाई मातृ विद्यालय मानेर स्थापना भई समुदायस्तरबाट विद्यालय सञ्चालन गरिएको हो । सात शिक्षकको तलबभत्ता बेनी नगरपालिकाले उपलब्ध गराउने यस विद्यालय सञ्चालनमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था र प्रवासीले पनि सहयोग गरेका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष राजेश शाक्यले बताए ।

‘१६ वर्षभन्दा बढी उमेरका बीचैमा पढाइ छाडेकाका लागि स्थानीय युवाको अग्रसरतामा विद्यालय सञ्चालन गरेका हौँ”, उनले भने, “बेनी सामुदायिक माविलाई मातृ विद्यालय बनाएका छौँ । विज्ञान र कम्प्युटर ल्याब स्थापना गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।’

सामाजिक विकास कार्यालयको भवनमा सञ्चालन भएको विद्यालयमा आफ्नै पूर्वाधार, दिगो आर्थिक स्रोतको अभाव तथा शिक्षकलाई तालिमको आवश्यकता देखिन्छ । सुरुआती चरणमा बेनी पुस्तकालयको भवनमा कोठा भाडामा लिएर कक्षा सञ्चालन गरिएको विद्यालय तीन वर्षअघि तत्कालीन महिला तथा बालबालिका कार्यालयको खाली भवनमा सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्